arrow

कोभिड सल्लाह (लघुकथा)

logo
रवीन्द्र समीर, 
प्रकाशित २०७८ माघ १८ मंगलबार
rabindra-sameer.jpg
तस्बिर– फाइल

युद्धको मैदानमा उत्रिएपछि बुलेटप्रुफ ज्याकेट लगाए पनि गोली लाग्दोरहेछ। महामारीको २ वर्षपछि डा. शर्मालाई लक्षणयुक्त कोभिड देखियो । डा. शर्मा आफ्नै घरमा एकान्तवासमा बसे । आफू संक्रमित भएको लुकाउनु हुँदैन भनेर डा. शर्माले सामाजिक संजालमा आफ्नो स्वास्थ्य अवस्था राखे । त्यसपछि पिंजडामा थुनेका चराहरु उडेजस्तै डा. शर्माको मोबाइलमा रिंगटोनको झरी लाग्यो । शुभेच्छाप्रति डा. शर्मा हर्षविभोर भए ।

डा. शर्माका काकाले भने – ज्वानो, बेसार र गुर्जो पकाएर कुँडो पिएझैं पिउनु, ठिक हुन्छ । 

अर्का परिचितले भने – गुर्जो नखानु है, कलेजोमा असर गर्छ । अदुवा र मरिच खुब खानू !

अर्को आवाज आयो – चिन्ता गर्नु पर्दैन डा. साहेब ! लोकल कुखुराको झोल भुँडी फुटुन्जेल खानुहोला, सन्चो हुन्छ । 

एकजनाले भन्यो – दोस्रो लहरमा १४ जना डाक्टर मरे। अलि होश पुर्याउनुहोला है ! 

परिचित मित्रले फोन गरे – एन्टिबायोटिक, सिटामोल, कफ सिरप र भिटामिन खानुहोला, निको हुन्छ । 

अर्को परिचित व्यक्तिको फोन आयो – कोरोना भाइरस हो । एन्टिबायोटिक नखानुहोला है, इम्युनिटी पावर घट्छ । सिटामोलले कलेजो खराब गर्छ ।

टाढाबाट फोन आयो – खुकुरी रम वा झवाईखट्टेसँग बट्टाईको रस खानुहोला, कोरोना सोरोना भाग्छ ।

फेरि अर्को फोन आयो – डा. साहेब ! मेरो अस्पतालमा आउनुहोस् । एकहप्ता यतै बसौं, ढुक्क हुन्छ ।

अर्को फोन आयो – मासुमंस, दूध, दही केही नखानु है बाबु !

फोन काट्नेबित्तिकै अर्कोले भन्यो – घाममा बसेर दिनको डेढ किलो सुन्तला, बदाम, स्याउ, अनार खानुहोला । यो कोरोना सोरोना हैन, रुघामर्गी हो, बिसेक हुन्छ ।

डा. शर्माको स्कुले मित्रको फोन आयो – हाम्री आमालाई ७ महिना गलाएको हो, जाइफल, हिंग, कस्तुरीको नाभी, यार्सागुम्बा र चिराइतोलाई पिसेर लेदो बनाएर स्याउको रक्सी मार्फासँग १ वर्ष खानुहोला, जीउ तन्ग्रिंछ । 

डा. शर्मा पजल भए । 

उनले मनमनै भने – कोभिड त जित्ने थिएँ, उपदेशले पो मार्ने भयो । (समीरको फेसबुकबाट)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ