arrow

पोखरेबगरमा मोटरेबल पुल

logo
रासस
प्रकाशित २०७८ माघ १८ मंगलबार
Bridge.jpg

म्याग्दी । अन्तरदेशीय व्यापारिक महत्त्वको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-२ र ६ को सिमाना पोखरेबगरमा कालीगण्डकी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालयले ठेक्कामार्फत ७० मिटर लामो पक्की मोटरेबल पुल निर्माण गरेको हो ।

महभिर र पोखरबगरस्थित कालीगण्डकीमा दुई वटा मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम-सगरमाथा-डाँफे-बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो । हिम सगरमाथाका प्राविधिक टीकाराम भुसालले पोखरेबगरको मोटरेबल पुल निर्माण सकिएको जानकारी दिए।

“महभिरस्थित कालीगण्डकी नदीमा निर्माण भएको ८० मिटर लामो पुल गत असोज महिनादेखि नै सञ्चालनमा आइसकेको छ”, उनले भने, “पोखरेबगरमा पनि पुलका संरचना र पहुँच मार्ग निर्माण सकिएको छ ।

केही दिनमै सञ्चालनका लागि योग्य हुन्छ ।” एघार मिटर फराकिलो दुई वटै पुल निर्माणका लागि ठेकेदार आफैँले डिजाइन र निर्माण गर्ने सम्झौता भएको थियो । दुई वर्षको ठेक्का अवधि भए पनि कोरोना महामारी, निषेधाज्ञा र बन्दाबन्दीका कारण निर्माणको समय एक वर्ष धकेलिएको हो । 

कोरोना महामारी र बाढी पहिराजस्ता प्राकृतिक विपद्का बाबजुद सरकारले थपेको समयभित्रै पुल बनाएको प्राविधिक भुषालले बताए । पोखरेबगरतर्फको पहुँच मार्गमा पर्ने आश्रमको व्यवस्थापनका विषयमा विवाद हुँदा केही समय अन्योल भएको थियो ।

गाउँपालिका र वडाका जनप्रतिनिधि तथा अगुवाहरूको पहलमा आश्रमलाई व्यवस्थापन गर्न बेनी-जोमसोम-कोरला सडक आयोजनाले सघाउने जनाएपछि स्थानीयवासी पुलसम्म पुग्ने पहुँच मार्ग बनाउन सहमत भएका थिए । विसं २०६४ मा मार्ग खुलेको बेनी-जोमसोम सडकको महभिर र पोखरेबगरमा यसअघि फलामको बेलीब्रिजबाट सवारीसाधन वारपार गर्दै आएका थिए ।

बेनी-जोमसोम-कोरला सडकअन्तर्गत नै म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेगखोलामा सडक विभागको पुल महाशाखाले ७० मिटर लामो डबल स्पाम भएको पुल निर्माण सुरु गरेको छ ।

विसं २०७८ असार २९ गते भ्याटसहित रु आठ करोड ३० लाख ६८ लाख ४७३ मा ठेक्का सम्झौता गरेको बिओकेआई-हिमालयन जेभीले पुलको एक पिलर निर्माणका लागि जग खनिसकेको छ ।  

विभागका पश्चिम सेक्टर कार्यालयका इन्जिनियर आशिक रिजालले ११ मिटर चौडाइको हुने पुलको डिजाइन एण्ड बिल्ड ९निर्माण व्यवसायीले आफैँ डिजाइन र निर्माण गर्ने० मोडलमा ठेक्का सम्झौता भएको जानकारी दिए । विसं २०८० चैत २५ गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

विसं २०७३ भदौ १७ गतेको बाढीले बेगखोलामा ११ वटा घर, बेलीब्रिज, झोलुङ्गे पुल र एक जना मानिस बगाएपछि बर्खायाममा बाढी आउँदा यातायात आवतजावत बन्द हुने र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता थियो । पाँच वर्षअघि बगाएको बेलीब्रिजको विकल्पमा पक्की पुल निर्माण हुन लागेको हो ।

गण्डकी प्रदेशको भाग्य रेखा मानिएको राष्ट्रिय गौरवको उत्तर-दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनीबाट कोरला नाका जोड्ने सडकमा आठ वटा मोटर चल्ने पुल निर्माण सकिएका छन् ।

एक सय ८६ किलोमिटर दूरीको बेनी-जोमसोम-जोमसोम-कोरला सडक आयोजनाअन्तर्गत थप एक पुल निर्माणको अन्तिम चरण र १२ वटा निर्माणाधीन रहेका छन् । आयोजना प्रमुख जगत प्रजापतिले थप पाँच ठाउँमा पुल निर्माणको प्रस्ताव गरिएको बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ