- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले २५ जनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । प्रशासनले विद्यालय तथा शैक्षिक संस्था तथा भिडभाड हुने सबै क्षेत्रमा कडाइ गरेको हो ।
झण्डै १५ दिन बन्द भएर सञ्चालनमा आएका विद्यालयलाई फेरी बन्द गर्न प्रशासनले आदेश दिएपछि विद्यालयहरूमा भने अन्यौलता छाएको छ । प्रशासनले माघ मसान्तसम्म यस्ता क्रियाकलाप बन्द गर्न भनेको हो ।
सोमबार बसेको कोभिड व्यवस्थापन समितिको बैठकले कोरोना सङ्क्रमणको जोखिम कम गराउन स्वास्थ्य सम्बन्धी सुरक्षाका मापदण्ड अनिवार्य पालना गराउने निर्णय गरेको छ ।
प्रशासनले मेला महोत्सव आयोजना नगर्न पनि आदेश गरेको छ । आइसोलेसन सेन्टरलाई तयारी अवस्थामा राख्न, कोरोनाको परीक्षणको दायरा बढाउन र नियमित खोप अभियानलाई जारी राख्न पनि प्रमुख जिल्ला अधिकारी राजु प्रसाद पौडेलले आदेश दिएका हुन् ।
सार्वजनिक स्थानमा प्रवेश गर्दा कोभिड-१९ विरुद्धको खोप लगाएको कार्ड अनिवार्य गर्नुपर्ने निर्णय गरेको छ । प्रशासनले खोप कार्ड लिएर आएका सेवाग्राहीलाई मात्र सेवा दिने पनि जनाएको छ ।
गोष्ठी, सेमिनार, समीक्षा बैठक गर्दा भर्चुअलको माध्यमबाट गर्न, भौतिक रूपमा उपस्थिति भएर गर्नुपर्ने भएमा स्वास्थ्य मापदण्ड गर्ने गराउने र २५ जना मात्रै भएर गर्न प्रशासनले आदेश दिएको छ ।
सार्वजनिक यातायात सञ्चालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, ढोका र भित्र सबै ठाउँमा मास्क स्यानिटाइजर अनिवार्य राख्न प्रशासनको आदेशमा उल्लेख गरेको छ ।