महासङ्घ अध्यक्ष र राजदूत आचार्यबीच भेटवार्ता, बेलायतसँग व्यापार सम्झौता प्राथमिकता
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
384
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले बेलायतसँग लगानी र व्यापार विस्तार प्राथमिकतामा रहनुपर्ने बताएका छन्। बेलायतका लागि नेपाली नवनियुक्त राजदूत ज्ञानचन्द्र आचार्यसँगको भेटमा अध्यक्ष गोल्छाले पुरानो सम्बन्ध भए पनि बेलायतबाट न्यून लगानी भएको हुँदा सम्भावना पहिल्याउन सकिने बताए। भेटवार्तामा महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको पनि सहभागिता थियो।
पछिल्लो समय व्यापार पूर्वाधारमा भइरहेको प्रगति, विद्युत्को सहज आपूर्ति र श्रम सम्बन्धमा भइरहेको सुधारले नेपालमा लगानीको अवसर बढेको अध्यक्ष गोल्छाले बताए। पूर्वाधार, श्रम सम्बन्ध, विद्युत् आपूर्ति आदिमा उल्लेख सुधार भइरहेको छ, उनले भने, "हामीले बेलायतमा यी विषय प्रस्तुत गर्न सक्नुपर्छ।"
नवनियुक्त राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल बेलायत व्यापार सम्झौता प्राथमिकतामा रहने बताए। बेलायत अब इयुबाट हटिसकेपछि हामीले छुट्टै सम्झौताको कुरा उठाइरहेका छौ, उनले भने, यो मेरो प्राथमिकतामा रहेको विषय हो।
राजदूत आचार्यले महासङ्घले तयार पारेको राष्ट्रिय आर्थिक रूपान्तरण (भिजन पेपर) र अति कम विकसित मुलुकबाट स्तरोन्नति हुँदा निजी क्षेत्रमा पर्ने प्रभावबारे गरेको अध्ययनले आफूलाई निजी क्षेत्रको धारणा बुझ्न र यी विषयमा काम गर्न सहज हुने बताए।
महासङ्घका वरिष्ठ उपाध्यक्ष ढकालले गैर आवासीय नेपालीहरूलाई नेपाली बैङ्कमा विदेशी मुद्रामा खाता खोल्न अनुमति दिइएकोले यसको सदुपयोग गर्नुपर्ने बताए। यसले तरलता अभावको अहिलेको अवस्था केही सहज हुनेछ, दूतावासबाट यसबारे जानकारी दिएर बेलायतमा प्रचार प्रसार गर्न सकिन्छ। उनले भने।