arrow

नेविसंघमा उठ्यो अधिवेशनसँगै उमेर हदको चर्चा 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
nsu-dhanraj-gagan-ajaya.jpg

काठमाडौं । नेपाली कांग्रेसका भ्रातृ संगठनसँगै शुभेच्छुक संस्थाहरुको अधिवेशन धमाधम हुने भएको छ । पार्टीको कार्यसम्पादन समिति सक्रिय भएसँगै भ्रातृ तथा शुभेच्छुक संस्थाहरुको लामो समयदेखि अलपत्र परेको अधिवेशन हुने भएको हो । 

कांग्रेस पार्टी कार्यालय स्रोतका अनुसार अर्को साताभित्रै कार्यसम्पादन समितिको बैठक बसेर अधिवेशनको मिति तोक्न सक्नेछ । योसँगै भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का जुझारु नेताहरुले अधिवेशनको लबिङ थालेका छन् । उनीहरुले पदाधिकारीहरुलाई भेटेर अधिवेशनको माहोल बनाइरहेका हुन् । 

पार्टी उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा लगायतलाई भेटेर उनीहरुले अधिवेशनका लागि दबाबसमेत दिइरहेका छन् । नेताहरुले छिट्टै मिति तोक्ने आश्वास पनि दिएका छन् । 

नेता थापाले आगामी कार्यसम्पादन समितिको बैठक बसेर नेविसंघका बारेमा निर्णय गर्ने विद्यार्थीहरुलाई बताएका छन् । विद्यार्थीहरु पनि माहोल बनाउन आग्रह गरिरहेका छन् ।

शोभा बस्ताकोटीले ‘अभिभावकलाई अनुरोध’ भन्दै लेखेकी छिन्, ‘आज नेपाल विद्यार्थी संघमा आबद्ध हामी विभिन्न क्याम्पसका कार्यकर्ताहरुले नेपाल विद्यार्थी संघको विधिवत र  लोकतान्त्रिक प्रक्रियाबाट अधिवेशन गर्ने माहोलको शृजना गर्न नेबिसंघको पृष्ठभूमिबाट नेपाली कांग्रेस पार्टीको विभिन्न जिम्मेवारीमा पुगेका नेताहरुलाई अनुरोध पत्र प्रस्तुत तथा ध्यानाकर्षण गराएका छौं र अझै धेरै नेताहरुलाई ध्यानाकर्षण तथा अनुरोध गर्ने क्रम जारी  छ । आशा गरौं उहाँहरुले हाम्रो मर्म बुझेर नेपाल विद्यार्थी संघलाई गतिशील र सशक्त बनाउन भूमिका खेल्नुहुनेछ । जय नेपाल ।’

ज्ञापनपत्र बुझाउने क्रममा विभिन्न अनुरोधसमेत गरिएको छ । जसमा रिक्त र अपूर्ण रहेको नेविसंघको केन्द्रीय समिति पूर्णरुपमा गठन गर्न पहल गर्न अनुरोध गरिएको छ । 

त्यस्तै लामो समयदेखि हुन नसकेको संघको विधिवत र लोकतान्त्रिक प्रक्रियाबाट यथाशीघ्र अधिवेशन गर्न अनुरोध गरिएको छ । सोथै विधानमा स्पष्ट रुपमा खुलाइएको ३२ वर्षे उमेर हदलाई विना कुनै सर्त लागु गर्न समेत अनुरोध गरिएको छ । 

उमेर हदको चर्चा यसअघि पनि उठेको थियो । तर पार्टी नेतृत्वले इच्छा नदेखाउँदा तदर्थ समिति गठन गर्दासमेत तुहिएको थियो । यसपालि अधिवेशन गर्नुअगाडि नै यसलाई व्यापक बनाउन खोजिएको छ । 

उमेरहदको प्रसङ्ग जोड्दै नेविसंघका पूर्व अध्यक्ष एवं हालका पार्टीका उपसभापति धनराज गुरुङले सामाजिक संजालमा नेविसंघको नेतृत्व विद्यार्थीले नै गर्नुपर्नेमा जोड दिएका छन् । 

उनले लेखेका छन्, ‘नेविसंघका भाइबहिनीहरुसँग नेबिसंघको वर्तमान सांगठनिक अवस्था र आगामी रणनीतिका बारेमा छलफल गरियो । यिनै भाइबहिनीहरुको अनुहारमा वास्तविक नेविसंघ झल्किन्छ । म ३१ वर्षको उमेरमा नेविसंघको केन्द्रीय सभापति भएको त्यो दिन सम्झिएँ । विद्यार्थी संगठनको नेतृत्व विद्यार्थीले नै गर्नुपर्छ है ।’

नेविसंघका विद्यार्थीहरु अधिवेशन गर्न लबिङमा लागिरहेका छन् । माग पनि गरिरहेकाछन्। नेतृत्वले पनि केही निर्णय गर्ने । कार्यसम्पादन समितिको बैठकले टुङ्गो लगाउने पनि गगन थापाले बताएका छन् । यसअघि उपसभापति धनराज गुरुङले ३२ वर्षको उमेरमा सभापति भएको स्मरण गर्दै सोही उमेर समूहलाई जोड दिन खोजिएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ