काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले संसद्मा नेपाल–भारत सीमा विवादलाई लिएर दिएको अभिव्यक्तिको विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ) ले काठमाडौँको त्रिचन्द्र कलेज अगाडि सोमबार साँझ मसाल जुलुस प्रदर्शन गर्दै पुत्लादहन गरेको छ।
प्रधानमन्त्री साहले आइतबार प्रतिनिधि सभाको बैठकमा 'नेपालले पनि भारतको भूमि मिचेको छ' भनी दिएको अभिव्यक्ति राष्ट्रविरोधी र गैरजिम्मेवारपूर्ण रहेको भन्दै विद्यार्थीहरू सडकमा उत्रिएका हुन्। त्रिचन्द्र कलेज परिसरबाट सुरु भएको मसाल जुलुसले प्रधानमन्त्रीको प्रवृत्तिको विरोध गर्दै उनको पुत्लादहन समेत गरेको थियो।
आइतबार प्रतिनिधि सभाको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री साहले आफू प्रधानमन्त्री भएपछि मात्रै नेपालले पनि धेरै ठाउँमा भारतको भूमि मिचेको कुरा थाहा पाएको बताएका थिए। लिपुलेक, लिम्पियाधुरा र कालापानी जस्ता रणनीतिक क्षेत्रहरूको विवाद र सीमा व्यवस्थापनका विषयमा बोल्दै उनले दुवै देश बसेर यस विषयमा गम्भीर छलफल गर्नुपर्ने धारणा राखेका थिए।
कार्यकारी प्रमुखकै तहबाट 'नेपालले भारतीय भूमि मिचेको' भन्ने दाबी आएपछि संसद्देखि सडकसम्म यसको तीव्र विरोध शुरू भएको छ। विपक्षी दलहरू र सीमाविद्हरूले प्रधानमन्त्रीको यो भनाइले नेपालको अन्तर्राष्ट्रिय साख र ऐतिहासिक प्रमाणहरूलाई कमजोर बनाउने भन्दै आपत्ति जनाएका छन्।
प्रधानमन्त्रीको अभिव्यक्तिको चौतर्फी आलोचना र विवाद बढेपछि परराष्ट्र मन्त्रालयले आइतबारै साँझ एक विज्ञप्ति जारी गर्दै 'ड्यामेज कन्ट्रोल' को प्रयास गरेको थियो। मन्त्रालयले प्रधानमन्त्रीको भनाइ कुनै भूभागमाथिको प्रादेशिक दाबी नभई सीमा क्षेत्रमा नदीको धार परिवर्तनका कारण सिर्जना भएको ‘क्रस–बोर्डर अकुपेसन’ (दोहोरो जग्गा उपभोग) र दशगजा (नो म्यान्स ल्यान्ड) को अतिक्रमणको प्राविधिक सन्दर्भमा आधारित रहेको स्पष्टीकरण दिएको छ।
तर सरकारी स्पष्टीकरणका बाबजुद पनि विद्यार्थी संगठन र विपक्षी दलहरूले प्रधानमन्त्रीले संसद्मै पुगेर राष्ट्रसमक्ष माफी माग्नुपर्ने र आफ्नो भनाइ फिर्ता लिनुपर्ने माग राख्दै आन्दोलन जारी राखेका छन्।