arrow

कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सातामा ४ गुणा बढ्यो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २० बिहिबार
corona-death-data-till.PNG

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या पछिल्ला दुई सातामा निकै बढेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार दुई साताअघि पुस ३० गतेदेखि माघ ६ गतेसम्मको अवधिमा नेपालमा कोभिड१९को संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो ।

यद्यपि, पछिल्ला साता दिनमा अर्थात् माघ १४ गतेदेखि माघ २० गतेसम्म आइपुग्दा ९१ जना संक्रमितको मृत्यु भएको छ । जुन उक्त (पुस ३० देखि माघ ६)साता भन्दा करिब ४ गुणाले बढी हो ।

माघको दोस्रो साता अर्थात् माघ ७ गतेदेखि माघ १३ गतेसम्म ७ दिनको अवधिमा मृत्यु हुनेको सङ्ख्या ५५ जना रहेको छ । यसरी हेर्दा पछिल्ला तीन सातामा निरन्तर मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्रै थप १४ जना संक्रमितले ज्यान गुमाएका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा पीसीआर विधिबाट परीक्षण गराउनेको हकमा संक्रमण दर २७.३ प्रतिशत देखिएको छ । मन्त्रालयका अनुसार माघ ८ गते पीसीआर विधिबाट परीक्षण गराउँदाको संक्रमण दर ५६.८ प्रतिशत रहेको थियो ।

यसरी हेर्दा पछिल्लो केही दिनयता नेपालमा तुलनात्मक रूपमा कोरोना भाइरसको संक्रमण दर घटेको देखिएको छ । यद्यपि, कतिपय मानिसहरूले परीक्षण नै नगराइरहेका कारण समेत संक्रमण दर कम देखिएको अनुमान गरिएको छ ।

यसबाहेक, ओमिक्रोन भेरियन्ट भन्दा झनै बढी संक्रामक ओमिक्रोनकै सहायक भेरियन्ट बीए.२को संक्रमण पनि एसियाली र युरोपेली मुलुकमा बढ्न थालेको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ । यी कुराहरूलाई हेर्दा संक्रमणको अवस्था अझै चिन्ताजनक नै रहेको देखिन्छ । यसका साथसाथै ओमिक्रोनको संक्रमण बढिरहँदा अर्को भेरियन्ट उत्पन्न हुने चिन्ता समेत उत्तिकै रहेको विज्ञहरूको भनाइ छ ।

थप ३ हजार १ सय ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि हुँदा यसको करिब आधा १ हजार ५ सय ९ संक्रमित काठमाडौं उपत्यकाकै रहेका छन् । जसमा काठमाडौंका १२४९, भक्तपुरका ७७ र ललितपुरका १८३ जना रहेका छन् ।

यस अवधिमा १२ हजार ६ सय ५ जनाको नमुना परीक्षण गरिएको थियो । यद्यपि, यसमा इमेल र एसएमएसबाट प्राप्त आरडीटी एन्टीजेन परीक्षणको तथ्याङ्क समेत समेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस अवधिमा ८ हजार ७ सय २३ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा कोभिड१९विरुद्धको २ लाख ६६ हजार ५ सय ४० डोज खोप लागेको छ । हाल सक्रिय संक्रमितको सङ्ख्या ६३ हजार २ सय ९६ पुगेको छ ।



नयाँ