- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा एक बिरामीको ढाडको नसा च्यापिएको समस्याको शल्यक्रिया दूरबिनको माध्यमबाट सफलतापूर्वक गरिएको छ । ढाडको नसा च्यापिएर अस्पताल आएका झापाको बिर्तामोड नगरपालिका–४ का ४८ वर्षीय पेलेङ सिंह धिमालको दूरबिनको माध्यमबाट सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
नोबेल अस्पतालको न्यूरो विभागका प्रमुख एवं वरिष्ठ न्यूरो सर्जन डा.प्रकाश काफ्ले नेतृत्वको चिकित्सकहरूको टोलीले शल्यक्रिया गरेको हो । काठमाडौं बाहिर पहिलो पटक दूरबिनको माध्यमबाट यस्तो शल्यक्रिया भएको वरिष्ठ न्यूरो सर्जन डा.काफ्ले बताउँछन् ।
‘मेरुदण्डमा नसा च्यापिदा सामान्य अवस्थामा औषधी दिइन्छ, अप्रेशन गर्नुपर्ने देखिएमा प्रायः चिरेर गरिन्छ । तर, दूरबिनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन कमै हुन्छ ।’ डा.काफ्ले भन्छन्, ‘काठमाडौं बाहिर पहिलो पटक हामीले यस्तो अप्रेशन सफलतापूर्वक गरेका हौँ, यसअघि मोफसलमा यस्तो अप्रेशन भएको थिएन ।’
धिमालको ढाडमा सानो प्वाल बनाएर दूरबिनको माध्यमबाट अप्रेशन गरिएको हो । यसअघि यस्तो अप्रेशन चिरेर गर्ने गरिन्थ्यो । दूरबिनको माध्यमबाट अन्य किसिमका अप्रेशन भइरहन्छन् । नोबेलमै पनि दूरबिनको प्रयोग गरेर दिनमै दर्जनौैं अप्रेशन गर्ने गरिएको छ । तर, ढाडको नसा च्यापिएको समस्याको अप्रेशनमा भने यो विधि प्रयोग गर्ने गरिएको थिएन । यो नयाँ प्रविधिबाट नोबेलले पहिलो पटक अप्रेशन थालेको हो ।
दूरबिनको माध्यमबाट ढाडको नसा च्यापिएको अप्रेशन गर्दा सानो घाउ हुँने भएकाले बिरामीलाई निकै सहज हुन्छ । सानो घाउ हुनाले अप्रेशन गरेको दिन अथवा भोलिपल्ट नै बिरामी घर जान सक्ने चिकित्सकहरू बताउँछन् ।
बिरामी धिमालले पनि बर्सौँ अघि देखिको समस्या अप्रेशनपछि तत्काल सुधार भएको प्रतिक्रिया दिए । अप्रेशनपछि निको भएर धिमाल अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका छन् ।