arrow

मृत्यु मार्गमा सुरुङ योजना

logo
नारायण वली,
प्रकाशित २०७८ माघ २३ आइतबार
siddhabab-pahiros.jpg

रुपन्देही । अप्राकृतिक रूपमा वर्षौँदेखि जनधनको क्षति पुर्‍याउँदै आएको सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबास्थित सडकखण्ड मृत्यु मार्गको रूपमा परिचित छ । मध्यविन्दुमा पर्ने औद्योगिक तथा व्यापारिक केन्द्र रुपन्देहीको बुटवलमा विभिन्न काममा आउने पाल्पा, गुल्मी, अर्घाखाँचीलगायत जिल्लाहरूका नागरिकका लागि सो सडक मृत्यु र जीवनको उच्च जोखिम रहँदै आएको हो ।

सिद्धबाबा क्षेत्र नजिक बाट जाने मौसमी (वर्षा) तथा बेमौसमी (हिउँदे) पहिरोले साना एवं ठूला सवारीहरू दुर्घटनामा परेका तथ्य धेरै छन् । पछिल्लो समय सोही सडक क्षेत्रमा खस्ने सुख्खा पहिरो (ढुङ्गा खस्ने) लाई रोक्न रकसेड निर्माण गरिने र करिब ४ किलोमिटर जोखिम क्षेत्रको दूरी कम गर्न सुरुङमार्ग निर्माण गरिने योजना सरकारले अघि सारेको छ ।

नेपालको पहिलो सुरुङमार्ग नागढुङ्गामा निर्माण गरिएको छ भने सिद्धबाबा क्षेत्रमा निर्माण गरिने सुरुङमार्ग दोस्रो रहने बताइएको छ ।

सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य शुरु गर्न आगामी फागुन अन्तिमबाट तय गरिएको छ । बुटवल-पाल्पा सडकखण्डको सबैभन्दा उच्च जोखिमको रूपमा रहेको सिद्धबाबास्थित क्षेत्रमा सुरुङमार्ग निर्माण गर्न सरकारले १० अर्ब बजेट सुनिश्चित गरिसकेको छ । 

पहिरोले बर्सेनि जनधनको क्षति हुने भएकाले अप्राकृतिक मृत्युलाई रोक्नका लागि सुरुङमार्ग निर्माण गर्न लागिएको गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका सूचना अधिकारी एवं सिनीयर डिभिजनल इन्जिनियर सौरभ बज्राचार्यले बताएका छन् ।

'फाइनान्सिल ओपनिङ' बोलपत्रमा जसले कम हाल्छ सम्झौताका लागि उसैलाई बोलाइने र स्वीकृत गरेपछि एक महिना समय दिनुपर्ने बताउँदै इन्जिनियर बज्राचार्यले भने, प्रक्रिया सबै टुङ्गाएर ठेक्कामा जानका लागि आगामी फागुन अन्तिमसम्म लाग्ने अनुमान रहेको जनाए ।

सुरुङमार्ग २ लेनको हुने भएको छ । सो मार्गमा ठूला तथा सार्वजनिक सवारी साधन आवागमन हुने छन् भने बाहिरी सडकमा साना र कम क्षमताका सवारी गुड्ने उल्लेख छ । नेपालकै पहिलो 'रकसेड' प्रविधिले पहिरोको व्यवस्थापन गरी क्षति कम गराउने विश्वास गरिएको छ । 

सुरुङ मार्गको लम्बाई १ हजार १ सय २६ मिटर र सडकको लम्बाई २ दशमलव ५ किलोमिटर हुनेछ ।  सुरुङमार्गले पाल्पा, गुल्मी,अर्घाखाँची, स्याङ्जा, कास्की, पर्वत र बागलुङ लगायत दर्जन बढी जिल्लाका नागरिकहरू त्रासपूर्ण यात्रा बाट मुक्त हुने अपेक्षा गरिएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले २०७६ कार्तिकमा डिजाइन निर्माण तथा सञ्चालनका लागि आवश्यक बजेट सुनिश्चितको माग गरेको थियो । राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको झण्डै चार किलोमिटर क्षेत्रलाई पहिरोको अति जोखिमयुक्त मानेर सुरुङमार्ग बनाउने योजनाले मूर्त रूप पाउने भएको छ।

सुरुङमार्ग र 'रकसेड' निर्माणका लागि स्विस सरकारले परियोजना अध्ययन प्रतिवेदन (डीपीआर) तयार गरेको हो । सो डिजाइनका आधारमा ५ वर्षभित्र संरचना निर्माण सकिने र जसमध्ये ३ वर्षमा सुरुङ, बाँकी २ वर्षमा 'रकसेड' निर्माण कार्य सकिने गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रले जनाएको छ ।

'रकसेड' ले माथिबाट झर्ने ढुङ्गा सकेसम्म झर्न नदिने,झरे पनि विस्तारै झार्ने सिनियर डिभिजनल इन्जिनियर बज्राचार्यको दाबी छ ।



नयाँ