- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं २ र ३ सहित पालिका जोड्ने सार्दीखोलामा बन्न लागेको मोटरेबल पुलको शिलान्यास गरिएको छ । ७० मिटर लामो पुल कूल १० करोड २८ लाख ५७ हजार ६०४ रुपैयाँको लागतमा आगामी दुई वर्ष भित्रमा निर्माण हुने बताइएको छ ।
पुल शिलान्यास गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसँगै उत्पादन गर्नतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए । माछापुच्छ्रे गाउँपालिकामा तीन वटा पुलहरु निर्माण गर्ने सन्दर्भमा रिभान खहरे र डाँडागाउँ र भेँडाबारी जोड्ने पुल निर्माण कार्य सम्पन्न भएको मन्त्री बरालले स्पष्ट पारे ।
प्रदेश सरकारले आन्तरिक श्रोतको दायराको खोजी गरेको भन्दै उनले करको दर भन्दा यसको दायराको खोजी अभियानमा आफूहरु लागेको बताए । माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्ष विक्रम गुरुङ, सूर्यप्रसाद लम्साल, नेपाली कांग्रेसका नेता मीनबहादुर गुरुङ, माओवादी केन्द्र गण्डकी प्रदेश सदस्य प्रविना अधिकारी, वडासचिव एकनाथ पौडेल लगायतले बोलेका थिए ।