arrow

संसदीय समितिले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको छानबिन गरी सरकारलाई सुझाव दिन बनायो उपसमिति

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २५ मंगलबार
samsadiya_samiti_fLoKA3WwjJ.jpg.jpg

काठमाडौं । सरकारले गरेको पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे संसदीय समितिले छानबिन गर्ने भएको छ । संघीय संसदअन्तर्गतको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको मंगबार सिंहदरबारमा बैठकले पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे छानबिन गर्ने निर्णय गरेको हो ।

बैठकले पेट्रोलियम पदार्थको मूल्यवृद्धिबारे छानबिन गर्न सांसद दुर्गा पौडेलको संयोजकत्वमा तीन सदस्यीय उपसमिति गठन गरेको छ । समितिको सदस्यमा सांसदद्वय खेम लोहनी र लक्ष्मी परियार रहेका छन् । 

पेट्रोलियम पदार्थको मूल्यवृद्धि र त्यसको वैकल्पिक व्यवस्था गरेर जनतालाई राहत दिने गरी सरकारलाई आवश्यक सुझाव दिन सो उपसमिति गठन गर्नु परेको समितिकी सभापति निरादेवी जैरुले जानकारी दिइन् ।

बैठकमा समितिका सदस्यहरूले आयातीत पेट्रोलियम पदार्थका कारण जनता मारमा परेको उल्लेख गर्दै त्यसबाट निकास दिन नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषणको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारसँग माग गरेका थिए । एमाले नेता एवम् सांसद भीम रावलले नेपालभित्र पेट्रोलियम पदार्थको अन्वेषण गरेर त्यसको आवश्यक व्यवस्था मिलाउने काममा तीव्रता दिन सरकारलाई सचेत गराए ।

कांग्रेस नेता एवं सांसद राधेश्याम अधिकारीले पेट्रोलियम पदार्थको चुहावट नियन्त्रण गर्नसमेत सरकारको ध्यान केन्द्रीत हुनुपर्ने धारणा राखेका थिए ।

नेकपा (माओवादी केन्द्र)का नेता दिनानाथ शर्माले विद्युत खपत बढाएर पेट्रोलियम पदार्थबाट हुने घाटा कम गर्दै लैजान सरकारसँग आग्रह गरे । त्यसका लागि सरकारले नीतिगत, कानूनी र संरचनागत काम गर्नुपर्ने उनको सुझाब थियो । 

यता, नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले खरिद भन्दा बिक्री मूल्य कम भएकाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नु परेको स्पष्टीकरण समितिमा दिएका थिए । 

उनले आयल निगम घाटामा गएकाले सरकारसँग आवश्यक कोषको व्यवस्था गर्न आग्रह गरिएको पनि बताए । निगमले सरकारलाई कर बुझाउनुपर्ने अवस्था भएकाले पनि झनै घाटाको सामना गरिरहनु परेको जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ