arrow

भयानक भीरमा फसेका यात्रीको ४८ घण्टापछि उद्धार

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २६ बुधबार
indian-army.PNG

काठमाडौं । भारतको दक्षिणी राज्य केरलाको एक ठूलो भीरमा खसेका पदयात्रीको झण्डै ४८ घण्टापछि भारतीय सेनाको पर्वतारोहीको टोलीले उद्धार गरेको छ । ४८ घण्टासम्म खाना र पानी बिना डरलाग्दो भीरको सानो दरारमा अडिएर बसेका ती घाइते पदयात्री आफ्ना तीन साथीसँग पैदल यात्रा गर्ने क्रममा चिप्लिएर लडेका थिए ।

२३ वर्षीय आर बाबु नामका ती युवकलाई तीनवटा छुट्टाछुट्टै उद्धार टोलीले उद्धार गर्न सकेको थिएन । सोमबार लडेका उनीसँग बुधबार बिहान मात्रै भारतीय सेनाले सम्पर्क स्थापित गर्न सकेको थियो ।

उद्धारमा रहेका सेनाका कर्मचारीहरूले आर बाबुको नजिक पुगेर उनलाई पानी र खाना दिएका थिए । त्यसपछि उद्धार टोलीका एक सदस्यले उनलाई सुरक्षा गियर दिएर पहाडको टुप्पोमा लगेका थिए ।

केरलाको पलक्कड जिल्लाको ३०५ मिटर अग्लो कुरुम्बाची पहाड यसको ठाडो भूभागका लागि परिचित रहेको छ । यद्यपि केरलाको वन विभागले पहिले नै पदयात्रीहरूलाई पहाडमाथि चढ्ने जोखिमको बारेमा चेतावनी दिने गरेको थियो ।

लडेर भीरमा अड्किएका उनीसँग बस्नका लागि मात्रै ठाउँ रहेको बताइएको छ । उनका साथीहरूले लाठी र डोरी प्रयोग गरेर उनलाई माथि तान्न नसकेपछि उनीहरू प्रहरीको मद्दत लिन पहाडबाट तल ओर्लिएका थिए ।

आफू रहेको ठाउँ फेला पार्न सहज होस् भनेर आर बाबुले घटनास्थलको तस्बिर र सेल्फीहरू पठाएका थिए । उद्धार शुरु भएसँगै उनी फसेको पहाडको छेउँमा उनको स्थान निगरानी गर्न ड्रोनहरूको समेत प्रयोग गरिएको थियो ।

मंगलबार कोस्ट गार्ड हेलिकप्टरहरूले उनीसम्म पुग्न धेरै उडान गरेको थियो । तर भू भागको टोपोग्राफी र भारी डाउनड्राफ्टको कारण उक्त प्रयास असफल भएको थियो ।

उद्धार टोलीले उनलाई खाना र पानी समेत पुर्‍याउन सकेको थिएन । स्थानीय विधायक शफी पारम्बिलले आर बाबुको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे ।

मङ्गलबार दिउँसोसम्म उनले हात उठाएर उद्धारकर्तालाई जवाफ दिए पनि साँझसम्म उनी निकै कमजोर भइसकेको उनले बताए ।

मंगलबार राति जंगली जनावरहरूलाई टाढा राख्न अधिकारीहरूले  फ्लेम्बेउ बालेका थिए । राज्यका मुख्यमन्त्रीले आर बाबुको उद्धार गर्न सहयोगको अपिल गरेपछि भारतीय सेनाको टोली परिचालन गरिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ