arrow
ADVERTISEMENT

एमसीसीबारे अमेरिकाको चेतावनी ? 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
mcc.jpg
तस्बिर– फाइल

काठमाडौं । संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट पास नभए नेपालसँगको सम्बन्धमा पुनविचार गर्ने अमेरिकाले चेतावनी दिएको छ । एमसीसी अनुदानमा नेपाली राजनीतिक नेतृत्वले आफ्ना प्रतिबद्धता पूरा नगरे नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्न बाध्य हुने वासिङ्टनले काठमाडौंलाई चेतावनी दिएको स्रोतले जनाएको छ ।
 
बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको छुट्टाछुट्टै टेलिफोन वार्तामा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले संसदबाट असफल भएमा नेपालसँगको सम्बन्ध पुनरावलोकन गर्ने बताएको स्रोतको दाबी छ ।

 सन् १९४७ मा नेपाल र संयुक्त राज्य अमेरिकाबीच द्विपक्षीय सम्बन्ध स्थापना भएपछि अमेरिकाले नेपाली राजनीतिक नेतृत्वलाई पहिलो पटक कडा शब्दमा त्यस्तो चेतावनी दिएको हो । काठमाडौंस्थित अमेरिकी दूतावास स्रोतका अनुसार डोनाल्ड लुले बिहीबार बिहान तीन शीर्ष नेताहरूलाई एमसीसी अनुमोदनमा अमेरिकी सरकारको अडान यथावत रहेको जनाएका थिए । 

फ्रेब्रुअरी २८ सम्म अनुमोदन नहुँदा सम्भावित असरबारे जानकारी गराउन अलग–अलग टेलिफोन गरेको स्रोतको दाबी छ । अमेरिकाको नेपालस्थित राजदूत र्यान्डी बेरीले प्रमुख दलका नेताहरुसँग भेट गरी आफ्नो सक्रियता बढाइरहेका बेला न्यूयोर्कबाटै पनि अमेरिकी मन्त्रीहरुले नेपालका नेताहरुलाई दबाब अभियान बढाएको छ । 

अमेरिकाको दक्षिणपूर्वी एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपालका शीर्ष नेतालाई फोन गर्दै एमसीसी पारित गर्न वातावरण बनाउन आग्रह गरेका हुन् । गत १ मंसिरदेखि तीन दिने नेपाल भ्रमण गरेका लुले आफ्नो भ्रमणका क्रममा पनि नेपाली नेताहरूलाई एमसीसी पारित गर्न दबाब नै दिएका थिए । 

उनले १४ डिसेम्बरसम्मको समय सीमा दिँदै एमसीसी पारित गर्न नगरेको अवस्थामा फिर्ता लैजाने बताएका थिए । 

तर प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्डले १३ असोजमा एमसीसी मुख्यालयलाई संयुक्त पत्र लेख्दै प्रतिनिधिसभामा एमसीसी पारितका लागि सहमति जुटाउन केही समय आवश्यक पर्ने बताउँदै पाँच महिनाको समय मागेका थिए । यो विषयले सत्ता गठबन्धन टुट्ने संभावना बढ्दै गएको छ । माओवादीभित्र यसले ठूलै हलचल पैदा गरिसकेको छ । एमाले भने मौन रहेको छ ।

तर एमालेका नेता डा. भीम रावलले प्रमुख पार्टीका शीर्ष नेताहरुलाई अमेरिकी मन्त्रीले एमसीसी पास गर्न धम्की र चेतावनी दिएको भन्दै त्यसबारे जानकारी माग गरेका छन् । 

यदि यसरी धम्की दिइएको भए एमसीसीसँगको सम्झौता नेपालको स्वाधीनता, हित र स्वाभिमानकाविरूद्ध भएको थप पुष्टि हुने उनको भनाइ छ । उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘अनुदान’ मा धम्की ?!’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ