arrow

टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनो काइगरमा कुन राम्रो ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २९ शनिबार
260805010_7853766808060903_1570541698934472466_n.jpg

काठमाडौं । बजारमा विभिन्न कम्पनीको एसयुभी सेग्मेन्टअन्तर्गत प्रतिस्पर्धा बढ्दो छ । धेरैको रोजाइ एसयुभी भएकोले कम्पनीहरू यसैको बिक्री तथा वितरणको लागि विशेष जोड दिँदैछन् । तर उपभोक्ताहरूलाई गाडीका विशेषताहरू उपयुक्त लागे यसै पनि रुचाइन्छ । त्यसमध्येको एउटा उदाहरण हो टाटा नेक्सन । नेपालमा यसको बिक्री सन् २०२१ को जुलाईदेखि मात्रै शुरू भएको हो । तर टाटा नेक्सन निकै राम्रो प्रतिक्रिया र बजार पाएको छ ।

नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीको रुपमा हुन्डाईको भेन्यू र रेनोको काइगरलाई लिन सकिन्छ । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बीएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । कम्पनीहरूले गाडीको विशेषता अपग्रेड गर्न कुनै ठाउँ छाडेका छैनन् ।

टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा जम्मा ४ स्टार रेटिङ पाएको छ ।

सुरक्षाको हिसाबमा सबैभन्दा अघि भएको टाटा नेक्सन किन सर्वाधिक रुचाइएको छ ? 
टाटा नेक्सनको तौलको कुरा गर्दा यो जम्मा १,२३७ केजी छ । हुन्डाई भेन्यूको तौल भने १,११२ देखि १,२५१ केजी हुन्छ । यता रेनो काइगर यी दुईभन्दा कम तौलको छ । यो जम्मा १,०१२ केजी छ । भनेपछि नेक्सनको तौल दुईभन्दा बीचमा पर्ने हुँदा औसत मान्न सकिन्छ ।

टाटा नेक्सनको लम्बाई ३,९९३ एमएम, चौढाई १,८११ र उचाई १,६०६ एमएम छ । योभन्दा भेन्यूको लम्बाई बढी छ । यसको लम्बाई ३,९९५ एमएम, चौढाई १,७७० एमएम र उचाई १,६०५ एमएम छ । उस्तै, काइगरको लम्बाई भने ३,९९१ एमएम, चौढाई १,७५० एमएम र उचाई १,६०० एमएम छ ।

टाटा नेक्सनको ह्विलबेस २,४९८ एमएम छ भने भेन्यू र काइगरको ह्विलबेस २,५०० एमएम छ । भेन्यूको ग्राउन्ड क्लेरेन्स जम्मा १९० एमएम र काइगरको ग्राउन्ड क्लेरेन्स २०५ एमएम छ । 

यता नेक्सनको ग्राउन्ड क्लेरेन्स भने यी दुईभन्दा धेरै छ । त्यो भनेको यसमा २०९ एनएम ग्राउन्ड क्लेरेन्स छ । टाटा नेक्सन नेपालको खाल्डाखुल्डी भएको बाटोको लागि निकै उपयुक्त छ ।

बाहिरी आवरणः
५ सिटर नेक्सन, भेन्यू र काइगर तीनवटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ । कम्पनीले आफ्नो उत्पादनको आवरणमा विशेष ध्यान पुर्याएको बुझ्न सकिन्छ ।

नेक्सनको कुरा गर्दा यसको लुक्स निकै बोल्ड छ भने पछाडिको भाग अलि स्लिम छ । नेक्सनको तुलनामा भेन्यूको आवरण भिन्न छ । यसमा ठूलो रेडियटर ग्रिल छ र हेडल्याम्पको लागि स्प्लिट थिम छ । नेक्सन र भेन्यूमा अगाडि भागमा फग लाइट छ । 

तुलनात्मक रुपमा काइगरमा भने फग लाइट छैन । त्यस्तै, भेन्यू र नेक्सनमा सन रुफ छ तर काइगरमा छैन। भेन्यूको तुलनामा टाटामा डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइट छ ।

तीनैवटा गाडीमा एड्जस्टेबल हेडल्याम्प र रिअर भ्यू ऐना भने पाउन सकिन्छ । यी गाडीहरूमा अलोय ह्विलको प्रयोग गरिएको छ । भेन्यू र काइगरको तुलनामा नेक्सन बढी युवा पुस्ताले रुचाउने डिजाइनमा तयार पारिएको छ ।
 
आन्तरिक विशेषताः
टाटा नेक्सन, हुन्डाई भेन्यू र रेनो काइगर तीनवटै गाडीको इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ । गाडीहरूमा सफा र फराकिलो ड्यासबोर्ड पाउन सकिन्छ । तर तुलनात्मक हिसाबमा नेक्सनको क्याबिन फराकिलो र बढी विशेषताले भरिपूर्ण देखिन्छ । 

यसमा पुरै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजको लागि ठाउँ पनि छ । यो डुअल–टोन थिममा आधार भएकोले पनि अझ आकर्षक देखिन्छ । नेक्सनमा जस्तै काइगरमा पनि डुअल–टोन ड्यासबोर्ड भने पाउन सकिन्छ ।

भेन्यू र काइगरको तुलनामा नेक्सनमा चालक र यात्रुलाई बस्नको लागि फराकिलो ठाउँ छ। त्यस्तै, यात्रु सुविधाको लागि नेक्सनमा अटोमेटिक क्लाइमेट कन्ट्रोलको सुविधा छ। जुन काइगर र भेन्यूमा छैन ।
 
सुरक्षाः
सुरक्षाको हिसाबमा टाटा नेक्सनले वयस्क सुरक्षाको लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाको सुरक्षाको हकमा ३ स्टार रेटिङ पाएको छ । 
भेन्यू र काइगरले ग्लोबल एनक्यापममा जम्मा ४ स्टार रेटिङ पाएको छ । काइगरमा चार वटा एयरब्याग छन्। यता नेक्सन र भेन्यूमा भने जम्मा दुई वटा एयरब्याग छन् ।

काइगरमा पंचर रिप्येर किटहरू पाइँदैन तर नेक्सनमा भने यो किट उपलब्ध गराइएको छ । त्यस्तै, नेक्सनमा हिल होल्ड कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी जस्ता विशेषताहरू छन् जुन काइगर र भेन्यूमामा समावेश गरिएको छैन । नेक्सनमा इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सर जस्ता सुरक्षा विशेषता पनि छन् । 

यी तीनवटै गाडीमा चाइल्ड सेफ्टी लक विशेषता पाउन सकिन्छ ।
 
इन्जिन र ट्रान्समिसनः

एकै सेगमेन्टको भेन्यू, काइगर र नेक्सनमा सबैभन्दा बढी डिस्प्लेसमेन्ट नेक्सनको छ। नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ ।

१,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ । जसले ५,५०० आरपीएममा १२० पिएस पावर र १,७५०–४,००० आरपीएममा १७० एनएम टर्क जेनेरेट गर्छ । 

उस्तै डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ । जसले ४,०० आरपीएममा ११० पिएस पावर र १,५००–२,७५० आरपीएममा २६० एनएम टर्क जेनेरेट गर्छ । 

हुन्डाई भेन्यू पनि १.२ लिटर कप्पा पेट्रोल र १.५ लिटर यू२ सिआरडिआई डिजेल विकल्पमा उपलब्ध छ। १,१९७ सिसी डिस्प्लेसमेन्ट भएको भेन्यू पेट्रोल इन्जिनमा ४ सिलिन्डर, ४ भल्भ, डिओएचसी इन्जिन जडित छ । जसले ६,००० आरपीएममा ८३ पीएस पावर र ४,००० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्छ । 

यसको डिजेल भर्सनमा भने १,४९३ सिसी डिस्प्लेसमेन्ट छ जसले ४,००० आरपीएममा १०० पिएस पावर र १,५००–२,७५० आरपीएममा २४० एनएम टर्क जेनेरेट गर्छ । 
रेनोको काइगरमा ९९९ सिसी, ३ सिलिन्डर, ४ भल्भ, डिओएचसी इन्जिन जडित छ। यसले ६,००० आरपीएममा ८२ बिएचपी पावर र ४,००० आरपीएममा ११४ एनएम टर्क जेनेरेट गर्छ । 

पावरको हिसाबमा यी तीन एसयुभीमध्ये सबैभन्दा बढी पावर नेक्सनकै छ । यो पेट्रोल र डिजेल दुवैमा ६ गियर म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ । 

इन्धन क्षमताः
नेक्सनको पेट्रोल संस्करणले प्रति लिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ । भेन्यूको पेट्रोल संस्करणले प्रति लिटर १७.५२ किलोमिटर र डिजेल संस्करणले २३.४ किलोमिटरको माइलेज दिन्छ । यता काइगरले भने प्रति लिटर १९.३ किलोमिटरको माइलेज दिन्छ । 

अन्य फिचरः
टाटाको नेक्सनमा इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छ । जुन भेन्यू र काइगरमा पाइँदैन । यसमा ३५० लिटरको बुट स्पेस छ । भेन्यूमा पनि ३५० लिटरको बुट स्पेस छ । उता रेनो काइगरमा भने ४०५ लिटरको बुट स्पेस पाउन सकिन्छ । 
नेक्सनमा १६ इन्चको अलोय ह्विल छ । काइगरमा पनि १६ इन्चको ह्विल पाउन सकिन्छ । हुन्डाई भेन्यूमा भने जम्मा १५ इन्चको ह्विल छ । 
नेक्सनमा सनग्लास होल्डर पनि दिइएको छ । जुन भेन्यू र काइगरमा छैन । 

मूल्यः 
नेपालमा नेक्सनको मूल्य जम्मा ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म तोकेको छ । यो हरियो, सेतो, रातो र ग्रे गरी चार रंग विकल्पमा उपलब्ध छ । 
हुन्डाईको नेपाली बजार मूल्य ३६ लाख ९६ हजारदेखि ५० लाख ५६ हजार रुपैयाँसम्म तोकेको छ । यो ग्रे, सिल्भर, सेतो, निलो र सुन्तले रंग गरी पाँच रंग विकल्पमा उपलब्ध छ । 

नेपाली बजारमा २८ लाख ४९ हजारदेखि ३७ लाख ६९ हजार रुपैयाँसम्म उपलब्ध काइगर भने निलो, रातो, सिल्भर, ग्रे, सेतो र कालो गरी ६ विभिन्न रंग विकल्पमा उपलब्ध छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ