arrow

स्थानीय तहको निर्वाचन गर्न के के गर्दैछ निर्वाचन आयोग ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
election-commission-nepal.jpg
फाइल तस्बिर

काठमाडौँ। सरकारले घोषणा गरेकै दिन स्थानीय तहको निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले द्रुत गतिमा काम गरिरहेको छ। सरकारले २०७९ वैशाख ३० गते देशभर एकसाथ स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरिसकेको छ।

सोही मितिमा निर्वाचन सम्पन्न गर्न र आवश्यक जानकारी सर्वसाधारणलाई दिन आयोगले आजबाट निर्वाचन लक्षित पत्रकार सम्मेलन गर्न सुरु गरेको छ।

आयोगले स्थानीय तह सदस्य निर्वाचनका लागि  निर्वाचन आचारसंहिता, जनशक्ति व्यवस्थापन निर्देशिका, आर्थिक निर्देशिका, स्थानीय तह निर्वाचन निर्देशिका, निर्वाचन अनुगमन निर्देशिका, सुरक्षा (व्यवस्थापन) निर्देशिकाको मस्यौदा तयार गरिरहेको छ।

मतदान निर्देशिका, मतगणना निर्देशिका, मतदाता शिक्षा कार्यक्रम कार्यान्वयन निर्देशिका लगायतका निर्देशिकाहरूको मस्यौदा तयारी पनि भइरहेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

‘यी निर्देशिकाहरू आयोगले स्वीकृत गरी क्रमशः लागू गर्दै जाने छ,’ उनले भने।

निर्वाचन आयोग र अन्तरगत कार्यालयहरूको कार्यालय समय बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म कायम गरिएको छ भने विद्याका दिनमा समेत नियमित कार्यसम्पादन गर्ने व्यवस्था मिलाइएको छ।

‘आसन्न स्थानीय तह सदस्य निर्वाचनमा विद्युतीय मतदान उपकरणको प्रयोगको सम्भाव्यताका सम्बन्धमा विज्ञहरूसँग भएको छलफल तथा परामर्श अनुसार यस सम्बन्धी कार्यको अध्ययन गरी सात दिन भित्र अध्ययन प्रतिवेदन पेस गर्न एक कार्यदल समेत गठन भएको छ,’ प्रवक्ता पौडेलले भने।

आगामी दिनमा स्थानीय तह निर्वाचनका सबै क्रियाकलापहरूलाई समेट्ने गरी निर्वाचन आयोगको दैनिक ई–बुलेटिन समेत प्रकाशन गर्ने योजना रहेको उनले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ