arrow

निजगढमा तिलगंगा आँखा अस्पतालको शाखा 

logo
प्रिमेश शिवाकोटी, 
प्रकाशित २०७८ फागुन २ सोमबार
273498170_458678505736441_7274158535400388468_n (1).jpg

बारा । तिलगंगा आँखा अस्पताल काठमाडौंले बाराको निजगढमा आफ्नो सेवा विस्तार गरेको छ । अस्पतालले मधेस प्रदेशमा पहिलो पटक सेवा विस्तार गर्दै निजगढबाट सेवा शुरु गरेको हो । 

नेपाल आँखा कार्यक्रमका अध्यक्ष सुहृद घिमिरे र निजगढका नगरप्रमुख सुरेश कुमार खनालले सोमबार संयुक्त रुपमा अस्पतालको भवन शिल्यान्यास तथा सेवा केन्द्रको उद्घाटन गरेका हुन् । विशेषज्ञ चिकित्सकले निजगढ सामुदायिक अस्पतालको भवनबाट सेवा दिन थालेका छन् । 

२०७५ सालमा नै सम्झौता भए तापनि कोभिडका कारण अस्पतालको सेवा तथा भवन निर्माण कार्यमा ढिला भएको हो । निजगढमा अस्पताल बनेपश्चात छिमेकी जिल्लाहरुलाई समेत उपचारमा सहजता हुने अपेक्षा अस्पतालले राखेको छ ।
 
करिब २९ करोड रुपैयाँको लागतमा बन्ने अस्पतालमा द फ्रेड हलोज फाउण्डेशनको ५९ प्रतिशत र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिष्ठानको ४१ प्रतिशत रकम लगानी रहने छ । पहिलो वर्ष कूल रकमको १४ प्रतिशत, दोश्रो वर्ष ४२ प्रतिशत, तेश्रो वर्ष १३ प्रतिशत, चौथो वर्ष १६ प्रतिशत र पाँचौं वर्ष १५ प्रतिशत बजेट खर्च गर्ने योजना अस्पताल पक्षले राखेको छ ।
 
अस्पताल निर्माण अवधिमा करिब २ लाख जनसंख्यालाई आँखा जाँच र २५ हजार बिरामीको विभिन्न प्रकारको शल्यक्रिया गरिने अस्पताल प्रशासनले जनाएको छ ।



नयाँ