- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको गति घट्दो छ । तर दर अझै घटेको छैन । मंगलबार मात्रै पीसीआर परीक्षणको १२ प्रतिशत पोजेटिभ पाइएका छन् ।
सामान्यतया विश्व स्वास्थ्य संगठनले परीक्षणको पाँच प्रतिशत भन्दा कम पोजेटिभ पाइएमा नियन्त्रण उन्मुख भएको मान्दछ । यद्यपि खतरा भने कायमै रहन्छ । तर मंगलबार (फागुन ३ गते) मात्रै उक्त दर बढी देखिएको छ ।
हाल सक्रिय संक्रमित अझै साढे १९ हजार रहेका छन् । आज एक हजार आठ सय ३५ जनालाई निको भएसँगै सक्रिय संक्रमित १९ हजार चार सय रहेका हुन् ।
आज छ सय ८० संक्रमित थपिएका छन् । सात हजार ९५ जनाको परीक्षणबाट ९.५९ प्रतिशत संक्रमित थपिएका हुन् । चार हजार दुई सय ५६ जनाको पीसीआर परीक्षणबाट ११.७१ प्रतिशतमा संक्रमण देखिएको हो । त्यस्तै दुई हजार आठ सय ३९ एन्टिजेनबाट एक सय ८२ संक्रमित पाइएका हुन् ।
आज २ जनाले ज्यान गुमाए । अहिलेसम्म कोरोनाबाट ११ हजार नौ सय दुई जनाको ज्यान गइसकेको छ ।
आज पीसीआर परीक्षणबाट थपिएकामध्ये काठमाडौं उपत्यकाका मात्रै दुई सय नौ जना हुन् । जसमा काठमाडौंका एक सय ७०, ललितपुरका २४ तथा भक्तपुरका १५ जना हुन् ।
योसँगै उपत्यकामा सक्रिय संक्रमित सात हजार नौ सय पाँच जना रहेका छन् । यो दर बढी नै हो । तर कहिले घट्ला ?
चिकित्सकहरु तुलनात्मक रुपमा उपत्यकामा संक्रमितहरु घट्दै गइरहेको बताउँछन् । तर जुन सचेतना हुनुपर्ने हो त्यो अझै नभएको स्पष्टै छ ।
सवारी साधनहरु खुला रुपले चलिरहेका छन् । कुनै फरक परेको छैन । तर चालक र कन्डक्टर अधिकांशले मास्क लगाउँदैनन् ।
जबसम्म चालक र कन्डक्टरले मास्क लगाउँदैनन् तबसम्म उनीहरुले यात्रुलाई पनि मास्क लगाउन भन्दैनन् । जो कोरोना केही पनि हैन भन्छन् तिनीहरुका लागि यो सबैभन्दा ठूलो घात हो ।
त्यतिमात्र हैन उनीहरुले कोरोना फैलाइरहेका छन् । यो अनुशासनमा बस्नेहरुका लागि गरिएको अन्याय हो । सम्बन्धित निकायले ख्यालठट्टा गर्नेलाई कारबाही गर्ने कि अनुशासनमा बस्नेलाई झनै बढी पीडा दिने सोच्ने बेला आएको छ ।
किनकि कोरोनाको भेरियन्ट नयाँ नयाँ आउने क्रम रोकिएको छैन । अर्कातर्फ यो त रुघाखोकी मात्र त हो नि भनेर हेल्चेक्रयाइँ गरेको पाइन्छ ।
रुघा खोकी जस्तै नै हो भने पनि रुघा खोकीसमेत सरुवा हो । अनि रुघा लागेको मान्छेले मास्क नलगाएर अरुलाई सार्दै हिँड्न पाइन्छ ?