स्याङ्जा । २८ वर्षको कलिलो उमेरमै स्याङ्जा भिरकोटका अंकितको पोर्चुगलमा ज्यान गयो। जनवरी ३० तारिकको दिन अंकितको परिवारको निम्ति कालो दिन बन्न पुग्यो । परिवारको र आफ्नै सपना साकार पार्न वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगलमा पुगेका उनको अकस्मात ज्यान गएको हो ।
२९ तारिख काम गर्दागर्दै एक्कासि बेहोस हुन पुगेका उनलाई अस्पताल पुर्याइयो, ३० तारिक अस्पतालले मृत घोषणा गर्यो । मृत्युको कारण थियो हृदयाघात । विरानो मुलुक अनि उनका चिनजानका साथीहरु पनि एकदमै कम तर परिवारको आग्रह थियो, ‘शवलाइ जसरी पनि नेपाल ल्याइदिनुपर्यो ।’
विदेशमा नेपालीलाई अप्ठ्यारो परेको अवस्थामा सहयोग गर्न र केहि सामाजिक काम हरु गर्ने उधेश्यले विभिन्न संस्थाहरु खोलिएका हुन्छन् । कसैको मृत्यु भएको बेला, नेपालमा आइपर्ने विभिन्न दैवीप्रकोपका घटनामा, शारीरिक अपाङ्गता, आर्थिक अभावले उपचार नपाएका हरुका निम्ति सहयोग गर्न भनेरै विभिन्न कार्यक्रमहरु तथा अभियानहरु पनि संचालन हुने गर्दछन् ।
भर्खरमात्र स्थापित स्याङ्जा सहयोग समाज पोर्चुगललाइ पनि यस घटनामा केहि भूमिका खेल्नुपर्छ भन्ने लाग्यो र आर्थिक संकलन अभियान सुरु गरियो । संस्थाका अध्यक्ष अर्जुन अर्यालले यसको समन्वय गर्दै धेरैलाई हारगुहार समेत गरे र केहि रकम संकलन भयो ।
स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति अन्तर्गत युरोप क्षेत्रका विभिन्न देशहरु स्पेन, फ्रान्स, बेल्जियम, नेदरल्याण्ड, एनआरएनए पोर्चुगल, स्याङ्जा सहयोग समाज पोर्चुगल र विभिन्न देशमा रहेका नेपालीहरु मिलेर करिब १४ लाख ८० हजार रुपैयाँ संकलन भयो ।
संकलित रकम मध्ये करिब पाँच लाख रुपैयाँ शव पोर्चुगलबाट काठमाडौंसम्म ल्याउनका लागि खर्च भएको र बाँकी रकम ९ लाख ८० हजार परिवारको निम्ति हस्तान्तरण गरिएको छ ।
भिरकोट-५ सिम्लेस्थीत उनको परिवारलाई रकम सोमबार साँझ उनको घरमै पुगेर संस्थामा आवद्ध सदस्यहरु तथा जनप्रतिनिधिको रोहवरमा हस्तान्तरण गरिएको छ । नवौं पुण्य तिथिको अवसरमा रकम हस्तान्तरण गरिएको स्याङ्जा सहयोग समाज बेल्जियमका अध्यक्ष पर्शुराम रेग्मीले बताए ।
स्याङ्जा सहयोग समाज पोर्चुगलका अध्यक्ष अर्जुन अर्याललगायतको सक्रियता तथा स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समिति युरोप क्षेत्रले अगुवाइमा रकम सङ्कलन गरी हस्तान्तरण गरिएको छ ।
स्याङ्जा सहयोग समाज स्पेनबाट ६८०, फ्रान्सबाट ६००, बेल्जियमबाट ५००, नेदरल्याण्डबाट ३६०, एनआरएनए पोर्चुगलबाट दुई हजार ३०५, पोर्चुगलबाट तीन हजार ४१७ यूरो र थप केही सङ्घसंस्था तथा व्यक्तिबाट रकम सङ्कलन गरी घर पठाइएको हो ।
सङ्कलित रकम भिरकोट नगरप्रमुख छायाराम खनालले परिवारलाई हस्तान्तरण गर्दै २८ वर्षको अल्पायूमै रोजगारीका सिलसिलामा विदेशी भूमिमा ज्यान गुमाएकामा दुःख व्यक्त गरे । उनले वैदेशिक रोजगारीका सिलसिलामा विभिन्न देशमा रहेका स्याङ्जावासीको सहयोगमा ठूलो मेहनतबाट संकलित रकमको सही ठाउँमा सदुपयोग गर्न परिवारजनमा अनुरोध गरे ।
कार्यक्रममा भीरकोट नगर प्रमुख छायाराम खनाल, भीरकोट नगर उप-प्रमुख सीमा कर्माचार्य, भीरकोट ५ वडा अध्यक्ष एवम् नेपाली कांग्रेस भीरकोट सभापति यामप्रसाद अधिकारी, वालिङ्ग उद्योग वाणिज्य संघ का सचिव ध्रुव खाँड,स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका सचिव मिन क्षेत्री, स्याङ्जा सहयोग समाज पोर्चुगलका सल्लाहकार विपिन अर्याल, आकाश किरण श्रेष्ठ, भीरकोट जेसिजका अध्यक्ष कृष्णप्रसाद पौडेल लगायतले बोलेका थिए ।