arrow

सत्ता गठबन्धन निर्णायक मोडमा, एमसीसीको गाँठो फुकाउन ३ बजे छलफल

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
gathabandhan baithak.jpg
तस्बिर– फाइल

काठमाडौँ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनका दलबीच मतभेद जारी रहेका बेला आज निर्णायक छलफल हुँदैछ । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलका शीर्ष नेताहरूसँग दिउँसो ३ बजे हुने छलफलबाट एमसीसीबारे छिनोफानो हुनेछ ।

बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरुकै असहयोगपछि देउवाको एमसीसी जसरी पनि टेबल गर्ने योजना सफल हुन सकेन ।

गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल नेकपा एकीकृत समाजवादीले निर्णय गरेको छैन । तर ऊ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् । 

माओवादी केन्द्रको संसदीय दलको बैठकको निर्णयबारे जानकारी गराउन र एमसीसीबारे थप छलफल गर्नका लागि अध्यक्ष प्रचण्ड बुधबार बिहान बालुवाटार पुगे । जहाँ उनले पार्टीको निर्णय र आफ्नो बाध्यताबारे प्रधानमन्त्रीलाई भनेका थिए । 

आफ्नो पार्टीका अधिकांश नेता कार्यकर्ता एमसीसीको विपक्षमा रहेकाले आफूले एक्लै निर्णय गर्न नसक्ने प्रचण्डले देउवासँग बताएका थिए । चुनाव नजिकिएको भन्दै उनले एक वर्षपछि सार्न प्रयास गर्न देउवालाई आग्रह गरे । तर देउवाले त्यसमा सहमति जनाएनन् ।

तत्काल एमसीसी पास गर्नुपर्ने दबाबमा रहेका देउवाले अमेरिकासँगको सम्बन्धमा समस्या आउने र आगामी दिनमा विश्वस्तरबाट आउने अनुदान, सहयोग रोकिने उनको भनाइ थियो । 

एक्ला एक्लै भएको भेटबारे दुवै नेताले आफूहरु निकट नेतालाई जानकारी गराएका थिए । गठबन्धन सरकारको नेतृत्व गरे सहयात्री दलनै विरोधमा उत्रिँदा आफू समस्यामा परेको देउवाको भनाइ थियो । 

पार्टीले गठबन्धनमा कुरा नमिले पनि अघि बढ्नु पर्ने दबाब दिइरहँदा सहयात्री दलको यस्तो निर्णयले समस्या पर्ने बताए । त्यसपछि देउवाले भने, ‘यसरी अघि बढ्न समस्या हुन्छ, गठबन्धनको निर्णायक बैठक बोलाएर निर्णय गरौं ।’

देउवाको प्रस्तावलाई प्रचण्डले स्वीकार गरे । गठबन्धनमा छलफल गरेर साझा विन्दु खोजी गर्न सकिने प्रचण्डको विश्वास थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ