arrow

बेनी-हाँडेभीर-बरङजा सडक कालोपत्र हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ५ बिहिबार
kagbeni-muktinath-sadak-news.jpeg
फाइल तस्वीर

म्याग्दी । ट्र्याक खुलेको १६ वर्षपछि म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभीर-बगरफाँट-सुर्केमेला-बरङ्जादेखि अर्मनको किमचौर जोड्ने १० किलोमिटर कृषि सडक कालोपत्र हुने भएको छ ।

जिसी निर्माण सेवाले स्तरोन्नतिको जिम्मा लिएको सो सडकको ट्र्याक विसं २०६३ खोलिएको थियो । अहिले हाँडेभीरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा बाटो विस्तार र स्तरोन्नतिको काम सकिएर कालोपत्रको तयारी गरिएको छ । 

भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय म्याग्दीको रु ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट रु चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा सो सडकको स्तरोन्नति गरिएको हो । 

सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्र्याक खोल्ने काम भएको सडक उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताए । 

उनका अनुसार सो सडकखण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मिटर र थामडाँडामा सय मिटर नयाँ ट्र्याक खोलिएको छ । सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा साबित हुने स्थानीयवासीले बताएका छन् । 

यो सडक बेनी नगरपालिका-२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका-४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिए । सडक कोलोपत्र भएपछि यस क्षेत्रका करिब २० हजार जनता प्रत्यक्ष रूपमा लाभान्वित हुने समाजसेवी तीर्थबहादुर गुरुङले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ