arrow

गण्डकीको ‘लाइफलाइन’ सडक बनाउन बजेट अभाव हुँदैन : मुख्यमन्त्री

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ७ शनिबार
Krishnachandra nepali.jpg
फाइल तस्वीर

नवलपुर । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले दुम्कीवास त्रिवेणी सडकका लागि बजेट अभाव नहुने बताएका छन् ।नवलपुरको विनयी त्रिवेणी गाउँपालिकामा शुक्रबार आयोजित कार्यक्रममा उनले यस सडकले नवलपुरको मात्र नभै समग्र गण्डकी प्रदेशकै आर्थिक विकासको ढोका खोल्ने बताए ।

प्रदेश सरकार स्थापनादेखि नै उक्त मार्ग खोल्न प्रयास भए पनि अहिले आएर प्रक्रिया अगाडि बढेको उनले बताए । सङ्घको वन तथा वातावरण मन्त्रालयमा माघ १७ गते मुख्यमन्त्री आफैँ पुगेर पहल गरेपछि त्यसको प्रक्रिया अगाडि बढेको थियो । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) को काम अब सुरु भइहाल्ने जानकारी दिँदै उनले निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएकाले युनेस्कोले पनि छिट्टै यसको निकास दिने विश्वास व्यक्त गरे ।

 गण्डकी प्रदेशको ‘लाइफलाइन’ मानिएको त्रिवेणी कोरला सडकको त्रिवेणी दुम्कीवास खण्ड १९ किलोमिटरमध्ये आठ किलोमिटर खण्ड चितवन राष्ट्रिय निकुञ्जको केही भाग र मध्यवर्ती क्षेत्र पर्ने भएकाले काम अगाडि बढ्न सकेको थिएन ।  चितवन राष्ट्रिय निकुञ्ज विश्व सम्पदा सूचीमा सूचीकृत भएकाले त्यहाँ विकासको कामका लागि युनेस्कोको स्वीकृति लिनुपर्ने हुन्छ । 

मुख्यमन्त्री पोखरेलले दुम्कीवासदेखि त्रिवेणी जोड्न बाटोको लागि रकमका लागि कुनै अभाव नहुने बताउँदै “प्रदेशले पनि यसका लागि बजेटको प्रबन्ध गर्छ, सङ्घ सरकारले पनि यसका लागि पर्याप्त बजेट छ भनेको छ, तपाईंहरु अब ढुक्क हुनुहोस्”, भने ।

सुरुङ मार्ग वा फ्लाइओभर के बनाउने अध्ययनपछि टुङ्गो लाग्ने बताउँदै उनले यो खर्चिलो भए पनि बहुवर्षेमा लगेर काम हुने जानकारी दिए। मुख्यमन्त्रीसहित अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, प्रमुख सचिव रवीलाल पन्थ, अर्थसचिव वैकुण्ठ अर्यालसहितको टोलीले दुम्कीवास त्रिवेणी खण्डको बाटो अवलोकन गरेका थिए।

अवलोकनपछि विनय त्रिवेणी गाउँपालिकामा आयोजित कार्यक्रममा पालिका अध्यक्ष डम्बरबहादुर जिसीले उत्तरमा पाल्पादेखि दक्षिणमा भारतको नाकासम्म फैलिएको विनयी त्रिवेणी गाउँपालिकाको विकासमा प्रदेश सरकारले विशेष ध्यान दिन आग्रह गरे । सबैभन्दा ठूलो समस्या निकुञ्ज क्षेत्रको बाटो नखुल्नु रहेकोमा अब त्यसको निकास निस्केकोमा उनले खुसी व्यक्त गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ