arrow

दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ९ सोमबार
Durlung.jpg

पर्वत । पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ स्थित धार्मिक एवम् ऐतिहासिक स्थल दुर्लुङको पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्नेमा जोड दिइएको छ ।

पर्यटन क्षेत्रमा नयाँ गन्तव्यको पहिचान, प्रचारप्रसार र प्रबद्र्धनको लक्ष्यका साथ नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्ट्स (नाट्टा ), गण्डकी प्रदेशद्वारा आइतबारदेखि सुरु गरिएको पर्वत र वाग्लुङ जिल्ल्का पर्यटकीय गन्तव्य अवलोकन भ्रमण, अन्तरक्रिया एवम् तालिमका अवसरमा दुर्लुङमा आयोजित कार्यक्रमका सहभागीले सम्भावना भएर पनि ओझेलमा परेको दुर्लुङका पर्यटकीय सम्भावनालाई उजागर गर्नुपर्ने बताए ।

गण्डकी प्रदेशका पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मणिभद्र शर्मा कंडेलले इतिहासको साक्षी दुर्लुङको ऐतिहासिक एवम् धार्मिक महत्वलाई पर्यटन बजारमा पुर्याउनुपर्ने बताए ।

प्राकृतिक दृश्यावलेकनका लागि पनि यहाँको उत्तिकै महत्व रहेको उल्लेख गर्दै उनले आसपासका गाउँका उत्पादनलाई पनि यहाँको पर्यटनसँग जोड्न सकिने बताए ।

नाट्टा गण्डकी प्रदेशका अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोना प्रभावित पर्यटनलाई आन्तरिक पर्यटनको विकासका माध्यमबाट अघि बढाउन सकिने बताउँदै गण्डकी प्रदेशमा लुकेर रहेका पर्यटकीय गन्तव्यको प्रवद्र्धनलाई संस्थाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

दुर्लुङकोटको पर्यटकीय सम्भावनालाई उजागर गर्नका लागि गन्तव्य पहिचान कार्यक्रम मार्फत आँफूहरू आएको उल्लेख गर्दै उनले सबैको साथ र सहयोगमा यस्ता गन्तव्यको प्रवर्द्धन र विकास गर्न सकिने बताए ।

दुर्लुङकोट भूमे मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीले वाइसे चौवीसे राजाका पालादेखि नै यस क्षेत्रको महत्वपूर्ण शक्तिपीठका रुपमा रहेको र मनले चिताएको पुग्ने धार्मिक स्थलका रुपमा रहे पनि पर्यटकीय रुपमा अझै ओझेलमा परेको बताए ।

कुष्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले स्थानीय तहका तर्फबाट यस स्थलको विकासका लागि निरन्तर साथ र सहयोग गर्दै आइएको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख काशीराज भण्डारीले सम्भावना बोकेका गन्तव्यको प्रवर्द्धनका लागि पर्यटन सम्बद्ध संघ संस्थासँग सहकार्य गर्दै बोर्ड अघि बढीरहेको बताए ।

वरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले दुर्लुङकोटका पर्यटकीय सम्भावनालाई पर्यटन बजारसँग जोड्नुपर्ने बताउँदै यसका लागि स्थानीय जागरुकता आवश्यक हुने बताए ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले कोरोनाले प्रभावित बनाएको पर्यटनलाई पुर्नरुत्थान गर्नु जरुरी रहेको बताउँदै परिषद्ले पर्यटनसम्बद्ध सबै संस्थालाई साथमा लिएर हिड्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा दुर्लुङकोट भूमे मन्दिर व्यवस्थापन समितिका उपाध्यक्ष मनकुमारी गिरी, सचिव वालकृष्ण शर्मा, कुष्मा नगरपालिका वडा नं ३ का का.वा.वडा अध्यक्ष यमनाथ शर्मा, स्थानीय समाजसेवी खेमबहादुर गुरुङ, नाट्टा गण्डकी प्रदेशका महासचिव कमला गिरी, कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका उपाध्यक्ष किशोर दहाल लगायतले दुर्लुङकोटको धार्मिक एवम् सांस्कृति महत्व बारे प्रकाश पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ