काठमाडौं । एक पटक एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी नेताका छोरा छोरी विदेशमा पढ्ने गरिबका छोराछोरीलाई ढुंगा हान्न लगाउने भन्दै माओवादी नेताहरुको आलोचना गरेका थिए । एमाले अध्यक्ष ओलीले लगाएको आरोपमा केही सत्यता छ । हाल अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विरोध गर्ने धेरैजसो माओवादी नेताहरुका छोराछोरी विदेशमा पढिरहेका छन् । कोही उतै काम गरिरहेका छन् ।
एमसीसीको सबैभन्दा बढी विरोध गर्ने माओवादी केन्द्रका नेताहरुले नै आफ्ना छोराछोरीलाई अमेरिका यूरोप पठाएका छन् । छोराछोरीलाई पठाएपछि नेताहरु अमेरिका गएर तस्वीरसमेत खिचाएका छन् । खासगरी माओवादीका उच्च नेताका छोरा छोरीहरु विदेश पढ्छन् भन्दा कतिपयलाई अनौठो लाग्न सक्छ तर अहिलेको यथार्थ यही हो ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्ना सबै छोरा छोरीलाई युद्ध मोर्चामा खटाएका थिए । तर उनी सत्तामा आएपछि आफ्ना नातीलाई महंगो मानिने युलेन्स स्कुलमा मासिक लाखौं खर्चेर पढाइरहेकै छन् । स्कुलमा फीमात्रै ५० हजार रुपैयाँ पर्छ ।
सभामुख अग्निप्रसाद सापकोटाका तीन भाइ छोराहरुमध्ये एक भाइले चीनबाट पीएचडी गरेका छन् । उनी चीनको राजदूत हुने लाइनमा छन् । अन्य दुई भाइ सरकारी सेवामा कार्यरत छन् ।
माओवादी केन्द्रका नेता एवं पूर्व सभामुख कृष्णबहादुर महराका दुई छोरा र दुई छोरी छन् । जेठी छोरी दाङमा किराना पसल चलाएर बसेकी छिन् भने कान्छी छोरी पनि दाङमै बस्छिन् ।
महराका दुई छोरामध्ये जेठो छोरा एटम महरा माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन् । उनी सेना समायोजन पूर्व माओवादी सेनाको ब्रिगेड कमाण्डर थिए । पछि उनी स्वेच्छिक अवकाश रोजेर राजनीतिमा आएका हुन् ।
कान्छा छोरा राहुल बुबाको स्वकीय सचिवको रुपमा कार्यरत रहेका छन् । उनका छोरा यतै भए पनि विभिन्न ठेक्का पट्टामा जोडिने गरेका छन् ।
अर्थमन्त्री जनार्दन शर्माका त दुवै सन्तान विदेशमा छन् । छोरा प्रकाश शर्मा र छोरी कविता शर्मा अमेरिकामै बस्छन् । शर्माले छोरीको विवाह नै अमेरिकाबाटै धुमधामसँगै गरेका थिए । उनी बेला बेलामा अमेरिका गइरहन्छन् । उनै शर्मा अहिले अर्थमन्त्री छन् ।
एमसीसी संसदमा टेबुल गर्ने बेला उनी कृत्तिम बिरामी परेका थिए ।
माओवादीका अर्को सर्वहाराका नेता एवं शिक्षामन्त्री देवेन्द्र पौडेलकी छोरी गरिमा अमेरिकामै बस्छिन् । शिक्षा मन्त्री हुनुअघि पौडेल र उनकी पत्नी सँगै अमेरिकामा छोरीको दीक्षान्तमै भाग लिन पुगेका थिए ।
पौडेलको निजी स्कुलमा लगानीसमेत रहेको बताइन्छ । शान्ति प्रकृयामा आएपछि पौडेलले आफ्नी छोरीलाई निजी स्कुलमा पढाएका थिए ।
माओवादी केन्द्रका नेताहरु पूर्वमन्त्री शक्ति बस्नेत र सत्या पहाडीकी छोरी पनि अमेरिकामै बस्छिन् । उनले पनि काठमाडौंको निजी स्कूलमा अध्ययन गरेकी थिइन् ।
नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका छोरा सौरभ नेपाल इलेक्ट्रिोनिक्स इन्जिनियर हुन् । उनी हाल अष्ट्रेलियामा बस्छन् । पूर्वप्रधानमन्त्र समेत रहेका आफ्ना पिता माधवकुमार नेपालले बनाउँदै गरेको नयाँ नेपालमा सौरभलाई समेत विश्वास नलागी अष्ट्रेलियामा राम्रो करिअर देखिसकेका छन् ।
सोमप्रसाद पाण्डेकी छोरी नेपालकी बुहारी हुन् । उनी पनि अष्ट्रेलियामै छिन् । एस पार्टीकै सम्मानित नेता झलनाथ खनालका छोरा निर्मिक खनालले अमेरिकाबाट आफ्नो अध्ययन सकेर नेपाल आएका हुन् । उनी अहिले ठेक्कापट्टामा संलग्न छन् ।
स्वास्थ्यमन्त्री विरोध खतिवडाकी छोरी हुन् श्रृंखला खतिवडा । पूर्वमिस नेपाल खतिवडा अमेरिका अध्ययनको लागि गएकी छिन् । नेपाललाई चिनाउन नेपालमै केही गरेर विश्वलाई देखाउने अठोट गर्थिन् उनले मिडियामा बेलाबेलामा ।
वर्षमान पुनका एक छोरा र एक छोरी छिन् । उनका दुवै छोराछोरीले सेन्ट जेभियर्स स्कुलमा पढेका हुन् ।
नेत्रविक्रम चन्द विप्लवका छोरा प्रकाश चन्द मेडिकल डाक्टर हुन् । उनले चितवन मेडिकल कलेजबाट आफ्ना पढाइ सकेका थिए । यतिमात्र होइन माओवादीका नेताहरुका धेरै जसो छोराछोरी विदेशमा रहेका छन् ।
माओवादी छाडेर अर्कै पार्टी खोलेका जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले छोरी मानुषी यामी भट्टराईलाई भारत र नेपालका महङ्गा स्कुलमा पढाएका थिए । त्यतिमात्र होइन उनी भारतस्थित जवाहारलाल नेहरु विश्वविद्यालयकी पीएचडी स्कलरसमेत हुन् ।
यता एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका दुई छोरा छन् । तीमध्ये जेठा छोरा सिजन पोखरेल कृषि अध्ययन केन्द्र (नार्क) का वैज्ञानिक हुन् । उनी राजनीतिक क्षेत्रबाट टाढा रहेर वैज्ञानिक क्षेत्रको अध्ययन तथा अन्वेषणमा सक्रिय रहेका छन् । कान्छा छोरा सिसन पोखरेल अमेरिकाबाट अन्तर्राष्ट्रिय विषयमा अध्ययन गरी फर्किएर नेपालमा ठेक्कापट्टामा संलग्न छन् ।
कम्युनिष्ट नेताहरुले सर्वसाधारणका छोराछोरीलाई आन्दोलनमा आउन आग्रह गरिरहँदा आफ्ना छोराछोरीलाई भने विदेश पठाएको र सुरक्षित राखेर जनतालाई दुःख दिने काम गरेको भन्दै आलोचना भएको छ ।
हाल एमसीसीको चर्को विरोध गर्ने नेताहरुले नै आफ्नो सन्तानको भविष्य सुरक्षित गरेको र जनतालाई भुग्रोमा पारेको भन्दै आलोचना शुरु भएको छ ।
यी त केही उदाहरणमात्र हुन् । जति पनि कम्युनिष्ट नेताहरु जनतालाई झुटा सपना बाँडिरहेका छन् उनीहरुकै सन्तान विदेशमा वा अन्य पेशामा छन् । टर टाउको फुटाउने भने गरिब जनताको छोरो नै अगाडि तेर्सिन्छ ।
अहिले एमसीसीको विरोध गर्ने नेताहरुका कतिपय सन्तान अमेरिकामा जीवन सुरक्षित गरिरहेका छन् भन्दा पक्कै पनि नरमाइलो लाग्ने प्रसङ्ग हो ।
र पनि जनताको छोरो त्यही नेताको राजनीतिक स्वार्थ सुधार्नका लागि टाउको फुटाउन तयार छ ।