arrow

मधेसी दल फुट्दै : महन्थको पार्टी छोडेर तमलोपामा प्रवेश गरे विर्खेशचन्द्र लाल

logo
निरञ्जन साह,
प्रकाशित २०७८ फागुन १० मंगलबार
brisis-lal.jpg

जनकपुर । महन्थ ठाकुर अध्यक्ष रहेको  लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता विर्खेशचन्द्र लाल तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) प्रवेश गरेका छन्। लोसपाका कार्यकारी सदस्य समेत रहेका पूर्व राष्ट्रियसभा सदस्य लाल र नेता डा.विजयकुमार सिंहलगायत नेता कार्यकर्ता तमलोपा प्रवेश गरेका  छन् ।

जनकपुरधाममा मङ्गलवार पत्रकार सम्मेलन गर्दै उनीहरूले लोसपा नेपाल परित्याग गर्दै तमलोपामा समाहित भएको घोषणा गरेका हुन् ।  लालले पत्रकार सम्मेलनमा बोल्दै मधेस र क्षेत्रीय मुद्दाको वकालत गर्ने कुनै पार्टी नभएपछि तमलोपामा प्रवेश गरेको बताए ।

लोसपा फुटाएर पुरानो तराई मधेस लोकतान्त्रिक पार्टीलाई सक्रिय बनाउन लोसपाका केही शीर्ष नेताहरूले गृहकार्यमा थिए ।  पूर्व राजपाका वरिष्ठ उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य विर्खेशचन्द्र लाल, पूर्व राजपाका  उपाध्यक्ष विजय सिंह लगायतका नेताहरूको अगुवाइमा तमलोपा जन्माउने काम भएको थियो । 

उनले भने,‘माग र मुद्दा बिर्सेर सबै पार्टीहरू सत्ताकै लागि सीमित भए। त्यसैले लोसपा परित्याग गर्ने निर्णयमा पुगेका  छौ।' नेतृत्वपंक्तिले पार्टीमा आफूखुसी निर्णय लाद्ने गरेको आरोप लगाउँदै उनले अपेक्षा गरेअनुसार लोसपा लोकतान्त्रिक प्रक्रियाबाट अगाडि बढ्न नसकेको जिकिर  समेत गरे।

‘पार्टी गठन गर्दा सल्लाह लिइन्छ। सञ्चालन गर्ने बेला आफूखुसी निर्णय हुन्छ,’ उनले भने,‘सल्लाह नै नगरी एकीकरण र विभाजन हुने गरेको हो। 

लालले तमलोपा लोकतान्त्रिक विधि र प्रक्रियाअनुसार अगाडि बढ्ने दाबी गरेका छन् । लाल र सिंहका साथै धनुषाका धिरेन्द्रबहादुर सिंह, रामजी राय, उमेश मण्डल, सतिश लाल कर्णलगायतका नेताहरूले लोसपा परित्याग गरेर तमलोपा प्रवेश गरेको घोषणा गरेका हुन् ।

मधेस आन्दोलनपछि महन्थ ठाकुरको नेतृत्वमा तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भएको थियो। पछि तत्कालीन ६ वटा मधेस केन्द्रित दलहरूसँग एकीकरणपछि राष्ट्रिय जनता पार्टी (राजपा) बनेको थियो।

राजपा गठनपछि निर्वाचन आयोगले तमलोपा नाम ‘फ्रिज’ गरेको थियो। जनता समाजवादी पार्टी जसपा भित्र विवाद चलिरहेकै बेला धनुषाका रविशंकरलाल कर्णले आफ्नो नेतृत्वमा तमलोपा दर्ता गराएका थिए। तमलोपाको अध्यक्षमा रविशंकर लाल कर्ण रहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ