arrow

बिहीबार एमसीसीविरुद्ध बानेश्वरमा आन्दोलन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १० मंगलबार
mcc-birod-baneshor.JPG

काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालले अमेरिकी सहयोग परियोजना एमसीसीविरुद्ध फागुन १२ गते अपराह्न १२ बजे बानेश्वरमा आन्दोलन गर्ने भएको छ । आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर केन्द्रले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनताका लागि भद्र प्रतिरोध आन्दोलन शुरु गर्न लागेको जानकारी गराएको हो ।

एमसीसी राष्ट्रघाती सम्झौता भन्दै यही फागुन ८ गते सङ्घीय संसद्मा टेबुल भएकोप्रति उक्त केन्द्रले घोर भर्त्सना समेत गरेको छ । नेपालको संविधान र मातहतका कुनै पनि कानुनले एमसीसीलाई व्याख्या, नियन्त्रण र निर्देशन गर्न नपाउने, सांसदबाट पारित भए पुनः संशोधन गर्न नमिल्ने लगायतका असमान, राष्ट्रघाती सार्वभौमसत्ता र स्वतन्त्र राष्ट्रको विरुद्धमा यो सम्झौता रहेको उक्त केन्द्रले जनाएको छ । 

केन्द्रका प्रवक्ता शैलेन्द्र महतले नेपाललाई सधैँ नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता राख्नको लागि शान्तिपूर्ण आन्दोलन गर्न लागेको बताए । उनले भने,‘एमसीसी सम्झौतालाई खारेज गर्नको लागि हामीले देशव्यापी रूपमा सशक्त प्रतिरोध अभियान शुरुवात गरेको हौँ ।’ आफूहरूको आन्दोलन देशको निम्ति भएको हुनाले सबै नेपालीहरूले सहभागिता जनाउन उनले आग्रह पनि गरे । 

उनले आफूहरू प्रहरीलाई जबरजस्ती गरेर ढुंगामुढा नगरी निषेधित क्षेत्रमा नजाने पनि बताए । उनले आन्दोलन हिंसात्मक नहुने पनि स्पष्ट पारे । शान्तिपूर्ण धर्ना बसेर गरेको आन्दोलनलाई राज्यले प्रताडित नबनाउने, दमन नगर्ने पनि उनले विश्वास गरे । आफ्नो पार्टीले सरकारको नराम्रा विरोधको कार्यक्रम गर्दै आएको उनले सुनाए । 

‘एमसीसी सांसदबाट पारित गरेमा नेपाल ईन्डो-प्यासिफिक रणनीतिको हिस्सेदार भई दीर्घकालीन राजनीतिक अस्थिरता सिर्जना गर्दै रणभूमिमा परिणत हुनेछ ।’-उनले भने । 

एमसीसी सम्झौतामा भएका बुँदाहरू नेपालका लागि राष्ट्रिय तथा क्षेत्रीय हित विरुद्ध रहेकोले देशभक्त नेपालीहरूलाई सैह्य नहुने उनको भनाई थियो । 

एमसीसीलाई राष्ट्रघातीको संज्ञा दिँदै महतले सम्झौतालाई खारेज गराई राष्ट्रिय स्वाधीनताको रक्षाका लागि राष्ट्रवादी केन्द्र नेपालले देशव्यापी रूपमा सशक्त प्रतिरोध अभियान शुरुवात गरेको जानकारी दिए । 

एमसीसी सम्झौता देशको दिर्घकालीन हित विरुद्ध भएकोले यसको पूर्ण खारेजीका लागि आम रूपमा सशक्त जनदबाब सिर्जना गर्न आगामी फागुन १२ गते दिउँसो १२ बजे बानेश्वर संसद भवन अगाडी उपस्थित हुन पनि सम्पूर्ण राष्ट्रवादी जन समुदायलाई उनले आग्रह गरे । 

प्रवक्ता महतले सम्पूर्ण राजनैतिक दल र नेतृत्वहरूलाई देशव्यापी प्रतिरोध गर्दै घोषित निर्वाचनमा समेत मतदान बहिष्कार गरी राष्ट्रिय स्वाधीनताको आन्दोलनमा गोलबद्ध हुन आम जनसमुदायमा अपिल गरे । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ