arrow

एमसीसीबारे बोल्न कुलमान पछि हट्छन्, भन्छन् –यसमा मेरो केही भन्नु छैन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
kulman-ghising-news.gif
तस्बिर– फाइल

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक तथा मिलेनियम च्यालेञ्ज एकाउन्ट एमसीए नेपालका बोर्ड सदस्य कुलमान घिसिङ अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पाेरेशन एमसीसीको बारेमा प्रतिक्रिया लिन खोज्दा पछि हट्छन् ।

अहिलेसम्म उनले सार्वजनिक रुपमा एमसीसीको बारेमा बोल्ने गरेका छैनन् । एमसीसीको  बारेमा तपाईको धारणा के छ, एमसिसि पास हुनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ कि फर्कनु पर्छ भन्ने पक्षमा हुनुहुन्छ भनी हाम्राकुराको जिज्ञासामा उनले यतिमात्र भने, ‘यसमा मेरो केही छैन ।’ दोहोर्याएर जिज्ञासा राख्दा पनि उनले यही वाक्य प्रयोग गरे ।
 
घिसिङसँग नजिकबाट परिचित एक कर्मचारी भन्छन्, ‘उहाँ (माओवादी केन्द्र) सँग निकट देखिनुहुन्छ ।’ माओवादीको प्रभाव परेको हुन सक्छ या आफ्नो लोकप्रियता गुम्ने डरले नबोलेको हुन सक्छ ।’ घिसिङ माओवादी मन्त्रीको सिफारिशमा दुई पटक प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हुन् । 

एमसीए नेपाल एमसीसी कार्यान्वयन गर्न अर्थ मन्त्रालयले गठन गरेको सरकारी निकाय हो । घिसिङ त्यसका बोर्ड सदस्य हुन् । एमसीए नेपालको वेब साइडमा सञ्चालक समितिको सदस्यको रुपमा उनको नाम र फोटो स्पष्ट देख्न सकिन्छ । 
  
बोर्डका अध्यक्ष अर्थसचिव मधु मरासिनी हुन् । यसका सदस्यहरुमा घिसिङसँगै उर्जा तथा जलस्रोत मन्त्रालयका सहसचिव मधु भेटुवाल, भौतिक तथा पूर्वाधार मन्त्रालयका सहसचिव केशव शर्मा तथा निजी क्षेत्रबाट नेशनल हाइड्रो पावर कम्पनीका कार्यकारी अध्यक्ष कुमार पाण्डे रहेका छन् । 

एमसीए नेपाल केपी शर्मा ओली नेतृत्वको सरकारको बेला २०७५ सालमा गठन गरिएको थियो । ओली सरकारले झापाका पत्रकार गोपाल खनाललाई पनि एमसीए नेपालको बोर्ड सदस्यमा नियुक्त गरेको थियो । अर्थ स्रोतले भन्यो, ‘मेलम्ची खानेपानी आयोजना कार्यान्वयन गर्न मेलम्ची विकास समिति गठन भएझैं एमसीसी कार्यान्वयन गर्न एमसीए नेपाल विकास समिति गठन गरिएको हो ।’ 

एमसीए नेपाल अर्थ मन्त्रालयको मातहतमा बनाइएको हो । एमसीसी सम्झौताबाट नेपाललाई प्राप्त हुने सहयोगमध्ये धेरैजसो रकम विद्युत प्रशारण लाइनमा खर्च हुनेछ । 

यसबाट नेपालको विद्युत उत्पादन र बजारीकरणमा ठूलो योगदान पुग्ने निश्चित छ । त्यसैले यो घिसिङसँग प्रत्यक्ष जोडिएको विषय पनि हो । यति हुँदा हुँदै पनि एमसीसीको बारेमा बोल्दा आफ्नो लोकप्रियता गुम्ने डर घिसिङमा छ ।  

एमसीए नेपालको कार्यालय दरबार मार्गमा राखिएको छ । एमसीए सञ्चालक समितिको बैठकमा भने घिसिङ सहभागी हुने गरेका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ