arrow

एमसीसी : प्रस्तावबारे तत्काल छलफल नगर्न आग्रह

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
deuba-prachanda-nepal-1353.jpg

काठमाडौं ।  सत्ता गठबन्धनमा संलग्न नेकपा (माओवादी केन्द्र) र एकीकृत नेकपा (समाजवादी)ले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) सम्झौतालाई अनुमोदन गर्ने प्रस्तावबारे तत्काल सैद्धान्तिक छलफल नगर्न आग्रह गरेको छ ।

सो प्रस्तावमा आज सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेकामा राजनीतिक दलमा सहमति नभएको र प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले सदनमा अवरोध जारी राखेको अवस्थामा यसलाई अघि नबढाउन ती दुबै दलले आग्रह गरेको हो । 

सरकारको नेतृत्वकर्ता नेपाली कांग्रेसले भने नियमितरुपमा छलफलको प्रक्रिया अघि बढाउन अडान लिएको छ । विवादका कारण दिउँसो १ बजेका लागि तोकिएको बैठक बस्न सकेन । एमालेले आफ्ना माग पूरा नभएको जनाउँदै कार्यव्यवस्थाको बैठक बहिष्कार गर्दै आएको छ । 

निर्धारित बैठक विशेष कारणले बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार भोलिका लागि सारिएको संसद् सचिवालयद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
     
सो सम्झौता यही फागुन ८ गते प्रतिनिधिसभामा प्रस्तुत भएको थियो । सो सम्झौतालाई यही फागुन १६ गतेभित्र अनुमोदन हुने–नहुने निधो गर्न अमेरिका सरकारले समयसीमा दिएको छ ।



नयाँ