arrow

तीन दर्जन दल र संस्था सडकमा, कोटेश्वरदेखि माइतीघर अस्तव्यस्त 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
mcc-birodh-2r424244244.jpg

काठमाडौं  । विभिन्न ३४ वटा राजनीतिक दलहरुले शुक्रबार अमेरिकी विकास सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध प्रदर्शन गर्ने भएका छन् । एमसीसीका विषयमा शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् । 

दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन् । एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीनतिरबाट घेर्ने तयारी गरेका छन् । 

शुक्रबार एमसीसी विरुद्ध प्रर्दशनको कार्यक्रम राख्नेमा नेकपा (माओवादी केन्द्र), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), नेपालका लागि नेपाली पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चा, नेकपा (माले), एमसीसी खारेज अभियान नेपाल लगायत २२ राजनीतिक दल तथा अभियान, संयुक्त जनआन्दोलन नेपाल, नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठन र  नेकपा (माओवादी) रहेका छन् । 

नेकपा (माओवादी केन्द्र) निकट जवस–मोर्चाहरूले यथास्थितिमा एमसीसी पास गर्ने कदम विरुद्ध संसद भवन बानेश्वर घेराउ कार्यक्रम गर्ने कार्यक्रम राखेका छन् । 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले एमसीसी सम्झौता विरुद्ध विरोध प्रदर्शन गर्दैछ । नेमकिपाले कोटेश्वरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने जनाएको छ । नेपालका लागि नेपाली पार्टीले एमसीसी सम्झौता विरुद्ध बिहान साढे ११ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने बताएको छ । 

नेकपा (क्रान्तिकारी माओवादी) , नेकपा (मसाल) र नेपाल कम्युनिस्ट पार्टी लगायत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी सम्झौता विरुद्ध माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने घोषणा गरेको छ । मध्यान्ह १२ बजेबाट विरोध कार्यक्रम शुरु गर्ने उनीहरुले जनाएका छन् ।

नेकपा (माले), एमसिसी खारेज अभियान नेपाल लगायत २२ राजनितीक दल तथा अभियानले एमसिसी सम्झौता विरुद्ध साढे १२ बजे पुरानो बानेश्वरमा भेला भई विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ । प्रदर्शन नयाँ बानेश्वर पुगि सभामा परिणत हुने बताइएको छ । 

एमसिसी सम्झौता विरुद्ध संयुक्त जनआन्दोलन नेपालले बिजुली बजार पुलमा साढे १२ बजे एमसिसी विरुद्ध विरोध प्रदर्शन गर्ने जनाएको छ । नेकपा (एकीकृत समाजवादी) आबद्ध जनसंगठनहरूले एमसिसी विरुद्ध  कमलादीस्थित प्रज्ञा भवन डबलीमा खबरदारी सभा गर्ने घोषणा गरेका छन् । 

नेकपा (माओवादी) ले शुक्रबार देशभर एमसीसीको विरोधमा मसाल जुलुस तथा पुत्ला दहन गर्ने जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ