arrow

व्यास नगर अस्पताल निर्माण शुरु

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १३ शुक्रबार
Vyas Hospital.jpg

तनहुँ । तनहुँको व्यास नगरपालिकाले दुम्सीचौरमा नगर स्तरीय कोभिड अस्पताल निर्माण शुरु गरेको छ ।

व्यास-१० स्थित पीसीआर प्रयोगशालाको आडमै रहेको सार्वजनिक जग्गामा नगरपालिकाले नगरस्तरीय कोभिड अस्पतालको भवन निर्माण शुरु गरेको हो । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उक्त भवनको शिलान्यास गर्दै सङ्घीयताका कारण जनताले गाउँघरमै सेवा लिन पाएको बताए । 

स्थानीय तह नभएको भए कोभिडको महामारीमा जनताले अकालमा मृत्युवरण गर्नुपर्ने स्थिति आउने जनाउँदै उनले भने, “संविधानले व्यवस्था गरेबमोजिमको सङ्घीयताले आज जनताले वडा-वडामै स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।”

स्वास्थ्यको क्षेत्रमा सिंहदरबारले मात्र केही गर्न नसकेको जनाउँदै उनले कोभिड महामारी नियन्त्रणका लागि स्थानीय सरकारले गरेको प्रयास सराहनीय रहेको बताए । सङ्घीयता सार्थकसिद्ध भएको चर्चा गर्दै उनले भने, “कोभिड अस्पतालले यस क्षेत्रका बासिन्दालाई गुणस्तरीय सेवा दिने विश्वास लिएको छु ।”

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले कोभिड-१९ नियन्त्रणका लागि विगतदेखि नै व्यासको महत्वपूर्ण योगदान रहेको बताए । कोभिड-१९ को महामारीमा आफ्नै अस्पताल नहुँदा समस्या भएकाले नगरस्तरीय अस्पतालको आवश्यकता खड्किएकाले नगरपालिकाले अस्पताल निर्माण सुरु गरेको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । दमौली आसपास सार्वजनिक जग्गा नपाइएपछि पीसीआर प्रयोगशाला भएकै ठाउँमा अस्पताल निर्माण सुरु गरिएको उनले बताए । 

रु एक करोड ५६ लाखमा अस्पताल निर्माणका लागि बोलपत्र आह्वान गरे पनि रु ८९ लाख ९४ हजार ३१४ मा ठेक्का लागेको छ । अस्पताल निर्माणको जिम्मा क्वालिटी इन्द्रावती कन्स्ट्रक्सन प्रालिले पाएको छ । आठ महिनाभित्र निर्माण सम्पन्न गर्नुपर्ने म्याद रहेको छ । अस्पताल २५ शय्या क्षमताको हुनेछ । अस्पताल भवनमा चिकित्सकको आवाससमेत व्यवस्था गरिने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । 

नगरपालिकाले सोही ठाउँमा पीसीआर प्रयोगशाला सञ्चालन गरिरहेको छ । कोभिड-१९ को महामारीका बेला पीसीआर रिपोर्ट आउने नौ/दश दिन लागेपछि विभिन्न सङ्घसंस्था, व्यक्ति र नगरपालिकाको लागत सहभागितामा प्रयोगशाला सञ्चालन भइरहेको छ । उक्त प्रयोगशालाबाट नगरपालिकाले निःशुल्करुपमा पीसीआर परीक्षण गरिरहेको छ ।



नयाँ