arrow

पोखरा-जोमसोम उडान सञ्चालन

logo
रासस
प्रकाशित २०७८ फागुन १५ आइतबार
Yeti-Airlines-ATR-72-500-aircraft.jpg
फाइल तस्वीर

पोखरा। पोखरा-जोमसोम हवाई उडान सेवा दुई महिनापछि सञ्चालन भएको छ। हिउँदको प्रतिकूल मौसम र कोरोना (भाइरस) सङ्क्रमणका कारण यात्रु नभएकाले गत पुस दोस्रो हप्तादेखि पोखरा-जोमसोम हवाई सेवा बन्द भएको थियो।

जोमसोमस्थित नागरिक उड्यन कार्यालयका प्रमुख पुस्कलराज शर्माले दुई महिनापछि पोखरा–जोमसोम उडान हुन थालेको जानकारी दिए । “समिट एयरले शनिवार र आइतबार दुई/दुई वटा चार्टड फलाइट गरेको छ,” उनले भने, “तारा एयरले पनि उडानको तयारी गरेको छ ।”

पोखरा-जोमसोम हवाई मार्गमा सामान्य अवस्थामा तारा र समिट एयरले दैनिक पाँच/पाँच वटा उडान भर्दै आएका छन् । हवाई उडान चालु भएपछि स्थानीयवासीको साथै मुस्ताङ जाने–आउने पर्यटकलाई सहज भएको छ ।

मार्चको ७ तारिकदेखि नियमित उडान हुने जोमसोम विमानस्थलले जनाएको छ । भारतीय पर्यटक पनि हवाई मार्ग भएर मुस्ताङ पुग्न थालेका हुन् । हिउँदयाम सकिएको र कोरोनाको जोखिम न्यूनीकरण हुँदै गइरहेकाले भारतीय तथा तेस्रो मुलुकका पर्यटक हवाई मार्ग भएर मुस्ताङ पुगी फर्कनका लागि टिकट बुकिङ हुन थालेको छ ।

स्तरोन्नतिका लागि भन्दै मुस्ताङलाई सडक सञ्जालसँग जोड्ने बेनी-जोमसोम सडकको विभिन्न ठाउँमा दैनिक आठ घण्टा बन्द हुने गरेको छ । अहिले सडक मार्ग भएर पनि मुस्ताङ पुग्ने पर्यटकको सङ्ख्या बढ्न थालेको छ । घाँस प्रहरी चौकीका अनुसार दैनिक एक हजार ५०० पर्यटक सडक मार्ग भएर मुस्ताङ भित्रिएका छन् ।

चौकीका इन्चार्ज मनबहादुर कार्कीले दैनिक तीन सयको हाराहारीमा मोटरसाइकल, स्कार्पियो जिप र बसमा पर्यटक मुस्ताङ भित्रिएका बताए । मुक्तिनाथ मन्दिर, कागबेनीलगायत धार्मिक र पर्यटकीय स्थलमा चल-पहल बढेको छ । मुक्तिनाथ मन्दिरका कर्मचारी रवीन सुवेदीले गर्मी बढ्नाका साथै कोरोना सङ्क्रमण दर पनि घटेपछि तीर्थयात्रीको आगमन हुन थालेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ