- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) प्रतिनिधि सभाको बैठकबाट पारित भएको विरोधमा आठ कम्युनिष्ट घटकले गरेको बन्द आह्वानका कारण देशभरको जनजीवन प्रभावित भएको छ । एमसीसी पारित भएसँगै एमसीसीको विरोधमा उत्रिदै आएका आठ साना वाम घटकले गरेको आन्दोलनको घोषणा अन्तर्गत आज बन्द आह्वान गरेका हुन् ।
बन्द आह्वानका कारण शैक्षिक संस्थाहरु ठप्प रहेका छन् । विद्यालयहरुले असहज परिस्थितिबीच आज विद्यालय संचालन गर्न नसक्ने जानकारी पठाएका छन् । केही विद्यालयले भने यसअघिदेखि संचालित रहँदै आएको अनलाइन कक्षालाई आज पनि निरन्तरता दिने जनाएका छन् ।
काठमाडौं उपत्यकामा बन्दको सामान्य असर परेको छ । सवारी साधनको चाप घटेको छ । निजी दुई पाङ्ग्रे सवारी साधनहरु भने निर्वाध चलिरहेका छन् ।
उपत्यका बाहिरको हकमा भने सवारी चलेका छैनन् । लामो दूरीका यातायात ठप्प छन् ।
नेपाल बन्द आह्वान गर्नेमा सत्ता समर्थक दल राष्ट्रिय जनमोर्चासमेत रहेको छ । त्यसैगरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, आहुती संयोजक रहेको वैकल्पिक समाजवादी कम्युनिष्ट पार्टी, मोहन विक्रम सिंहको नेपाल कम्युनिष्ट पार्टी मसाल, मोहन वैद्य किरण नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी, सीपी गजुरेलको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेलको नेपाल कम्युनिष्ट पार्टी र कर्णजीत बुढाथोकीको पार्टी रहेको छ ।
त्यसो त आइतबारमात्रै संसद भवन नयाँबानेश्वर वरिपरि ४० भन्दा बढी दलले एमसीसीको विरोध गरेका थिए । अन्य दलहरु भने आपसेआप पछाडि हटेका छन् ।
बन्द आह्वान गर्ने दलहरुले विगतमा पनि निरन्तर एमसीसीको विरोध गर्दै सडक आन्दोलन गर्दै आएका हुन् । उनीहरुले हिजो बेलुकी राँके जुलुस निकालेका थिए ।
यता एमसीसी पारित भएपछि हिजै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खुशीयालीमा दीप प्रज्ज्वलन गरेको थियो ।