arrow

जनकपुरधाम र बेलायती विकास मन्त्रालयबीच हस्ताक्षर

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन १६ सोमबार
274655866_361532869107797_8620207592484076156_n.jpg

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालय र जनकपुरधाम उद्योग वाणिज्य संघबीच आर्थिक विकास, पूर्वाधार विकास र संस्थागत क्षमता विकासको क्षेत्रमा काम गर्ने गरी शहरी उत्थानशिलता परियोजनामा हस्ताक्षर भएको छ । 

सोमबार उक्त समझदारी पत्रमा उपमहानगरपालिकाका मेयर लालकिशोर साह, बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका उपविकास निर्देशक हैदी टावाकोली र जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले हस्ताक्षर गरेका हुन् ।

उपमहानगरपालिका, वाणिज्य संघ तथा नेपाल शहरी उत्थानशिलता कार्यक्रम (एनयूआरपी) बीच सार्वजनिक निजी संवाद मञ्च सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै कार्यक्रम शुरु भएको छ।

आर्थिक वृद्धि र अवसरलाई समान्यायिक वितरण गर्दै उपमहानगर क्षेत्रको विकासमा टेवा पुर्याउने परियोजनाको लक्ष्य रहेको छ । जनकपुरको विकासमा पाईला सार्दै गर्दा शहरी उत्थानशिलता कार्यक्रमले राम्रै सहयोग पुग्ने विश्वास छ, जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साह भन्छन्, ‘जनकपुरको बजार क्षेत्र र ग्रामीण क्षेत्रलाई कसरी जोड्ने, आर्थिक वृद्धि दर कसरी बढाउने, राजश्व संकलन, पर्यटन तथा उद्योगलाई कसरी प्रभावकारी बनाउने यसको खाका परियोजनाबाट तयार हुने छ।’

सम्झौता अनुसार उपमहानगरमा संचालित परियोजनामा जनकपुर उद्योग वाणिज्य संघलाई सँगसँगै लैजाने, प्राविधिक सहयोग गर्ने, आवश्यक खर्च तत्कालै उपलब्ध गराउने, कुनै समस्या भए तत्काल समाधान गर्ने लगायत समझदारी भएको छ । 

कार्यक्रमका लागि आवश्यक कर्मचारीलाई सहयोग गर्ने मेयर साहले प्रतिबद्धता  व्यक्त गरे । निजी क्षेत्र वाणिज्य संघ र सरकारी निकाय सँगसँगै काम गर्ने जनकपुरमा नौलो अभ्यास रहेको मेयर साहले जानकारी गराए ।

निजी क्षेत्रको सहकार्य विना यहाँको विकास नहुने भएकाले वाणिज्य संघलाई प्रमुख रुपमा लिएको र  विगतदेखि नै निजी क्षेत्रसँग सहकार्य गर्न चाहे पनि वातावरण बन्न नसकेको बताए ।

मेयर साहले भने,वेलायत सरकारको सहयोगमा संचालित उत्थानशिलता कार्यक्रमले संगै काम गर्ने अवसर दिएको बताए ।

मधेस प्रदेशको राजधानी जनकपुरलाई महानगर बनाउन उच्च प्राथमिकताका साथ यो कार्यक्रमलाई सफल तुल्याउने मेयर साहले समेत बताए ।

जनकपुरलाई समृद्ध आर्थिक रुपमा समृद्ध बनाउने, सुसंस्कृत र आधुनिक शहर निर्माण गर्ने काममा यो परियोजनाले काम गर्ने बेलायत सरकारको अन्तर्राष्ट्रिय विकास मन्त्रालयका उपविकास निर्देशक हैदी टावाकोलीले जानकारी गराए।

निजी क्षेत्रको सहकार्यमा कार्यक्रम अगाडि बढाइएको र  पर्यटन, उद्योग, कृषि क्षेत्रलाई विकास गर्न उत्थानशिलता कार्यक्रम जनकपुरमा ल्याएको टावाकोलीले बताए ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले  धार्मिक पर्यटन, कृषि र औद्योगिक करणलाई विकास गर्नु पर्ने प्रमुख आवश्यकता रहेको बताए । २०७२ सालदेखि जनकपुर क्षेत्रको अर्थ तन्त्र डामाडोल भएको स्थितिमा उत्थानशिलता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्नेछ।

कार्यक्रम सन् २०२४ सम्म चल्नेछ । दिगो शहरी विकास, लगानी सहजीकरणमा पनि कार्यक्रमको जोड छ । पर्यटन र कृषिको क्षेत्रमा बढी ध्यान दिने कार्यक्रमको लक्ष्य छ । 

जनकपुरलाई अन्तराष्ट्रिय स्तरको शहर बनाउन सके कामबाट अवकाश लिएका विश्वका धेरै व्यक्तिहरु जनकपुरमा बस्न आउने वातावरण बन्नेमा निर्देशक टावाटोलीको विश्वास छ ।

परियोजनालाई आर्थिक अवसरकोविविधिकरण, लगानीको आवश्यकता, वातावरणमैत्री लगानी, शहरी सुशासन, स्थानीय सरकार र वाणिज्य संघको संस्थागत क्षमता बढाउनु फलदायी हुने कार्यक्रमका सल्लाहकार कृष्ण ज्ञवालीले बताए ।



नयाँ