arrow

युक्रेनमा आक्रमण गरेपछि रुसविरुद्ध कुन देशले के-के प्रतिबन्ध लगाए ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १८ बुधबार
sanction_russia.png

काठमाडौं। युक्रेनमा आक्रमण गरेपछि विश्वभरबाट रुसमाथि प्रतिबन्ध लगाइएको छ । संयुक्त राज्य अमेरिका (यूएस), युरोपियन युनियन (ईयू), युनाइटेड किंगडम र क्यानडाले केही रुसी बैंकलाई शनिबार नै स्विफ्टबाट प्रतिबन्ध लगाएका छन् ।

स्विफ्ट एक उच्च सुरक्षायुक्त भुक्तानी सुविधा प्रदान गर्ने प्रणाली हो जसले २ सय देशका ११ हजार बढी वित्तिय संस्थालाई सुविधा प्रदान गर्छ । यसअघि जर्मनीले रुससँगको ठूलो परियोजना नर्ड स्ट्रिम २ ग्यास पाइपलाइनको कार्यमा रोक लगाएको छ ।

रुसमाथि ईयू, स्वीट्जरल्याण्ड, फ्रान्स, जापान, अष्ट्रेलिया, न्युजिल्याण्ड, ताइवान, यूएसए र यूकेलाई ठूला र कडा प्रतिबन्ध लगाएका छन् ।

कस्ता प्रतिबन्ध छन् वित्तिय क्षेत्रमा

ईयू, यूएस, यूके र क्यानडाले संयुक्तरुपमा ६४० अर्ब युरो रुसी सञ्चितलाई त्यहाँको केन्द्रीय बैंकले प्रयोग गर्न नपाउने बनाएको छ । ईयूले कुनै पनि रुसी संस्थासँग कारोबार नगर्ने भएको छ । अमेरिकाले पनि यस्तै गरेको छ भने रुसी अर्थ मन्त्रालय र राष्ट्रिय सम्पत्ति कोषलाई समेत यो सुचिमा थपेको छ ।

रुसको वित्त क्षेत्रमा ८० प्रतिशत हिस्सा रहेका प्रमुख १० बैंकलाई अमेरिकाले प्रतिबन्ध लगाएको छ जसमा ३० प्रतिशत हिस्सा रहेको एस्बर बैंकसमेत रहेको छ ।

यसबाहेक रुसका अर्का ठूला बैंक भीटीबी, रोसिया,  Promsvyazbank बैंको सम्पत्ती फ्रिज गरिएको छ भने नयाँ व्यायसाय गर्नमा समेत रोक लगाइएको छ ।

यस्तै रुसी राज्यको लगानी भएका कम्पनीहरुलाई ईयू स्टक एक्सचेन्जमा सुचिकृत नगरिने भएको छ ।

कुन र कस्ता व्यक्तिहरूमाथि प्रतिबन्ध

ईयू, अमेरिका र बेलायतले रुसी राष्ट्रपति, उनका विदेशमन्त्री सर्गेई लाभरोभ र रक्षामन्त्री सर्गेई शोइगु, एफएसबीका सुरक्षा प्रमुख अलेक्ज्याण्डर बोर्टनिकोभ, सशस्त्र सेना प्रमुख भ्यालेरी गेरासिमोभ र सुरक्षा परिषद्का सदस्यहरूको सम्पत्ती फ्रिज गरेको छ ।

यस्तै ईयूले रूसको संसद डुमाका सबै ३५१ सांसद माथि प्रतिबन्ध लगाएको छ भने, अमेरिका, बेलायत,अष्ट्रेलिया, जापान र न्युजिल्याण्डले केही सांसदमाथि प्रतिबन्ध लगाएका छन् ।

दर्जन भन्दा बढी अर्बपति र पुटिनको शासनसँग सम्बन्ध राख्नेहरुमाथि समेत प्रतिबन्ध लागेको छ । जसमा एन्ड्री पेटरुसेभ (तेल कम्पनी रोजनेफ्ट), पेट्र फ्राडकोभ (प्रोमस्भ्याजबैंक), युरी स्ल्युसर (युनाइटेड एयरक्राफ्ट), बोरिस रोटेनबर्ग (ग्यास पाइपलाइन कम्पनी एसएमपी), डेनिस बोर्टनिकोभ (भीटीबी बैंक) र पुटिनकी छोरी कटरिनाका पूर्व पति किरिल शमालोभको सम्पत्ति रोक्का गरिनुका साथै विश्वभर यात्रा प्रतिबन्धको सूचीमा राखिएको छ। 

अमेरिकाले सरकारी स्वामित्वको भीटीबी र एस्बर बैंकका उच्च अधिकारीहरूमाथि समेत प्रतिबन्ध लगाएको छ। क्यानडा र अष्ट्रेलियाले समेत थुप्रै अर्बपतिहरुमाथि प्रतिबन्ध लगाएको छ ।

उद्योग र यातायात

अमेरिका, बेलायत र ईयूले रुसी एयरलाइन्स र निजी जेटहरूलाई आफ्नो वायु क्षेत्रबाट प्रतिबन्धित गरिसकेको छ । एरोफ्लोटले युरोपेली गन्तव्यहरूमा सबै उडानहरू रद्द गर्ने बताएको छ भने धेरै युरोपेली एयरलाइन्सहरूले रुसका लागि उडानहरु रोकिसकेका छन् ।

अमेरिकाले रुसी ऊर्जा कम्पनी ग्याजप्रोम, तेल पाइपलाइन कम्पनी ट्रान्सनेफ्ट र पावर कम्पनी रुसहाइड्रोका साथै देशका ठूला मालवाहक, रेल र टेलिकम कम्पनीहरूलाई आफ्नो ऋण बजारबाट प्रतिबन्ध लगाएको छ।

ईयूले रुसमाथि विमान र उड्डयन पार्टपुर्जाको निर्यातमा प्रतिबन्ध लगाएको छ, यसकासाथै सेमीकन्डक्टर, कम्प्युटर, टेलिकम र सूचना सुरक्षा उपकरण र सेन्सरलगायत उच्च प्रविधियुक्त वस्तुहरूको निर्यातमा समेत प्रतिबन्ध लगाएको छ ।

खेलकुद र अन्य प्रतिबन्धहरू

यूइएफए च्याम्पियन्स लिगको फाइनल सेन्ट पिटर्सबर्गबाट ​​पेरिस सारिएको छ। यस्तै फिफा र युइएफएले रुसी क्लब र राष्ट्रिय टोलीलाई सबै प्रतियोगिताबाट निलम्बन गरेको छ ।

फर्मुला वन ग्रान्ड प्रिक्स र रुसमा हुने सबै विश्वकप स्कीइङ कार्यक्रमहरू रद्द गरिएको छ। यस्तै रुसलाई युरोभिजन गीत प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको छ । अन्तर्राष्ट्रिय चेस महासंघले करिब २०० देशका टिन्ससहितको ४४औँ चेस ओलम्पियाड अब रुसमा आयोजना नगर्ने बताएको छ ।

रुसमा संकट : नागरिक भन्छन्- तिर्ने पैसा छैन, मिल्यो भने देश छोड्थेँ

यी र नयाँ थपिँदै गरेका रुसमाथिका प्रतिबन्धले रुसलाई ठूलो संकतर्फ धकेलिरहेका छन् । 

यसअघि नै त्यहाँका नागरिकहरुले आफुहरुले प्रतिबन्धका असर भोग्न थालिसकेको बताएका छन् । 

रुसले युक्रेनमाथिको आक्रमणलाई निरन्तरता दिएमा विश्व समुदायबाट ठूलो दूरीको सामाना गर्दै गम्भीर संकट झेल्नु पर्ने अवस्था आउन सक्ने देखिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ