arrow

जनकपुरमा एमालेका दुई नगर कार्यसमिति, रघुवीर र यदुवंशका आफ्ना समूह 

logo
निरञ्जनकुमार साह, 
प्रकाशित २०७८ फागुन १८ बुधबार
janakup.jpg

जनकपुर । नेकपा एमाले जनकपुर नगरमा दुई वटा एमालेका समूह सक्रिय छन् । नगर अधिवेशनबाट निर्वाचित शुभनारायण मण्डल नेतृत्वको एउटा नगर कमिटी छ भने सुरेन्द्र भण्डारीलाई संयोजक बनाएर अर्को एमाले समूह छुट्टाछुट्टै क्रियाशील भएको छ ।

मंगलबार जनकपुरधाममा एमालेको नगर कमिटी बैठक बस्यो । त्यसअघि सोमबार नै पिडारी चोकमा एमालेकै बैठक बसेको थियो । फरक फरक ठाउँमा फरक फरक कार्यक्रम गर्ने यो नेकपा एमाले हो । दुवैले आ–आफ्नो कमिटी आधिकारीक भन्दै आएका छन् । 

भण्डारी नेतृत्वको नेकपा एमालेको नगर कमिटीको उपाध्यक्षमा सन्तोषकुमार महतो, सचिवमा राजु साह र उपसचिवद्वयमा रोका मिश्रा र दिपनारायण कुमार साह निर्वाचित भएका छन् ।
 
८५ सदस्यीय नगर कमिटीका संयोजक भण्डारीले आफूहरु आधिकारीक भएको दाबी गरेका हुन् । केही सदस्य यता उता नगरेर बसेकोले मण्डल समूहमा १० प्रतिशत मान्छेमात्रै रहेको संयोजक भण्डारीले बताए ।
 
भण्डारीले पोलिटब्युरो सदस्य नेतृ जुलीकुमारी महतो, धनुषा इन्चार्ज रामचन्द्र मण्डल, प्रदेश सांसद किशोरी साह कमल, सचिव तेजनारायण यादव, गंगाराम यादव सहितको उपस्थितिका बीच भएको नगर अधिवेशन मान्य रहेको दाबी गरे ।

सोमबार भएको भनिएको अर्को समूहको नगर अधिवेशन आधिकारिक नरहेको भन्दै भ्रममा नपर्न पार्टीका सबै तहसँग भण्डारीले आग्रह गरे ।

आफ्नो पक्षको अधिवेशनमा २५ मध्ये २३ वडा कमिटीका सदस्यहरुको उपस्थिति रहेकाले अधिकारिक रहेको उनले दाबी गरे । 

यता, सोमबार एमाले जनकपुरधाम उपमहानगरपालिकाको प्रथम नगर अधिवेशनबाट पनि सर्वसहमत रूपमा ८५ सदस्यीय कमिटी गठन गरिएको थियो । शुभनारायण मण्डल नेतृत्वको नेकपा एमालेको नगर कमिटीको उपाध्यक्षमा महेन्द्रप्रसाद साह, सचिवमा लक्ष्मेश्वर यादव, सहसचिवद्वयमा जय प्रकाश साह र रीतादेवी साह रहेका हुन् ।

सोमबार संयोजक तोकिएका शुभनारायण मण्डलले आफूहरु नै पार्टीको संस्थापन भएको बताए । अर्को टोली माथिदेखि नै समानान्तर कमिटी बनाएर गइरहेकाले त्यो पार्टी नीति, विधि र पद्धति विपरीत रहेको मण्डलको भनाइ छ ।

उनले यसरी विभाजित भएर जाँदा जनतामा नैराश्यता छाएकाले एउटै भएर जाने गरी छलफल चलिरहेको पनि बताए । केन्द्रीय कमिटी बैठकका निर्णय, सर्कुलर अनुसार नै पार्टी काममा रहेकाले अर्को पार्टी छ–छैन भन्ने विषय महत्वपूर्ण नभएको मण्डलले जानकारी गराए । 

जनकपुरधाम नगरमा पार्टीका केन्द्रीय सदस्य यदुवंश झा र सचिव रघुवीर महासेठका समूहले छुट्टाछुट्टै अधिवेशन गरी समानान्तर कार्यसमिति गठन गरेका हुन् ।

झा पक्षधरका मण्डल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर–१३ का तत्कालीन वडाध्यक्ष हुन् । उनी भ्रष्टाचार आरोपमा निलम्बन भइसकेका छन् । हालसम्म उनी भ्रष्टाचार मुद्दा खेप्दै नै आएका छन् भने महासेठ पक्षधरका भण्डारी ठेकेदार र व्यवसायी हुन् ।

यता विवादबारे जिल्ला अध्यक्ष राजकिशोर यादवले पार्टीभित्र गुट उपगुट हावी भएकोले जिल्लाको विभिन्न स्थानीय तहमा विवाद र जनकपुरधाम उपमहानगरमा समानान्तर कमिटी नै गठन हुनु गलत भएको जानकारी दिए ।



नयाँ