arrow

माया घरको समर्पण

logo
युवराज रेग्मी, 
प्रकाशित २०७८ फागुन २१ शनिबार
maya-ghar-nepal.jpg

झापा । करिब चार वर्षअघि २०७४ सालमा पूर्वको हरितनगरी इटहरीमा स्थापना भएको ‘माया घर नेपाल’ मानसिक रोगी, असहाय, हिंसा पीडित तथा सडक मानवहरुको उद्दार र सेवामा समर्पित रहँदै आएको एक गैरनाफामूलक गैरसरकारी संस्था हो । 

इटहरी २ मा अवस्थित माया घरद्वारा हालसम्म ४ हजारजना भन्दा बढी बेसहारा मानिसहरुको पुनःस्थापना तथा पारिवारिक मिलन भइसकेको छ । हाल संस्थामा करिब  ११५ जनाले आश्रय लिइरहेका छन् । मायाघरमा आश्रयमा बस्नेहरुमा  हिंसा पीडित, असहाय, मानसिक रोगी तथा सडकमा आश्रित सडक मानवहरु रहने गर्दछ्न् ।

यस्ता बेसहारा मानिसहरुलाई  गाँस, बास र कपासलगायत उनीहरुको स्वास्थ्य उपचारमा पनि अत्यधिक खर्च हुने गरेको छ । मायाघरकी अध्यक्ष राधिका दासीका अनुसार माया घर संचालनमा मासिक करिब  ७ देखि ८ लाख रुपैयाँसम्म खर्च हुने गरेको छ ।

यस्तो खर्च जुटाउन हालसम्म आइपुग्दा स्थानीय सरकार, विभिन्न संघसंस्था तथा सहयोगी दाता व्यक्तिहरुको सहयोगमा खर्चको व्यवस्थापन हुँदै आएको छ । माया घरमा आश्रयमा रहने व्यक्तिहरुको पालन पोषण  एवं व्यवस्थापन खर्चहरु सधै सहयोग जुटाएर गर्नुपर्दा धेरै समस्या हुने गरेको संस्थाकी आजीवन सदस्य बिजया प्याकुरेलले बताइन् ।

विभिन्न समयमा बिनियोजन अन्तरगत स्थानीय सरकारबाट प्राप्त हुने सहयोगले मात्र मायाघर संचालन गर्न पर्याप्त नभएकाले आवश्यक खर्चका निमित्त आम्दानीको स्रोत दीगो बनाउन र माया घरको आर्थिक संकटलाई कम गर्न  १ करोडको अक्षयकोष स्थापना गर्ने लक्ष्य माया घरले राखेको अध्यक्ष दासी बताउँछिन् । 

‘सडक मानवरहित नेपाल राष्ट्रिय  अभियान’ कार्यक्रम अघि सार्दै उक्त कार्य सम्पन्न गर्न १ करोडको अक्षयकोष स्थापनार्थका निम्ति माया घर नेपालले यही फागुन २१ देखि २८ गतेसम्म श्रीमद्भागवत जीवन दर्शन ज्ञान महायज्ञ आयोजना थालेको छ ।  

संस्थाले बिहीबार धरानमा पत्रकार सम्मेलन गर्दै माया घरलाई थप व्यवस्थित बनाउन पहिलो चरणमा १ करोड रुपैयाँ संकलन गर्ने र उक्त रकमको ब्याजबाट आश्रितहरुको सेवा गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागेको संस्थाकी आजीवन सदस्य बिजया प्याकुरेलले जानकारी गराइन् ।

 फागुन २१ गते इटहरी  २ स्थित आयुर्वेदिक टोलमा रहेको मायाघर परिसरमा महायज्ञको औपचारिक उद्घाटन हुने अध्यक्ष दासीले जानकारी गराइन् । 
 महायज्ञ अवधिभर एक सातासम्म दैनिक कथा वाचन तथा जीवन दर्शन सम्बन्धी कार्यक्रमहरु हुने उनले बताइन् । 

अध्यक्ष दासीका अनुसार माया घर के हो भन्ने बुझाउनुका साथै दायित्व बोध गराउने उद्देश्य लिएर पुराण आयोजना गरिएको हो । महायज्ञ कार्यक्रमको लागि धरानका संयोजकमा होप धरानका अध्यक्ष निश्चल मोहन पालिखे, कलश यात्राको संयोजकमा दुर्गा काफ्लेलाई जिम्मेवारी दिइएको छ । 

फागुन २१ गते बिहान ८ बजे इटहरीबाट पकली, चतरा हुँदै सप्तकोशीमा जल उठाएर धरान हुँदै यज्ञस्थलमा सहभागी भएको आयोजकले जनाएकोछ । 
धरानका संयोजक पालिखेका अनुसार  शनिबार बिहान ११ बजे सिद्धि नेवाः परिषदबाट १०८ वटा कलश यात्राले धरान नगर परिक्रमा गरिने बताए  । 

साथै इच्छुकहरुलाई यज्ञस्थलसम्म लैजान निःशुल्क पारवहनको  व्यवस्था रहेको उनले बताए । कलश यात्राकी संयोजक काफ्लेका अनुसार धरानका सबै संघसंस्थाहरुलाई कलश यात्रामा सहभागीताको लागि पत्राचार र पहल गरिएको बताइन् । 

पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋर्षि राई, नेपाल पर्यटन बोर्डका सदस्य कृष्ण साहले मन्तव्य व्यक्त गर्दै माया घर नेपालले मानवीय सेवामा पुर्याएको योगदानको प्रसंशा गरेका थिए । 

माया घरको ६ कट्ठा जग्गामा आश्रयस्थल बनाइएको छ । संस्थालाई दीर्घकालीन रुपमा व्यवस्थापन गर्न लगभग ४ करोडको भवन अनुमानित गरिएको छ । माया   घरमा यसअघि प्रदेश सरकारबाट प्राप्त भएको ३० लाख बजेटबाट माया घरको  कम्पाउण्ड वाल निर्माण सम्पन्न  भएको थियो ।

महायज्ञमा संस्थाकी अध्यक्ष राधिका दासीले पुराण कथा वाचन गर्नेछिन् । कार्यक्रम भब्यताका साथ सम्पन्न गर्न हाल प्रचार प्रसारलाई तीव्र बनाइएको छ । 

कार्यक्रममा सहभागी हुनका निम्ति सम्पूर्ण  संघ सस्थाका प्रतिनिधि, दलगत प्रतिनिधि, सामाजिक क्षेत्रमा आबद्ध संस्थाहरुलगायत सम्पूर्ण धर्मानुरागी  भक्तजनलाई  आमन्त्रण गरिएको छ । 

कार्यक्रमको प्रत्यक्ष प्रसारण राष्ट्रिय टेलिभिजन, स्थानीय टेलिभिजन तथा फेसबुक लाइभमार्फत प्रत्यक्ष रुपमा पनि हेर्न सकिने प्याकुरेलले बताइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ