arrow

धूम्रपान छोड्नुपर्ने एक सय कारण

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २२ आइतबार
smoke-who.JPG

सुर्तीले हरेक वर्ष ८० लाख मानिसको ज्यान लिन्छ । यो वर्ष धूम्रपान नगर्नेको तुलनामा धूम्रपान गर्नेहरूमा कोभिड-१९ रोग झनै गम्भीर हुने प्रमाणहरू बाहिर आएसँगै लाखौं मानिसमा सुर्ती छोड्ने चाहानालाई बढायो । सुर्ती छोड्ने कुरा चुनौतीपूर्ण हुनसक्छ, विशेषगरी यो महामारीले उत्पन्न गराएको थप सामाजिक र आर्थिक तनावमा त झनै चुनौतीपूर्ण हुन्छ । तर सुर्ती छोड्ने धेरै कारण छन् ।

सुर्ती छोड्दाको फाइदाहरू चाँडै देखिन्छन् । धूम्रपान छोडेको केवल २० मिनेटपछि तपाईंको मुटुको धड्कनको दर घट्छ । १२ घण्टाभित्र तपाईंको रगतमा भएको कार्बनमोनोक्साइड स्तर घटेर सामान्य हुन्छ । २ देखि १२ हप्ताभित्र तपाईंको रक्तसञ्चारमा सुधार आउँछ र फोक्सोले गर्ने कार्य थप प्रभावकारी बन्छ । १ देखि ९ महिनाभित्र खोकी लाग्ने र स्वाँस्वाँ हुने अवस्था घट्छ । ३ देखि १५ वर्षभित्र तपाईंको स्ट्रोकको जोखिम घटेर धूम्रपान नगर्नेहरूकै स्तरमा आइपुग्छ । १० वर्षभित्र फोक्सोको क्यान्सरबाट मृत्यु हुने दर धूम्रपान गर्नेको तुलनामा घटेर आधा आउँछ । १५ वर्षभित्र तपाईंको मुटु रोगको जोखिम घटेर धूम्रपान नगर्नेहरूको स्तरमा आइपुग्छ । यति मात्र होइन, सुर्ती छोड्न यहाँ अन्य केही कारणहरू छन् । 

१. धूम्रपान गर्नेहरूमा कोभिड—१९ रोग झनै गम्भीर हुने र मृत्यु हुने अधिक जोखिम हुन्छ । 
२. हरेक कुरा गन्हाउँछ - तपाईंको छाला, पूरै घर, लुगा र औँलाहरू अनि सास सबैकुरा गन्हाउँछन् ।
३. सुर्तीले तपाईंको दाँत पहेँलो हुन्छ र दाँतको वरिपरि धेरै फोहर (दन्तेलेउ) बढाउँछ ।
४. धूम्रपान र धूँवारहित सुर्तीको सेवनले सास गन्हाउने हुन्छ ।
५. सुर्तीले तपाईंको छालामा चाउरीपन आउँछ, उमेरभन्दा चाँडै बुढो देखाउँछ । सानै उमेरबाट धूम्रपान गर्दा छालाको प्रोटिनमा ह्रास हुने र यसले गर्दा छालाको लचकता हराउँदै जाने, यसमा हुने भिटामिन ए कमी हुने र रगतको प्रवाहमा अवरोध आउने हुन्छ । 
६. चाउरीपन ओठ र आँखा वरिपरि धेरै देखिन्छ, अनि सुर्तीले छालालाई खस्रो र सुख्खा पनि बनाउँछ ।
७. धूम्रपानले सङ्क्रामक नहुने तर छाला चिलाउने र शरीरभरि रातो धब्बाहरू उत्पन्न गराउने रोग सोरायसिसको जोखिम बढाउँछ ।

सुर्तीले तपाईंको मात्र नभएर तपाईंका साथी र परिवारको स्वास्थ्यलाई पनि जोखिममा पार्छ ।
८. अरुले गरेको धूम्रपानको असरले हरेक वर्ष १० लाखन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । 
९. धूम्रपान नगर्ने तर अरुले गरेको धूम्रपानको सम्पर्कमा आउने व्यक्तिहरूमा फोक्सोको क्यान्सर हुने जोखिम बढ्छ ।
१०. आगलागीका घटना र त्यसबाट मृत्यु हुने एउटा प्रमुख कारण चुरोट पनि हो ।
११. ई-सिगरेटहरूले पनि छेउछाउमा रहेका धूम्रपान नगर्ने अन्य व्यक्तिमा निकोटिन र हानिकारक रसायनको सञ्चार गर्दछ ।
१२. अरुले गरेको धूम्रपानको सम्पर्कमा आउँदा यसले क्षयरोगको सुसुप्त सङ्क्रमणलाई सक्रिय रोगको रूपमा विकास हुने जोखिम बढाउँछ ।
१३. अरुले गरेको धूम्रपानको सम्पर्कमा आउँदा यसले टाइप २ मधुमेह विकास गराउँछ ।

बालबालिकाको वरिपरि धूम्रपान गर्दा वा ई-सिगरेट पिउँदा यसले उनीहरूको स्वास्थ्य र सुरक्षाका लागि जोखिम निम्त्याउँछ 
१४. धूम्रपान गर्नेका छोराछोरीको फोक्सोको कार्य क्षमता कमजोर हुन्छ र वयस्क अवस्थामा पुगेपछि उनीहरूलाई श्वासप्रश्वाससम्बन्धी दीर्घ समस्याले सताउँछ ।
१५. बालबालिका ई-सिगरेटको तरल पदार्थको सम्पर्कमा आउँदा यसले उनीहरूमा गम्भीर जोखिम बढाउन सक्छ । ई-सिगरेट पिउने प्रयोग गरिने उपकरणबाट चुहावट हुने वा बालबालिकाले उक्त तरल पदार्थ निल्ने जोखिम रहन्छ ।
१६. ई-सिगरेटहरूले गम्भीर चोटपटक गराउन सक्छ । यसले आगो चाँडो समात्ने वा विष्फोट हुने हुँदा तपाईंलाई पोल्ने वा डढ्ने जोखिम हुन्छ ।
१७. अरुले गरेको धूम्रपानको सम्पर्कमा आउने विद्यालय जाने उमेरका बालबालिका दम रोग लाग्ने, सास लिने मार्गदेखि फोक्सोसम्म सूजन हुने जोखिममा हुन्छन् ।
१८. घरमा अरुले गरेको धूम्रपानको सम्पर्कमा आउने २ वर्षभन्दा कम उमेरका बालबालिकामा मध्य-कानको रोग लाग्ने र यसले श्रवणशक्ति घटाउने तथा बहिरोपन गराउने जोखिम रहन्छ । 
१९. आमाबुबाले धूम्रपान छोड्दा धूम्रपानको धुवाँबाट बालबालिकामा हुने श्वासप्रश्वास रोगहरू (जस्तै दम) र कानको सङ्क्रमण जस्ता धेरै रोगको जोखिम घटाउँछ ।

सुर्ती सेवनले नकारात्मक सामाजिक परिणामहरू निम्त्याउँछ

२०. आफ्नो छोराछोरी, साथी र आफन्त÷प्रियजनहरूको लागि तपाईं उदाहरण बन्न चाहानुहुन्छ ।
२१. सुर्ती सेवनले सामाजिक अन्तरक्रिया र सम्बन्धहरूमा नकारात्मक असर पार्छ ।
२२. सुर्ती छोड्नु भनेको जुनसुकै ठाउँ पनि तपाईंका लागि खुला हुनु हो-तपाईंले एक्लिएको महसुस गर्नुपर्दैन वा धूम्रपानको बाहिर दौडनु पर्दैन, र सामाजिक रूपमा सहजै घुलमिल हुन सक्नुहुन्छ ।
२३. सुर्ती छोड्दा यसले तपाईंलाई थप उत्पादक बनाउँछ-पहिले जस्तो जतिबेला धूम्रपान गर्नकै लागि भनेर गरिरहेको काम रोक्नुपर्दैन ।

यो महङ्गो छ-तपाईंले आफ्नो पैसा अरु महत्वपूर्ण कुराहरूमा खर्चन सक्नुहुन्थ्यो 
२४. धूम्रपान गर्नेहरूले विश्वभर दैनिक औसतमा १४ लाख अमेरिकी डलर व्यक्तिगत खर्चमा (चुरोट किन्न, औषधिउपचार गर्न) उडाउँछन् । धूम्रपानले तथा अरुले छोडेको धुवाँको असरले रोग उत्पन्न हुँदा आम्दानीमा पनि प्रभाव पार्छ भन्ने कुरा एक अध्ययनले देखाएको छ ।
२५. सुर्ती सेवनले कामदारको स्वास्थ्य र उत्पादकत्वमा असर गर्छ । यसबाट उत्पन्न असरले उनीहरू काममा जान नसक्ने हुन्छन् ।
२६. सुर्ती सेवनले घरको खाना र आवास जस्ता आधारभूत आवश्यकतामा खर्च गर्नुपर्ने पैसालाई सुर्तीमा खर्च भएर गरिबी बढाउँछ ।
२७. सुर्ती सेवनले विश्व अर्थतन्त्रमा भार बढाउँछ । विश्वभर वर्षको करिब १४ खर्ब अमेरिकी डलर सुर्तीले उत्पन्न गरेका रोगहरूको औषधि उपचारमा खर्च हुन्छ भने यसबाट उत्पन्न रोग र मृत्युले मानव पूँजीमा क्षय गराउँछ ।

धूम्रपानले प्रजनन क्षमता घटाउँछ
 २८. धूम्रपान गर्नेहरूमा बाँझोपन हुने सम्भावना धेरै हुन्छ । धूम्रपान छोड्दा गर्भवती हुनका लागि देखिने कठिनाइ, परिपक्व नभइकन बच्चा जन्मने, कम तौलको बच्चा जन्मने र गर्भपात हुने जस्ता समस्या घटाउँछ ।
२९. धूम्रपानले लिङ्ग उत्तेजित नहुने समस्या निम्त्याउँन सक्छ । धूम्रपानले लिङ्गमा हुने रक्तसञ्चारमा अवरोध पु¥याउँछ र लिङ्ग उत्तेजित हुन नसक्ने गराउँछ । धूम्रपान गर्नेमा लिङ्ग उत्तेजित नहुने अवस्था धेरै सामान्य हो र मानिसले जीवनको पूर्वाधमा नै धूम्रपान बन्द नगरे यो स्थायी समस्या बन्न सक्छ ।
३०. धूम्रपानले शुक्रकीटको संख्या, गतिशीलता क्षमता र आकारमा ह्रास गराउँछ ।

सबै प्रकारका सुर्तीजन्य पदार्थहरू घातक छन् 
३१. विश्वमा हरेक वर्ष ८० लाखभन्दा बढी मानिसको मृत्यु सुर्तीको कारण हुन्छ ।
३२. सुर्ती सेवन गर्नेहरूमध्ये आधाको ज्यान सुर्तीले नै लिन्छ । सुर्तीको प्रकार जुनसुकै भएता पनि, यसको सेवनले तपाईंको स्वास्थ्य कमजोर गराउँछ र रोगहरू बढाउँछ ।
३३. हुक्का पिउनु पनि अन्य सुर्तीजन्य पदार्थहरूको सेवन जस्तै हानिकारक हुन्छ ।
३४. सुर्ती (खैनी) चपाउनाले मुखको क्यान्सर, दाँत खिइने, दाँत पहेँलो हुने, गिजामा सेतो दाग र रोग निम्त्याउँछ ।
३५. धुवारहित सुर्तीमा हुने निकोटिन चुरोट पिउँदाको भन्दा धेरै सजिलै अवशोषित हुन्छ र यसको लत बढ्ने सम्भावना धरै हुन्छ ।

सुर्तीको खरिद गर्दा तपाईंले किसान तथा बालबालिकाको शोषण र रोग तथा मृत्युलाई बढाउने उद्योगलाई आर्थिक सहयोग गर्दै हुनुहुन्छ ।
३६. सुर्ती खेती गर्नेहरू निकोटिन छालाबाट छिर्ने र अत्यधिक कीटनाशक तथा सुर्तीका धुलोसँग सम्पर्कमा आउँदा उत्पन्न हुने कमजोर स्वास्थ्यको जोखिममा हुन्छन् ।
३७. केही मुलकहरूमा बालबालिकालाई सुर्ती खेतीमा काम लगाइएको हुन्छ । यसले उनीहरूको स्वास्थ्यमा मात्रै असर नगरेर विद्यालय जान सक्ने क्षमतालाई पनि असर गर्छ ।
३८. सुर्ती सेवनले गरिबीलाई झनै बढाउँछ । सुर्ती सेवन गर्नेहरू बिरामी हुने र सुर्तीका कारण हुने क्यान्सर, मुटु रोग, श्वासप्रश्वाससम्बन्धी रोग र अन्य रोगहरूबाट अल्पायुमा नै ज्यान गुमानउने उच्च जोखिममा हुन्छन् । यसले परिवारको अति आवश्यक पर्ने आम्दानीबाट परिवारलाई वञ्चित गराउँछ र स्वास्थ्य उपचारको लागि अतिरिक्त खर्च बढाउँछ ।
३९. समग्र सुर्ती क्षेत्रमा रोजगार भएकाहरूमध्ये अधिकतरले धेरै कम कमाउँछन् भने ठूला सुर्ती कम्पनीहरूले अत्यधिक नाफा कमाउँछन् ।

तताइने सुर्तीजन्य पदार्थहरू (Heated Tobacco Products) स्वास्थ्यको लागि हानिकार हुन्छन् 
४०. तताइने सुर्तीजन्य पदार्थहरूबाट उत्पन्न हुने विषाक्त तत्वहरूसँग यसका प्रयोगकर्ताको सम्पर्क रहन्छ जसमध्ये धेरैले क्यान्सर गराउँछन् ।
४१. तताइने सुर्तीजन्य पदार्थहरू पनि सुर्ती भएकै पदार्थ हुन् । तसर्थ परम्परागत सुर्तीजन्य पदार्थ छोडेर तताइने सुर्तीजन्य पदार्थ सेवन गर्नु भनेको सुर्ती पूरै छोडेको होइन ।
४२. परम्परागत चुरोटको तुलनामा तताइने सुर्तीजन्य उत्पादन कम हानिकारक हुन्छ भन्ने दाबीलाई समर्थन गर्ने पर्याप्त प्रमाण उपलब्ध छैनन् ।
ई-सिगरेटहरू स्वास्थ्यको लागि हानिकारक छन् र सुरक्षित छैनन्

रहस्य प्रष्ट छ - सुर्ती उद्योगहरूले कमजोर वर्गलाई लक्षित गर्दछ
४३. ई-सिगरेट पिउने बालबालिका र किशोरकिशोरीहरूले पछि गएर चुरोट पिउने सम्भावना कम्तीमा दुई गुणा हुन्छ ।
४४. ई-सिगरेटको सेवनले तपाईंमा मुटु रोग र फोक्सोको समस्याको जोखिम बढाउँछ ।
४५. ई-सिगरेटमा हुने निकोटिन अत्यधिक लत बसाउने लागूऔषध हो जसले बालबालिकाको विकास हुँदै गरेको मष्तिष्कमा क्षति गर्छ ।

सुर्ती सेवन र त्यसमा पनि विशेषगरी धूम्रपानले तपाईंको प्राणवायु लैजान्छ
४६. क्यान्सरबाट विश्वभर हुने मृत्युको २५ प्रतिशत मृत्युको कारण सुर्ती हो ।
४७. धूम्रपान नगर्नेभन्दा धूम्रपान गर्नेलाई जीवनकालमा फोक्सो क्यान्सर हुने सम्भावना २२ गुणा बढी हुन्छ । विश्वभर फोक्सोको क्यान्सरबाट हुने कुल मृत्युमा दुई तिहाइ मृत्यु धूम्रपानले गराउँछ ।
४८. धूम्रपान गर्ने पाँचमध्ये एक जनामा श्वास फेर्न कठिन हुने, फोक्सोको दीर्घ रोगको लाग्ने हुन्छ । विशेषगरी बाल्यकाल र किशोरावस्थामा धूम्रपान सुरु गर्नेमा यो जोखिम बढी हुन्छ, किनकि धूम्रपानले फोक्सोको वृद्धि र विकासलाई धेरै सुस्त बनाउँछ ।
४९. धूम्रपानले वयस्क मानिसमा दम बढाउँछ, उनीहरूको क्रियाकलापलाई सीमित पार्छ, अपाङ्गता बढाउँछ र आपतकालीन उपचार चाहिने गम्भीर दम रोगको जोखिम बढाउँछ ।
५०. धूम्रपानले क्षयरोग सुसुप्त अवस्थाबाट सक्रिय अवस्थामा परिणत हुने जोखिम दुई गुणाभन्दा धेरैले बढाउँछ, र यसले रोगको प्राकृतिक वृद्धि गतिलाई प्रभावित पार्दै झनै तीव्र बनाउँछ । विश्वका करिब एक—चौथाइ जनसङ्ख्यामा सुसुप्त क्षयरोग रहेको छ । 

सुर्तीले मुटु फुटाउँछ
५१. दिनको केही खिल्ली चुरोट, कहिलेकाहीँको धूम्रपान वा अरुले गरेको धूम्रपानसँगको सम्पर्कले मुटु रोगको जोखिम बढाउँछ ।
५२. धूम्रपान गर्नेमा स्ट्रोक हुने जोखिम दुई गुणा धेरै र मुटु रोग हुने जोखिम चार गुणा धेरै हुन्छ ।
५३. धूम्रपानले मुटुको धमनीहरूलाई क्षति गर्छ, रगतमा बोसो बढ्ने र ढिक्का बढ्ने हुन्छ, र यसले रक्त सञ्चारमा कमी ल्याउँछ र अन्ततः हृदयघात र स्ट्रोकहरू गराउँछ ।
५४. निकोटिन र सुर्तीजन्य पदार्थहरूको सेवनले मुटु तथा रक्तनली रोगको जोखिम बढाउँछ ।

सुर्तीले २० प्रकारका क्यान्सर गराउँछ
५५. धूम्रपान र धुवाँरहित सुर्तीको सेवनले मुखको क्यान्सर, ओठको क्यान्सर, घाँटीको क्यान्सर र अन्ननलीको क्यान्सर गराउँछ ।
५६. घाँटीमा क्यान्सर भएको भागको शल्यक्रियाबाट हटाउँदा बनाउन घाँटीबाट श्वासनलीमा सानो प्वाल ट्राकियोस्टोमी गर्नुपर्ने हुनसक्छ । 
५७. धूम्रपान गर्नेहरूमा गम्भीर म्येलोइड लुकिमिया (myeloid leukaemia), नाक तथा नाकको भित्री भाग (nasal and paranasal sinus cavities) को क्यान्सर, कोलोरेक्टल (colorectal), मिर्गाैला, अग्न्याशय (Pancreas), पेट र पाठेघरको क्यान्सर, र तल्लो मुत्रनलीको (मुत्राथैली, मुत्रवाहिनी नली र रेनल पेल्भिस) क्यान्सर विकास हुने उच्च जोखिम हुन्छ ।
५८. केही अध्ययनले धूम्रपान र स्तन क्यान्सरको बढ्दो जोखिमबीच पनि सम्बन्ध हुने देखाएका छन् । विशेषगरी, अत्यधिक धूम्रपान गर्ने र पहिलो गर्भधानअघि नै धूम्रपान गर्ने महिलाहरूमा यस्तो जोखिम हुन्छ ।
५९. धूम्रपानले हुमन पापिलोमाभाइरसबाट सङ्क्रमित महिलामा पाठेघरको मुखको क्यान्सर हुने जोखिम पनि बढाउँछ ।

धूम्रपान गर्नेमा दृष्टि क्षमता र श्रवण शक्ति हराउने जोखिम धेरै हुन्छ 
६०. धूम्रपानले आखाँको रोगहरू निम्त्याउँछ, र ती रोगको उपचार नगरिएमा दृष्टि क्षमता पूर्ण रूपमा गुम्न पनि सक्छ ।
६१. धूम्रपान नगर्नेभन्दा धूम्रपान गर्नेमा उमेरसँगै आखाको नानीको म्याकुला पातलो हुँदै जाने गति तीव्र हुन्छ र पछि गएर दृष्टि पूर्ण रूपमा गुम्ने हुन सक्छ ।
६२. धूपमान गर्नेमा मोतीबिन्दुको जोखिम उच्च हुन्छ । यो भनेको आँखाको लेन्सको धमिलोपन बढेर उज्यालो छेक्ने समस्या हो । मोतीबिन्दुले दृष्टि क्षमतामा हानि गर्छ र दृष्टि फर्काउने एकमात्र विकल्प भनेको शल्यक्रिया हो ।
६३. केही प्रमाणहरूले धूम्रपानबाट ग्लाउको नामक आँखाको रोग लाग्ने देखाएका छन् । यो भनेको आँखामा दबाब बढाउने एउटा अवस्था हो र आँखाको ज्योतिमा क्षति गर्न सक्छ ।
६४. धूम्रपान गर्ने वयस्कहरूले श्रवणशक्ति गुमाउन सक्ने सम्भावना बढी हुन्छ ।

सुर्तीले शरीरका लगभग सबै अङ्गमा हानि गर्छ
६५. जीवनभर धूम्रपान गर्नेहरूको जीवन आयु औसतमा १० वर्ष छोटो हुन्छ ।
६६. चुरोटको प्रत्येक सर्कोसँगै टक्सिन र कार्सिनोजेनहरू शरीरमा प्रवेश गर्दछ । हालसम्मका अध्ययनले कम्तीमा ७० वटा केमिकलले क्यान्सर गराउँछन् भन्ने देखाउँछ ।
६७. धूम्रपान गर्नेहरूमा मधुमेह हुने जोखिम उच्च रहेको छ ।
६८. धूम्रपान डिमेन्सियाको जोखिम कारक तत्व हो । डिमेन्सिया भनेको दिमागी÷मानसिक अवस्था खस्काउँदै लैजाने समस्याहरूको समूह हो ।
६९. डिमेन्सिया समूहको अल्जाइमर्स रोग सबभन्दा धेरै देखिने रोग हो । विश्वभर १४ प्रतिशत अल्जाइमर्सको केसहरू धूम्रपानका कारणले भएको अध्ययनले बताउँछ ।
७०. धूम्रपान गर्ने महिलामा महिनावारीको समयमा बढी पीडा हुन सक्छ र महिनावारी रोकिने लक्षणहरू पनि धेरै गम्भीर देखिन्छन् ।
७१. धूम्रपान गर्ने महिलाहरूमा १ देखि ४ वर्ष छिटो महिनावारी बन्द हुन्छ किनकि धूम्रपानले डिम्बाशयमा डिम्बको उत्पादन घटाउँछ, प्रजनन कार्य हराउँछ र इस्ट्रोजेनको स्तर पनि न्यून हुन्छ ।
७२. सुर्तीको धुवाँले बच्चाको तन्तुहरूमा अक्सिजनको प्रवाहलाई घटाउँछ ।
७३. सुर्तीको सेवनले रक्त सञ्चारलाई सीमिम बनाउँछ, र यसलाई उपचार नगरिए शरीरको तन्तुहरूको मृत्यु (ग्याग्रीन) हुनसक्छ र प्रभावित भागहरू काटेर फाल्नुपर्ने पनि हुनसक्छ ।
७४. सुर्ती सेवनले दाँत तथा गिजामा लाग्ने रोगको जोखिम बढाउँछ । यो भनेको दीर्घ सुजन हुने रोग हो, जसले गिजालाई खियाउँछ, र बङ्गाराको हाडलाई नष्ट गर्छ र दाँत झर्ने गराउँछ ।
७५. धूम्रपान नगर्नेहरू भन्दा धूम्रपान गर्नेहरू शल्यक्रियापछिका जटिलताहरूको बढी जोखिममा हुन्छन् ।
७६. धूम्रपान गर्नेहरूलाई मेकानिकल भेन्टिलेसनबाट हटाउन कठिन हुन्छ । यसो हुँदा उनीहरूको सघन उपचार कक्ष (आईसीयु) र समग्र अस्पतालको बसाइ लामो हुन जान्छ र अन्य सङ्क्रमणप्रतिको जोखिम पनि बढाउँछ ।
७७. धूम्रपान गर्नेहरूले पेट तथा आन्द्राको समस्याको अनुभव धेरै गर्ने हुन्छन्, जस्तै पेटको अल्सर, आन्द्रा सुन्निने, पेट बाउँडिने, निरन्तर झाडापखाला चल्ने, ज्वरो आउने र मलद्वारबाट रगत बग्ने, पेट तथा अन्द्राको क्यान्सर हुने ।
७८. धूम्रपान गर्नेमा हाडको घनत्व घट्दै जाने, सजिलै भाँच्चिने चर्किने र गम्भीर जटिलताहरू अनुभव गर्ने (ढिलो निको हुने वा निको नहुने) सम्भावना बढी हुन्छ ।
७९. सुर्तीमा हुने तत्वहरूले रोगप्रतिरोधी क्षमता कमजोर बनाउँछन्, र धूम्रपान गर्नेहरूमा फोक्सो सङ्क्रमणहरूको जोखिम बढाउँछ ।

८०. स्वरोगप्रतिरक्षा (अटोइम्युन) प्रणालीमा खराबी देखिने वंशाणुगत समस्याको जोखिम भएकाहरूले धूपमान गरेमा उनीहरूमा धेरै रोगहरूको जोखिम रहन्छ, जस्तै जोर्नीहरूमा हुने बाथ, क्रोहन्स रोग, ब्याक्टेरियल मेनिन्जाइटिस, शल्यक्रिया पछिको सङ्क्रमण र क्यान्सर ।
८१. धूम्रपानले रोग प्रतिरक्षा कमजोर (इम्युन कम्प्रोमाइज्ड) भएका व्यक्तिहरूलाई (जस्तै सिस्टिक फिब्रोसिस, मल्टिपल स्कलेरोसिस वा क्यानसर भएकाहरू) रोगसँग सम्बन्धित सह-रूग्णताहरू र अल्पायु मृत्युको उच्च जोखिममा राख्छ ।
८२. सुर्तीको रोगप्रतिरक्षा दबाउने प्रभावहरूले एचआईभी भएका मानिसमा एड्स हुने जोखिम धेरै हुन्छ । एचआईभी पोजेटिभ धूम्रपान गर्ने व्यक्तिहरूले औसतमा १२.३ वर्ष जति आयु गुमाउँछन्, यो भनेको धूम्रपान नगर्ने एचाईभी पोजेटिभको भन्दा दुई गुणा बढी हो ।

सुर्ती र निकोटिन सेवनले तपाईंको बच्चालाई हानि गर्छ
८३. गर्भावस्थामा सुर्ती सेवन र सुर्तीको धुवाँसँगको नियमित सम्पर्कले भु्रणको मृत्यु हुने जोखिम बढाउँछ ।
८४. गर्भावस्थामा धूम्रपान गर्ने वा अरुले गरेको धूम्रपानको सम्पर्कमा आउने महिलाहरूमा गर्भपात हुने जोखिम धेरै हुन्छ ।
८५. सुर्तीको धुवाँमा हुने कार्बनमोनोअक्साइड र धुवाँ आउने तथा धुवाँरहित सुर्तीमा हुने निकोटिनको कारण भु्रणमा अक्सिजन नपुग्दा र सालनाल बिग्रदा मृतजन्म (गर्भमै मृत्यु भएको भ्रुणको जन्म) हुनु पनि सामान्य भएको छ ।
८६. धूम्रपान गर्नेहरूमा गर्भ असामान्य स्थानमा गएर बस्ने उच्च जोखिम हुन्छ । यो भनेको भु्रण पसिसकेको निषेचित डिम्ब पाठेघरभन्दा बाहिर गएर बस्नु हो र यसले आमाको लागि घातक जटिलता निम्त्याउँछ ।
८७. प्रजनन उमेरका महिलाले गर्भवती हुने योजना बनाउँदा वा गर्भवती हुँदा धूम्रपान छोड्ने र आफूलाई अरुले गरेको धूम्रपानको सम्पर्कमा हुनबाट बचाउनु जरुरी हुन्छ ।
८८. ई-सिगरेट सेवनले गर्भवती महिलालाई धेरै जोखिम हुन्छ, किनकि यसले बढ्दै गरेको भ्रुणलाई क्षति गर्न सक्छ ।
८९. धूम्रपान गर्ने, धुवाँरहित सुर्ती सेवन गर्ने वा गर्भावस्थामा अरुले खाएको चुरोटको धुवाँको सम्पर्कमा आउने महिलाबाट जन्मने बच्चा अपरिपक्व जन्मने र कम तौलको जन्मने उच्च जोखिममा हुन्छन् ।

सुर्तीले वातावरणलाई प्रदूषित गर्दछ 
९०. सरकार र स्थानीय निकायले सुर्तीको फोहर सफा गर्न पैसा तिर्छन्, सुर्ती कम्पनीहरूले तिर्दैनन् । वातावरण जोगाउन सुर्ती छोड्नुहोस् ।
९१. चुरोटका ठूटा विश्वभर सबभन्दा धेरै फ्यालिने फोहरमध्ये पर्दछ र यी विश्वभरि समुद्रका किनार एवम् पानीका धारहरूबाट धेरै बारम्बार उठाइने फोहर वस्तु हुन् ।
९२. चुरोटका ठूटाहरूमा अति जोखिमपूर्ण पदार्थहरू पाइन्छन्-यसमा आर्सेनिक, शीशा, निकोटिन र फर्मालिन हुन्छन् । यी पदार्थहरू फ्यालिएका ठूटाबाट जलीय वातावरण र माटोमा पुग्दछ । 
९३. सुर्तीको धुवाँले सहरको वायु प्रदूषण स्तर वृद्धिमा योगदान गर्दछ ।
९४. अधिकतर चुरोटहरू सलाइ वा ग्यास भरिएको लाइटरको प्रयोग गरी जलाइन्छन् । उदाहरणको लागि, यदि दुईवटा सिगरेट जलाउन एउटा काठको सलाइको प्रयोग गरिन्छ भने विश्वभर हरेक वर्ष ६० खर्ब चुरोट पिइन्छ र ३० खर्ब सलाइ उत्पादन गर्न ९० लाख रुख काट्नुपर्छ ।
९५. ई-सिगरेट र तताइने सुर्तीजन्य सामग्रीमा ब्याट्रीहरूको प्रयोग हुने गर्छन्, तर उक्त ब्याट्रीका साथै त्यसका केमिकल, प्याकेजिङ र नसड्ने अन्य सामग्रीहरूको छुट्टै विसर्जन गर्नुपर्ने हुन्छ ।
९६. हाल धेरैजसो प्लास्कि ई-सिगरेट लिक्वीड कार्टिजहरू पुनः प्रयोग गर्न वा पुनःचक्रण गर्न नमिल्ने प्रकृतिका हुन्छन्-बहुराष्ट्रिय कम्पनीहरूले एकपटक प्रयोग गरेर फ्याँक्न मिल्ने कार्टिजहरू बेच्ने गरेका छन्, शायद दोहोरिने ग्राहक मार्फत् बिक्रीलाई बढाउन ।
९७. सुर्तीजन्य उत्पादनबाट हुने उत्सर्जनहरू ३० लाख अन्ध महासागर वारिपारि गर्ने उडानहरू बारबार हुने अनुमान गरिन्छ ।
९८. सुर्तीको धुवाँमा तीनप्रकारका हरितगृह ग्यास हुन्छन् - कार्बनडाइअक्साइड, मिथेन र नाइट्रस अक्साइड । यसले घरिभत्रका बन्द र घरबाहिरका खुला वातावरणलाई प्रदूषित पार्दछ ।
९९. विश्वभर, सुर्तीको खेती र प्रशोधन गर्न हरेक वर्ष २ लाख हेक्टर वन फडानी गरिन्छ ।
१००. सुर्ती खेतीको लागि वन फडानी गर्दा यसबाट धेरै गम्भीर वातावरणीय परिणामहरू निम्त्याउछन् । यसमा जैविक विविधताको ह्रास, भूक्षय, माटोको गुणस्तरमा कमी, जलप्रदूषण र वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रामा वृद्धि लगायत नकारात्मक परिणाम पर्दछन् ।  (डब्ल्यूएचओ बाट)



नयाँ