arrow

तीन दिन मधेस घुमेर फर्किए गण्डकीका मुख्यमन्त्री 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २३ सोमबार
krishnachandar.jpg

पोखरा । मधेस प्रदेशको ३ दिने भ्रमण सकेर गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको टोली सोमबार पोखरा फर्केको छ । जनकपुर विमानस्थलमा मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुधन महतो, प्रमुख सचिव कृष्णबहादुर रावतसहितको टोलीले बिदाइ गरेको थियो । 

टोलीलाई गण्डकीमा आन्तरिक मामिला मन्त्री डोवाटे विश्वकर्मासहितको टोलीले पोखरा विमानस्थलमा स्वागत गरेको थियो । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणामा गण्डकीका मुख्यमन्त्री पोखरेल नेतृत्वमा १८ जनाको टोली शनिवार जनकपुर पुगेको थियो । 

पोखरा विमानस्थलमा अवतरण गरेपछि मुख्यमन्त्री पोखरेलले प्रदेशबीचको सद्भावना भ्रमणमा सङ्घीयता कार्यान्वयनका सन्दर्भमा भोगेका कठिनाइ बारे मधेसका मुख्यमन्त्रीसँग गम्भीर कुराकानी भएको भनाइ राखे । उनले भने, ‘संविधानमा उल्लेखित अधिकार हस्तान्तरणमा समेत केन्द्रले चासो दिएको छैन, यसका लागि प्रदेशले एक भएर आवाज उठाउनु पर्ने छ । यसबारेमा हामीले गम्भीर छलफल गरेका छौं ।’ 

प्रदेशका समस्यालाई एकीकृत रूपमा प्रधानमन्त्रीलाई बुझाउनु अगाडि ७ वटै प्रदेशका मुख्यमन्त्रीको संयुक्त बैठक गरेर बुँदा तयार पार्नुपर्ने उनले बताए । उनले भने, ‘यस अघि पनि मुख्यमन्त्रीहरूको भेला पोखरामा भएको थियो, अहिले परिवेश फेरिएको छ, म सात वटै प्रदेशमा माननीय मुख्यमन्त्रीज्यूहरूलाई पोखरामा निमन्त्रणा गर्दछु ।’ 

३ दिनको बीचमा मधेसका ६ जिल्लाका विभिन्न धार्मिक तथा ऐतिहासिक स्थलको अवलोकन गरे धेरै जानकारी हासिल गरेको मुख्यमन्त्री पोखरेलले बताए । जानकी मन्दिर, पोखरा र मुक्तिनाथको सम्बन्ध स्थापित गरेर धार्मिक पर्यटनमा प्रबद्र्धनमा जोड दिनुपर्ने उनको भनाइ थियो । 

मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले २ प्रदेशबीचमा असल अभ्यासलाई आपसमा अनुकरण जाने प्रतिबद्धता जनाए । उनले भने, ‘सङ्घीयता मजबुत गर्न हामी एक भएर सङ्घसँग लड्नुपर्ने छ, सङ्घीयता महसुस गराउने नै प्रदेशले हो ।’ निजी क्षेत्रको उडान कम्पनी बुद्ध एअरले पोखरा–जनकपुर उडान सुरु गरेकै दिन शनिवार पोखरेल नेतृत्वको टोली जनकपुर पुगेको थियो । 

मुख्यमन्त्री पोखरेलले पहिलो दिन शनिवार मधेसका प्रदेश प्रमुख हरिशंकर मिश्रसँग औपचारिक भेट गरेर भ्रमणको उद्देश्यबारे जानकारी गराएका थिए । त्यसपछि टोली धनुषा धाममा पुगेको थियो । 

मुख्यमन्त्रीसहितको टोलीले जनकपुरदेखि कुर्थासम्म ५ किलोमिटर खण्डमा रेल यात्रा समेत गरेको छ । त्यसपछि टोली धनुषा धाम पुगेको भने साँझमा गङ्गा आरतीमा समेत सहभागी भएको छ । जनकपुरका पर्यटन व्यवसायीको अग्रसरतामा शनिवार अन्तरक्रिया कार्यक्रम गरिएको थियो । 

दोस्रो दिन आइतबार जानकी मन्दिर, राजदेवी मन्दिर, विवाह मण्डपमा अवलोकन र दर्शन गरिएको छ । बर्दिबासमा पर्यटन व्यवसायीसँग परिचयात्मक कार्यक्रम गरेर टोली सर्लाहीको बागमती नगरपालिकामा मानव निर्मित तालको अवलोकन गर्न पुगेको थियो । महोत्तरीको टुटेश्वर महादेवको दर्शन गरेर टोली रौतहटको नुनथर पुग्यो । त्यसपछि पर्सा वन्यजन्तु आरक्षमा हात्ती सयर र जङ्गल सफारी गरेर टोलीले गढीमाईको दर्शन गरेको थियो । 

तेस्रो दिन जलेश्वर महादेवको दर्शन गरेपछि मुख्यमन्त्री पोखरेल सहितको टोली मटिहानीमा पुगेको थियो । मटिहानीमा लक्ष्मीनारायणको दर्शनपछि मुख्यमन्त्री पोखरेलले नजिकै रहेको संस्कृत विद्यापीठको अवलोकन गरे । मधेस प्रदेशको राजधानी जनकपुरमा सोमबार प्रदेश सरकारले गण्डकीको टोलीलाई मैथली पहिरनमा होली खेलाएको थियो । 

गण्डकीको भ्रमण टोलीमा अर्थमन्त्री रामजीप्रसाद बराल जीवन, उद्योग तथा पर्यटन मन्त्री मणिभद्र शर्मा कँडेल, प्रमुख सचिव रवीलाल पन्थ, पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, पोखरा पर्यटन परिषद् अध्यक्ष गोपीबहादुर भट्टराई, पोखरा उद्योग वाणिज्य सङ्घ वरिष्ठ उपाध्यक्ष अर्जुन पोखरेल, नाट्टा पोखरा च्याप्टर अध्यक्ष सञ्जय सिग्देल, महासचिव कमला गिरी, पूर्व अध्यक्ष सन्तोष पोखरेल पर्यटन व्यवसायी एवं उद्योगी छन् । नेपाल टुर्स एन्ड ट्राभल्स एसोसिएसन (नाट्टा) पोखरा च्याप्टरले भ्रमणका लागि सहजीकरण गरेको थियो । 

गण्डकी प्रदेशको राजधानी पोखराबाट सात वटै प्रदेशमा एअर कनेक्टिभिटी बढाउने लक्ष्यका साथ प्रदेश सरकारले समन्वय गर्दै आएको छ । जनकपुर पोखरा अब साताको ३ दिन उडान हुनेछ । यसअघि मधेस प्रदेशको सिमरासम्म पोखराबाट बुद्ध एअर उडान थालिसकेको छ । सुदूरपश्चिमको धनगढीमा पनि यही बिहीबारबाट उडान सुरु भएको छ । भैरहवा, नेपालगन्ज र भरतपुरमा पनि पोखराबाट उडान हुँदै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ