- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्थानीय तहको चुनावलाई लक्षित गरेर सबै राजनीतिक दलहरूले अभियान थालेका छन् । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ ।
आयोगमा ११० राजनीतिक दल दर्ता भए पनि आयोगले ७९ दललाई मात्र स्थानीय तह निर्वाचनका लागि मान्यता दिएको हो । सोअनुसार दलहरुले चुनावी अभियान थालेका छन् । नेपाली कांग्रेसले आइतबारदेखि स्थानीय तह निर्वाचन केन्द्रित अभियान शुरू गरेको छ ।
आगामी ३० बैशाखमा हुने गइरहेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर कांग्रेसले एक महिने ‘घर–घर जाऔं, कांग्रेस जिताऔं’ अभियान थालेको हो । अभियानको क्रममा कांग्रेसले गाउँ घरमा आफ्नो अवस्था बुझ्ने र त्यसपछि चुनावी रणनीति बनाउने छ ।
आगामी २९ चैतसम्म सञ्चालन हुने अभियानअन्तर्गत स्थानीय तहको निर्वाचनको मतदानमा सहभागी भई आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य राखेको छ ।
पार्टी प्रवक्ता डा प्रकाशशरण महतका अनुसार स्थानीय निर्वाचनमा कांग्रेसलाई विजयी गराउन मतदातालाई अपिल गर्ने अभियानको उद्देश्य छ ।
वडा र टोल तहसम्म पार्टीभित्र सौहार्दता, एकता र ऊर्जा अभिवृद्धि गर्नुका साथै स्थानीय स्तरमा जनधारणासमेत बुझ्ने काम अभियानले गर्नेछ । अभियानका लागि कांग्रेसले सबै जिल्लामा पार्टीका केन्द्रीय प्रतिनिधि खटाइसकेको छ । अभियानका क्रममा कांग्रेसले पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदबाट सहमतिमा पारित गर्न सफलता प्राप्त गरेको विषय र त्यसबारेका भ्रम र दुष्प्रचारलाई चिर्दै वास्तविकता पनि बताउने योजना अघि सारेको छ ।
स्थानीय तह निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेससँगै नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राप्रपा लगायतका राजनीतिक दलहरू गाउँघरतर्फ लागेका छन् ।
एमालेमा उत्साह
नेकपा एमालेले स्थानीय तह निर्वाचन लक्षित भने ठ्याक्कै कुनै अभियान चालेको छैन । तर केन्द्रीय नेताहरू देशदौडाहामा व्यस्त देखिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन् ।
त्यस्तै पार्टी प्रवेश कार्यक्रमलाई समेत एमालेले तिव्रताका साथ अगाडि बढाएको छ । यतिबेला देशभर पार्टी परिवर्तन गर्नेको होडबाजी नै चलेको छ ।
एमाले सचिव योगेश भट्टराईले निर्वाचन केन्द्रीत क्रियाकलापमा नेताहरू लागिसकेको बताए । एमाले अध्यक्ष ओली देशभर नै चुनाव केन्द्रित दौडाहमा छन् ।
विभिन्न जिल्लामा गएर अन्य पार्टीका नेता तथा कार्यकर्ता एमाले प्रवेशको होडबाजी नै चलेको छ । जसले गर्द ओलीसँगै एमाले नेता कार्यकर्ता निकै उत्साहित देखिएका छन् । एमालेले केही दिनमा औपचारिक निर्णय गरेर नै चुनाव केन्द्रित अभियान थाल्ने सचिव भट्टाईको भनाइ छ ।
अनौपचारिक कार्यक्रममा माओवादी केन्द्र
माओवादी केन्द्रले पनि निर्वाचन केन्द्रित अभियानलाई तिव्रता दिइरहेको छ । कुनै औपचारिक निर्णय नै नगरे पनि माओवादीले गाउँघरमा चुनाव केन्द्रित अभियान भने चलाइरहेको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यतिबेला देशदौडाहमा केन्द्रित छन् । पार्टीभित्र असन्तुष्ट बनेका नेता नारायणकाजी श्रेष्ठलाई साथमा लिएर हिजोआज उनी विभिन्न जिल्लाका कार्यक्रममा पुगिरहेका छन् ।
प्रचण्डले स्थानीय तह निर्वाचनलाई लिएर दौडधुप बढाएका छन् । उनीसँगै अधिकांश शिर्षस्थ नेताहरू पनि दौडधुपमा देखिएका छन् । पार्टीले आधिकारिक रूपमा चुनाव केन्द्रित कार्यक्रमअघि बढाएको छैन । तर, पनि नेताहरू चुनाव केन्द्रित अभियानमा लागिसकेको माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले बताए ।
‘हामीले औपचारिक निर्णय त गरिसकेका छैनौं । तर, सबै नेताहरू चुनाव केन्द्रित अभियानमा लागिसकेका छन् । चाडै नै पार्टीको बैठक बसेर निर्णय गर्छौं,’ पोखरेलले भने ।
नेकपा एकीकृत समाजवादी माहोल बनाउँदै
नेकपा समाजवादी पार्टी पहिलो पटक अलग्गै पार्टीको हैसियतबाट चुनावमा होमिँदैछ । नेकपा एमालेबाट अलग्ग भएर गत भदौमा मात्रै पार्टी नयाँ पार्टी निर्माण गरेका नेकपा समाजवादी चुनावका लागि सत्तारूढ गठबन्धनमार्फत नै अघि बढ्नुपर्नेमा जोड दिइरहेको छ ।
गठबन्धनमा छलफल गरेर आफ्नो भागमा परेको स्थानीय तहमा मात्रै चुनाव केन्द्रित गतिविधि अगाडि बढाउने समाजवादीको योजना छ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य मेटमणि चौधरीले चैत पहिलो साता पार्टीको बैठक बसेर चुनावी रणनीति बनाइने बताए ।
‘अहिले ७५३ वटै स्थानीय तहमा कमिटी गठन भइरहेका छन् । ति कमिटीहरूलाई चुनाव केन्द्रित गतिविधिमा लगाउँछौं । त्यसका लागि केन्द्रीय नेताहरू देशदौडाहमा लागेका छन्,’ चौधरीले भने ।
देशभर पार्टी प्रवेशको समेत लहर चलिरहेको भन्दै स्थानीय तह निर्वाचनमा राम्रो नतिजा ल्याउनेगरी लागिरहेको बताए ।
‘अहिलेसम्मको स्थिति हेर्दा हामी राम्रो पोजिशनमा देखिएका छौं । उम्मेद्वार छनोट गर्द पनि जित्ने र प्रभावकारी ढंगबाट काम गर्न सक्ने खालको छनोट हुनेछन् । त्यसका लागि गृहकार्य चलिरहेको छ,’ उनले भने ।
स्थानीय तह निर्वाचनमा गठबन्धनबाटै चुनाव लड्ने उनको भनाइ छ । ‘गठबन्धनमा छलफल भएर हाम्रो भागमा परेको स्थानीय तहमा जित्नेगरी अगाडि बढ्छौं । हार्ने खालको व्यक्तिलाई उम्मेद्वार बनाउँदैनौं,’ चौधरीले भने ।
चुनावी रणनीति बनाएर अघि बढ्दै जसपा
अहिले जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक बसिरहेको छ । भोलिसम्म चल्ने बैठकले स्थानीय निर्वाचन निर्देशिका पारित गर्नेछ । बैठकपछि जसपाले चुनाव केन्द्रित गतिविधि अगाडि बढाउने जसपा नेता मनिष सुमनले बताए ।
जसपाले देशैभर स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिनेगरी अनौपचारिक अभियानसमेत चलाइरहेको छ । केन्द्रिय समितिको बैठक सम्पन्न भएपछि जसपा चुनाव केन्द्रित हुने उनको भनाइ छ ।
आत्मसमीक्षासहित चुनावमा होमिँदै लोसपा
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) यतिबेला पालिका तथा वडास्तरीय कमिटी गठनमा केन्द्रित भएको छ । जनता समाजवादी पार्टी (जसपा) बाट अलग्गिएको लोसपाले स्थानीय तहको निर्वाचका लागि आत्मआलोचनासहित होमिने योजना बनाएको छ ।
विगतको पाँच वर्षमा के–के काम गर्न सकियो ? के–के गर्न सकिएन ? र के कारणले पुरा गर्न सकिएन ? त्यसको समीक्षा गरेर चुनावमा जाने नेता केशव झाले बताए ।
चैत पहिलो साता पार्टीको बैठक बसेर चुनावी अभियान अगाडि बढाइने उनको भनाइ छ । पछिल्लो पाँच वर्षमा स्थानीय सरकारले सडक पूर्वाधार र विद्युतको क्षेत्रमा उल्लेख्य काम गरेको स्मरण गराउँदै अब बाँकी काम गर्ने प्रतिबद्धतासहित आफ्ना उम्मेदवार अघि बढ्ने उनको भनाइ छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी
यी पार्टीसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि चुनाव केन्द्रित अभियानलाई देशव्यापी बनाएको छ । शीर्ष नेताहरू विभिन्न जिल्लामा आयोजित कार्यक्रममा सहभागी भइरहेका छन् ।
पालिका तथा वडास्तरीय भेला गर्ने कमिटी गठन गर्ने लगायतका कार्य राप्रपाले तिव्रताका साथ अघि बढाइरहेको छ ।
अधिकांश दलहरू निर्वाचन केन्द्रित भए पनि औपचारिक निर्णय भने नेपाली कांग्रेस बाहेक कसैले पनि गर्न सकेका छैनन् ।