- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सांसद डा. भीमबहादुर रावलले संसदमा पार्टी निर्णय विपरीत प्रस्तुत हुन थालेपछि एमालेलाई टाउको दुखाइ भएको छ । पटक पटक संसदमा पार्टी ह्विप उल्लंघन गर्ने र सभामुखबाट समय लिएर बोल्न थालेपछि एमालेका लागि टाउको दुखाइ बनेको हो । संसदमा पार्टीको ह्विप उल्लंघन गर्दै आएका सांसद रावलको विषयमा कसरी अघि बढ्ने भन्ने बारेमा छलफल शुरु भएको छ ।
प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले गत भदौदेखि सभामुखअघिको वेलमा नाराबाजी गर्दै आएको छ । एमालेको एक मात्रै माग भनेको १४ जना आफूले हटाएका ‘गैरसांसद’ लाई सभामुखले मान्यता दिएको भन्दै त्यसलाई खारेज गर्नुपर्ने वा सभामुखले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु हो । तर एमालेका नेता रावल भने नाराबाजीमा सहभागी हुँदैनन् । उनी पछिल्लो ‘रो’ मा बसेर सुनिरहेका हुन्छन् ।
आफ्नो पार्टी नाराबाजीमा उत्रिरहेका बेला उनले प्रतिपक्षको सिटमा बसेर दुई वटा संसद् बैठकमा आफ्ना भनाइ राखिसकेका छन् । सभामुखले पनि एमालेलाई साइजमा ल्याउन सांसद रावललाई बोल्न चाहेमा भनाइ राख्न समय दिने गरेका छन् ।
फागुन १५ गते प्रतिनिधि सभामा अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) निर्णयार्थ प्रस्तुत गर्दा उनले त्यसको विपक्षमा भनाइ राखेका थिए, मतदान पनि विपक्षमा गरेका थिए । त्यतिबेला एमालेका अन्य सांसदले भने वेलमा नाराबाजी गरिरहेका थिए । पार्टी नीतिअनुसार उनीहरू मतदानमा सहभागी भएनन् ।
त्यसपछि संसद्का तीनवटा बैठक बसेका छन् । २२ गतेको संसद् बैठकमा नेता रावल एक्लै सिटमा बसिरहेका थिए । संसद्को आइतबार बसेको बैठकमा उनले समय लिएर आफ्नो भनाइ राखे ।
उनले दार्चुला जिल्लाको बंगाबगरमा भारतले एकतर्फी रूपमा तटबन्ध निर्माण गरिरहँदा सरकार नबोल्नु लाजमर्दो विषय भएको बताउँदै धारणा राखेका थिए । उनले यसबारे सरकारले संसदमा जवाफ दिनुपर्ने माग गरे ।
‘भारत सरकारले एकतर्फी डोजर चलाउँदा पनि नेपाल सरकार त्यसमा नबोल्नु लाजमर्दो कुरा हो । नेपाल सरकारको यसतर्फ गम्भीर रूपले ध्यानाकर्षण गराउँछु र म माग गर्न चाहन्छु, नेपाल सरकारका तर्फबाट गृहमन्त्रीजी, परराष्ट्रमन्त्रीजीले यो सदनमा आएर नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ’, उनले भने ।
‘उहाँले राष्ट्रियताको विषयमा बोल्नु भएको छ अन्य विषयमा बोल्नु भएको छैन त्यसकारण सामान्य रुपमा लिइएको छ’, एमालेका एक सांसदले भने । उनका अनुसार रावलले राष्ट्रियता बाहेक अन्य विषयमा बोलेको भए एमालेले यसअघि नै कारबाही गरिसक्थ्यो ।
‘एमाले अध्यक्ष केपी शर्मा ओली आफैँ राष्ट्रियताको पक्षमा बोलेर नथाक्ने भएकाले पनि रावलले आफ्नो भावना त्यता जोडेका हुन सक्छन्’, एमालेका एक सांसदले भने ।
रावलले प्रायः सामाजिक सञ्जालमा आफ्ना धारणाहरु राख्दै आएका छन् । पार्टीका उनी सल्लाहकार सदस्य हुन् । एमालेको दशौँ महाधिवेशनमा उनले केपी शर्मा ओलीलाई चुनौती दिएर सर्वसम्मत हुन दिएनन् ।
त्यसयता पार्टीको औपचारिक बैठकहरुमा सहभागी भएका छैनन् । दुई साताअघि अछाम काठमाडौं सम्पर्क मञ्चको सम्मेलनमा प्रमुख अतिथि भए बाहेक रावल पार्टीको औपचारिक कार्यक्रमहरुमा सहभागी भएका छैनन् ।
उनले अछाममा पनि पार्टीको काम भन्दा बाहिर बसेर एमालेका नेता कार्यकर्तासँग परामर्श गरिरहेका छन् । पछिल्लो पटक एमसीसी अनुमोदन भएपछि नेकपा विप्लवका नेताहरुसँग भेटघाट, परामर्श गरिरहेका छन् । विप्लव समूहका नेताहरु रावललाई भेट्न घरमै पुगेका थिए ।