रास्वपा नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गयो [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १२ शुक्रबार
264
Shares
काठमाडौँ। नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनको व्यवस्थापन र निर्वाचन प्रक्रियामाथि गम्भीर प्रश्न उठाएका छन्।
महरले १८२ सिट जितेको पार्टीको महाधिवेशनमा प्रधानमन्त्रीसहित चर्चित नेताहरूको उपस्थिति र १०-१२ हजारको भीडलाई असाधारण उपलब्धि मान्न नसकिने टिप्पणी गरे।
उनले सामाजिक सञ्जालका ‘फेसबुक फ्यान फलोअर्स’ का आधारमा मात्र पार्टी सञ्चालन सम्भव नहुने जिकिर गरे।
उनले चार हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको महाधिवेशन सात दिनसम्म पनि सम्पन्न हुन नसक्नु अस्वाभाविक र कमजोर व्यवस्थापनको संकेत भएको बताए। महाधिवेशनमा भएको ढिलाइका कारण जनताका कामसमेत प्रभावित भएको उनको भनाइ छ।
महरले महाधिवेशनमा अपनाइएको निर्वाचन प्रणालीको समेत आलोचना गर्दै भने, "अलोकतान्त्रिक निर्वाचन पद्धति र समयमा प्रक्रिया सम्पन्न गर्न नसक्ने नेतृत्वले देशको नेतृत्व गर्न सक्दैन।"
उनका अनुसार हचुवाको भरमा निर्णय लिने प्रवृत्तिका कारण रास्वपाको नेतृत्व असक्षम र अपरिपक्व रहेको सन्देश गएको छ। यस्ता व्यवस्थापकीय कमजोरी र आन्तरिक समस्याले पार्टीको विश्वसनीयतामाथि नै प्रश्न उठाएको उनको दाबी छ।
पुरानै शैलीको राजनीतिक अभ्यासलाई नयाँ भनेर जनतामा भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाउँदै महरले रास्वपाको कार्यशैलीमाथि पनि आलोचना गरे।
निर्णय प्रक्रियामा परिपक्वता र नेतृत्व क्षमता अभाव देखिएको भन्दै उनले यसले कार्यकर्ता र आमजनतामा नकारात्मक प्रभाव पार्ने बताए।
उनले छोटो समयमै उल्लेखनीय चर्चा बटुलेको रास्वपाले महाधिवेशनजस्तो महत्वपूर्ण अवसरमा देखाएको व्यवस्थापकीय कमजोरीले पार्टीको भविष्य र नेतृत्वको गम्भीरतामाथि प्रश्न उठाएको टिप्पणी गरे।