arrow

एमालेले चुनावी कार्ययोजना बनाउँदै, यस्ता छन् मंगलबारदेखिका कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
ncp-uml-party-head-office-hq-oli.jpg
तस्बिर– फाइल

काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति दुई महिना नजिक आउदै गर्दा राजनीतिक दलहरुले निर्वाचन केन्द्रीत कार्यक्रमहरु तयार गर्न थालेका छन् । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचन केन्द्रीत कार्यक्रमहरु तयार गर्न थालेका हुन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरुले निर्वाचन सम्बन्धी प्रशिक्षण, संगठन निर्माण, स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरु गर्दै आएका छन् । केन्द्रमा पनि राजनीतिक प्रशिक्षण जस्ता कार्यक्रमहरु चलिरहेका छन् । यसक्रममा नेकपा एमालेले स्थानीय तहको निर्वाचन केन्द्रित कार्ययोजना बनाउन केन्द्रीय कमिटीको बैठक बोलाएको छ । 

प्रमुख प्रतिपक्ष दल एमालेले स्थानीय तहको निर्वाचन सम्बन्धी कार्यायोजना बनाउन यही चैत ८ र ९ गते काठमाडौमा केन्द्रीय कमिटीको बैठक बोलाएको हो । पार्टी कार्यालय थापाथलीमा सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकमा सम्पूर्ण पार्टीपंक्तिलाई निर्वाचनका केन्द्रित गर्ने गरी कार्ययोजनामा बनाउन र सो विषयमा छलफल गर्न एमालेले चैत ७ गते पोलिटव्यूरो बैठक र ८ र ९ गते केन्द्रीय कमिटीको बैठक बोलाएको हो । 

त्यसैगरी चैत १४ गते स्थायी कमिटीको बैठक बोलाएको छ । त्यसैगरी चैत १ गते मंगलबार दिउँसो ३ बजे सचिवालय बैठक बोलाइएको छ । सातै प्रदेशमा निर्वाचन केन्द्रीय प्रशिक्षण र अभिमुखी कार्यक्रमहरू सम्पन्न गरेको र छिट्टै पार्टीका अरु तहका बैठकहरू आयोजना गरेर निर्वाचनलक्षित अभियान चलाउनु पर्ने भएकाले सबै तहको बैठकहरु बोलाइएको एमालेले जनाएको छ । 

सोमबार पार्टी महासचिव शंकर पोखरेलको अध्यक्षतामा केन्द्रीय कार्यालयको बैठक बसेको थियो । सो बैठकले पोलिटव्यूरो बैठक, केन्द्रीय कमिटीको बैठक र स्थायी कमिटी बैठकको कार्यतालिका तयार गरेको हो । साथै मंगलबार केन्द्रीय सचिवालयको बैठक बोलाइएको छ । 

एमालेले यही बैठकबाट स्थानीय तहको निर्वाचन केन्द्रीत कार्यक्रमहरु सार्वजनिक गर्नेछ । सरकारले आउँदो बैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको र गठबन्धनले एमालेविरुद्ध घेराबन्दी गरेका कारण त्यसलाई चिर्न पार्टीको सबै तहमा बैठक राखेर चुनावी नीति रणनीति तयार गर्ने भएको छ । 

‘स्थानीय तहको निर्वाचन सम्बन्धी कार्ययोजना बनाउने विषयमा छलफल गर्न मंगलबार सचिवालय बैठक बस्ने भएको छ सोही बैठकले सबै विषयवस्तुबारे छलफल गर्ने र बैठकमा प्रस्तुत गर्ने एजेण्डाको विषयमा पनि छलफल हुनेछ’, एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भने । एमालेले आउँदो निर्वाचनमा कसरी अधिकतम जीत हासिल गर्ने भन्ने विषयमा पनि सबै तहको बैठकमा छलफल गर्नेछ । 

विगतको निर्वाचनमा एमाले एक्लैले करिब ४५ प्रतिशत स्थानीय तहको निर्वाचनमा जीत हासिल गरेको थियो । कांग्रेस दोस्रो र माओवादी तेस्रो तथा मधेशवादी दलहरु र अन्य दलहरुको पनि उपस्थिति रहेको थियो । 

अहिले राजनीतिक परिस्थिति बदलिएको र एमालेबाट माधव नेपाल, झलनाथ खनाल जस्ता प्रभावशाली नेताहरुले छुट्टै राजनीतिक दल खोलिसकेका छन् । सोही कारण एमालेका लागि स्थानीय तह र संघीय संसदको निर्वाचन सहज नहुने अवस्था रहँदा पार्टीले चाँडै नै निर्वाचनसम्बन्धी कार्यतालिका बनाएर जिल्ला जिल्लामा कार्यक्रम आयोजनासमेत गर्ने भएको छ । 

सातवटै प्रदेशमा प्रशिक्षण कार्यक्रम गरेको एमालेले आउदो शनिबार काठमाडौमा रहेका नेता–कार्यकर्ता र सम्पर्क मञ्चसँग आवद्ध रहेका कार्यकर्ताहरुलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ । 

एमाले विभाजन भएको र असन्तुष्ट रहेका नेता कार्यकर्ताले पार्टीभित्र पनि अन्तर्घात गर्ने परिस्थिति नआओस् भनेर तल्लो तहसम्मै नेता कार्यकर्तालाई व्यवस्थापन गर्ने नीति अख्तियार गर्न थालिएको एमालेले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ