राज्य–निजी क्षेत्रबीचको सहकार्यले राम्रो रिजल्ट दिन सक्छ : वरिष्ठ उपाध्यक्ष ढकाल
हाम्रा कुरा
प्रकाशित २०७८ चैत २ बुधबार
560
Shares
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राज्य र निजी क्षेत्रबीच सहकार्यको वातावरण बन्ने हो भने यसले छोटो समयमा राम्रो रिजल्ट दिन सक्ने बताएका छन्।
पोखरीया नगरपालिका, पर्सामा वीरगन्ज उद्योग वाणिज्य सङ्घद्वारा स्तरोन्नति गरिएको शल्य चिकित्सा कक्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले भने, “राज्यले निजी क्षेत्रलाई सहजीकरण मात्र गर्ने हो भने निजी क्षेत्रले छोटो समयमा राम्रो रिजल्ट दिन सक्छ।” राज्यले निजी क्षेत्रसँग सहकार्य गर्दा राम्रो रिजल्ट आउँछ भन्ने कुरा आज समुद्घाटन गरिएको यस अस्पतालले पनि स्पष्ट पार्ने कुरा उनले राखे।
“म मेयरज्यूलाई धन्यवाद पनि दिन चाहन्छु। यहाँहरूले निजी क्षेत्रसँग सहकार्य गरेर आज यहाँ यो अस्पतालको स्तरोन्नति गर्न सफल हुनुभएको छ। यसले यो अस्पताल बन्ने र यहाँका स्थानीयलाई सहज स्वास्थ्य सेवामा पहुँच पुग्ने मात्र सङ्केत गर्दैन। राज्य र निजी क्षेत्रबीचको राम्रो सहकार्यको पनि सुरुवातको सङ्केत गरेको छ,” उनले भने।
उनले निजी क्षेत्रलाई राज्यले सहजीकरण मात्र गर्ने हो भने यसले छोटो समयमा धेरै राम्रा काम गर्न सक्ने बताए। “निजी क्षेत्रले पूर्वाधार निर्माण तथा रोजगारी सृजना गर्ने जुन सुकै काम पनि निजी क्षेत्रले सहज र छिटो गर्न सक् । यसलाई राज्यले सहजीकरण मात्र गरे पुग्छ,” उनले भने।
निजी क्षेत्रले आफ्नो फाइदाको लागि मात्र काम नगर्ने र आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पनि निभाउँदै आएको बताए। कोभिडको समयमा नेपालको निजी क्षेत्रले खेलेको भूमिकाले निजी क्षेत्रको सामाजिक उत्तरदायित्व थप स्पष्ट पारेको बताउँदै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिडको रोकथाम तथा नियन्त्रणमा राज्यको होस्टेमा हैँसे गर्दै निजी क्षेत्रले आइसोलेसन सेन्टर निर्माण, अक्सिजन प्लान्ट हस्तान्तरणदेखि आफ्ना हस्पिटल, होटेल, स्कुल, कलेज र उद्योग कलकारखाना तत्काल सरकारलाई सुम्पेको स्मरण गराए।