arrow

संयुक्त राष्ट्र सुरक्षा परिषद्को आपतकालीन बैठक, युक्रेनको मानवीय अवस्थाबारे छलफल

logo
रासस–एएनआई, 
प्रकाशित २०७८ चैत ३ बिहिबार
UNSC.jpg
तस्बिर– फाइल


काठमाडौं । बेलायत, अमेरिका, फ्रान्स, अल्बानिया, आयरल्याण्ड र नर्वे लगायत छ देशको अनुरोध पछि संयुक्त राष्ट्र सुरक्षा परिषद (यूएनएससी) को आकस्मिक बैठक बोलाइएको छ। बिहीबारको लागि बैठक बोलाइएको हो ।

‘बेलायत र अल्बानिया, फ्रान्स, आयरल्याण्ड, नर्वे र संयुक्त राज्य अमेरिकोले सुरक्षा परिषद्को बैठक बोलाएको छ। रुसले युद्ध अपराध गरिरहेको छ र सर्वसाधारणलाई निशाना बनाएको छ । युक्रेनमा रुसको गैरकानुनी युद्ध हामी सबैका लागि खतरा हो’, संयुक्त राष्ट्रसंघका लागि बेलायतको स्थायी नियोगले आफ्नो ट्वीटरमा  लेखेको छ । 

बेलारुसमा भइरहेको वार्तामार्फत रुस र युक्रेनले वार्ताका माध्यमबाट समाधानका लागि निरन्तर प्रयास गरिरहेको बेला यो घटनाक्रम आएको हो । 

युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुस र युक्रेनबीचको शान्ति वार्ता प्रगतिमा रहेको तर निकै कठिन रहेको बताएका छन् ।

‘वार्ता अझै प्रगतिमा छ। वार्ता एकदमै कठिन छ, र वार्ताको वर्तमान अवस्था, म यो जारी छ भन्न चाहन्छु’, जेलेन्स्कीले बुधबार शान्ति वार्ताको स्थिति बारे सोध्दा उक्त टिप्पणी गरेका छन् ।

बुधबार चौथो चरणको वार्ता जारी रहँदा केही विवरणले युक्रेनी प्रतिनिधिमण्डलका सदस्यले दुई पक्ष अब सहमतिमा पुग्न इच्छुक रहेको भन्दै वार्ता केही प्रगतिमा पुग्ने सुझाव दिएको छ।
 



नयाँ