arrow

चीनसँग सीमा जोडिएको नाम्खामा चुनावअघि नै स्थानीयले चुने वडाध्यक्ष, कांग्रेसका पाल्जोर दोहोरिए

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
local-level-election-everytime1.jpg

सिमकोट । हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरू चुनेका छन् । चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका बासिन्दाको भेलाले वडाध्यक्ष र सदस्यहरू चुनेका हुन् । 

वडाध्यक्षमा पाल्जोर तामाङ नै दोहोरिएका छन् । उनी नेपाली कांग्रेसका हुन् । त्यस्तै सदस्यमा जाङकी पुटी तामाङ, हल्जीकी छिरिङ टुङडुप र तिलका टुङडुप लामा चयन भएको स्थानीयवासी कुन्जोक तामाङले जानकारी दिए ।

उनका अनुसार अब औपचारिकता पूरा गर्नका लागि आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उनीहरुको मात्रै मनोनयन दर्ता हुनेछ र उनहरूलाई नै निर्विरोध निर्वाचित भएको घोषणा गरिने छ । “गाउँलेहरूको भेलाले वडाध्यक्ष र सदस्य चुने र अब त्यसलाई प्रक्रिया पुर्‍याएर औपचारिकता दिन बाँकी छ”, उनले भने, “अघिल्लो स्थानीय तह निर्वाचनताका पनि त्यस्तै भएको थियो ।”

नाम्खा गाउँपालिका–६ का तीन गाउँमा तीन वटा मतदान केन्द्र रहेका छन् । तीमध्ये सुनखानी आधारभूत विद्यालय हल्जीमा २२६, भृकुटी प्राथमिक विद्यालय जाङको मतदान केन्द्रमा २०५ र हिमशिखर प्राथमिक विद्यालय तिलमा ११० गरेर कूल ५४१ मतदाता सङ्ख्या छ । 

हरेक वर्ष लिमी गाउँका नागरिकको बैठक मङ्सिरमा बसेर महत्त्वपूर्ण निर्णय गर्दै आएका छन् । मङ्सिरको अन्तिममा महत्त्वपूर्ण निर्णय लिनका लागि तीन गाउँको संयुक्त बैठक बस्छ । यो पटकको बैठकको एक मात्रै एजेण्डा आगामी निर्वाचनका लागि उम्मेदवार चयन गरेका थिए । 

गाउँलेहरूको भेलाले दोस्रो कार्यकालका लागि लामालाई सर्वसम्मत वडाध्यक्ष चयन गरेका छन् । त्यहाँका स्थानीयवासीको आफ्नै नीति नियम छ । तीन गाउँको भेलाले गरेको निर्णय विपरीत यहाँ कोही जाँदैनन् । स्थानीयवासीका अनुसार गाउँलेले चुनेको अध्यक्ष फरक हुन्छ भने सरकारी कामकाज र प्रक्रियाका लागि छुट्टै अध्यक्ष चयन हुन्छ । सरकारी कामकाजका लागि चुनिने अध्यक्ष पनि गाउँले चुनेको अध्यक्षको निर्देशानुसार चल्नुपर्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ