arrow

सात हजार बढी कर्मचारी रहेको सिंहदरबारभित्र वीर अस्पतालको हेल्थ डेक्स 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ६ आइतबार
bir-hospital-singhadarwar.jpg

काठमाडौं । सात हजार बढी कर्मचारी कार्यरत रहेको र दैनिक हजारौँ सेवाग्राही आउने देशको प्रमुख केन्द्रीय प्रशासनिक निकाय सिंहदरबार परिसरभित्र वीर अस्पतालले हेल्थ डेक्स सञ्चालनमा ल्याएको छ ।  

२०७४ साल फागुन १६ गते स्थापना भएको उक्त स्वास्थ्य सेवा केन्द्र कोभिड–१९ फैलिन थालेपछि र स्थानको अभावले डेक्स बन्द रहेकोमा हाल प्रधानमन्त्री कार्यालयको अनुरोधमा चि.वि.रा. प्रतिष्ठान वीर अस्पतालले आजदेखि फेरि चालु गरेको हो । 

हेल्थ डेक्सको उद्घाटन सरकारका मुख्य सचिव शंकरदास बैरागीले गरे । हेल्थ डेक्स स्वास्थ्य सेवाको शुभारम्भ वीर अस्पतालका प्रमुख प्रशासकीय अधिकारी प्रा.डा.  भुपेन्द्र बस्नेतले मुख्य सचिव बैरागीको स्वास्थ्य जाँच गरी गरे । 

बिहान १० देखि दिउँसो ३ बजेसम्म वीर अस्पतालका दुई जना चिकित्सक र ३ जना स्वास्थ्यकर्मीबाट सेवा प्रदान हुनेछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भवनको पूर्वी  प्रवेशद्वारसँगै साविक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण रहेको भवनबाट सेवा शुरु भएको हो र

डेक्समा अक्सिजनसहित बेड, स्वास्थ्य परीक्षण, उच्च रक्तचाप, सुगर, ड्रेसिङ्ग लगायत जाँच गरिन्छ भने सुविधासम्पन्न एम्बुलेन्ससमेत रहने छ । 

स्वास्थ्य परामर्श दिँदै आवश्यक औषधिसमेत दिइन्छ । स्वास्थ्य अवस्था र आवश्यक हेरेर सरकारी अस्पतालमा रेफर गरिने बताइएको छ । कर्मचारीलाई  तत्काल स्वास्थ्य समस्याबाट बचाउन, सामान्य स्वास्थ्य समस्या र जाँचलाई कार्यालय छाडेर बाहिर अस्पताल जान नपरोस् भन्नका लागि यो हेल्थ डेस्क सञ्चालनमा ल्याइएको हो । 

हेल्थ डेक्सले कर्मचारीका साथै सिंहदरबारभित्र आउने सेवाग्राहीलाईसमेत स्वास्थ्य सेवा प्रदान गर्नेछ । आवश्यकताको आधारमा समय समयमा मुटुरोग, मधुमेह, हाडजोर्नी तथा नसा रोग, नाक–कान–घाँटी रोग, छाला, स्त्रीरोगलगायत विशेषज्ञ चिकित्सक सेवा पनि दिने योजना रहेको सिंहदरबार हेल्थ डेक्सका प्रमुख वरिष्ठ स्वास्थ्यकर्मी दिपक मुडभरीले बताए ।

उनका अनुसार प्रधानमन्त्री कार्यालयको पूरै निर्माणकार्य सम्पन्न भएपछि कार्यालयकै पश्चिम भागको भुइँ तल्लामा सुविधा सम्पन्न हेल्थ डेक्स र ऐम्बुलेन्ससहित सञ्चालन हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ