arrow

चन्द्र धरातलमा फेरि मान्छे पुर्‍याउन नासाको विशाल रकेट परीक्षण हुँदै

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
nasa-rocket.jpg

काठमाडौं । शुक्रबार अमेरिकी अन्तरिक्ष एजेन्सी  नासाले पहिलो पटक आफ्नो नयाँ विशाल चन्द्रमा रकेट सार्वजनिक गरेको थियो । स्पेस लन्च सिस्टम (एसएलएस) नाम दिइएको यो लञ्च भेहिकललाई फ्लोरिडाको केनेडी स्पेस सेन्टरको प्याड ३९बीमा राखिएको छ ।

यदि सबै कुरा राम्रो सँग अघि बढ्यो भने यो रकेटले चन्द्रमाको छेउँसम्म एक मानवरहित परीक्षण क्याप्सुल पठाउने मिसनको घोषणा हुनेछ । जुन अबको दुई महिनापछि सम्भवतः जुन या जुलाईको आसपासमा हुनसक्छ ।

यो मिसन सफल भएपछि यो रकेटले अबको करिब २ या बढी वर्षपछि चन्द्रमाको छेउसम्म चार मानवसहितको परीक्षण क्याप्सुल पठाउने छ । उक्त क्याप्सुल पृथ्वीमै फिर्ता आउनेछ ।

र त्यसपछि भने चार मानवसहितको क्याप्सुललाई यो रकेटले अन्तरिक्षमा पुर्याउनेछ । जुन यो दशकको सम्भवतः अन्तिमतिर हुनेछ ।

संयुक्त राज्य अमेरिकाको नेतृत्वमामा नासाले अघि बढाइरहेको यो मिसनलाई आर्टेमिस नाम दिइएको छ ।

सन् २००९ मा अघि सारेको यो मिसन सफल भएमा यो मिसन सन् १९७२ मा समपन्न अपोलो १७ पछिको पहिलो चन्द्रमामा मानव अवतरण मिसन हुनेछ ।

आर्टेमिस मिसन अन्तर्गत सन् २०२५ मा चन्द्रमामा मानव अतवरण गराउने, सन् २०२४ मा चन्द्रमाको छेउसम्म मात्रै पुर्याउने र सन् २०२२ मा मानव रहित क्याप्सुल चन्द्रमाको छेउँमा पुर्याउने लक्ष्य भएपनि यसमा ढिलाइ हुने देखिएको छ ।

सन् २०२२ को मानव रहित क्याप्सुल चन्द्रमाको छेउमा पुर्याउने लक्ष्य अन्तर्गतको मिसनका लागि नै नासाले एसएलएस रकेट पहिलो पटक सार्वजनिक गरेको हो । यो मिसन आउँदा २ महिनामा हुनेछ । यसअन्तर्गत मानवरहित क्याप्सुल चन्द्रामाको छेउँसम्म पठाइनेछ ।

यो विशाल रकेट सार्वजनिक गर्ने क्रममा नासाका प्रशासक बिल नेल्सनले हामी मानव अन्तरिक्ष अन्वेषणको सुनौलो युगमा प्रवेश गरिरहेको बताए । 'आर्टेमिस पुस्ता नयाँ सीमामा पुग्ने तयारी गर्दैछ,' उनले भने ।

एसएलएस पुरै एक रकेट हो यसमा कोर स्टेज, दुई बूस्टर रकेट र ओरियन स्पेसक्राफ्ट रहेको हुन्छ । ओरियनमा अन्तरिक्षमा जाने मानव (क्रु) र आवयश्यक सामानको कार्गाे रहेको हुन्छ ।

अन्तरिक्ष यात्रु मात्र पठाउने नभएर निकै धेरै उपकरण र कार्गो पनि पठाउनु पर्ने भएका कारण एसएलएस रकेट विशाल बनाइएको थियो । त्यसैले यो रकेट १०० मिटर अग्लो छ । एसएलएस रकेटसँग १२० मिटर अग्लो र ५ हजार टन तौलको लन्चर सपोर्ट छ ।

विशाल रकेट र झन ठूलो लन्चर सपोर्टलाई अपोलो मिसनका बेला बनाइएको विशाल ट्र्याक्टरले बोकेर केनेडी स्पेस सेन्टरमा ल्याएको थियो ।

गत शुक्रबार बिहान १ किलोमिटर प्रतिघण्टाको गतिमा ट्र्याक्टरले ६.७५ किलोमिटरको दूरी पार गर्दै मोबाइल लन्चरसहितको रकेटलाई केनेडी स्पेस सेन्टरको प्याड ३९ बीमा पुर्याएको हो ।

आर्टेमिस मिसन अन्तर्गत ४ मानव, क्रु अथवा अन्तरिक्षयात्री रहने छन् । जसमा चन्द्रमामा पाइला टेक्ने पहिलो महिला र रंगको पहिलो व्यक्ति पनि समावेश हुने छन् ।

यो मिसनको थप उद्देश्य चन्द्र स्रोतहरूको (पृथ्वीमा) निकासीका लागि आधारशिलाहरू राख्ने पनि हो । यसका साथै मंगल ग्रह र बाहिरका ग्रहमा जाने सम्भावनालाई थप बलियो बनाउने आधारसमेत यो मिसनले प्रदान गर्ने छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ