arrow

जुवातास बन्द भएपछि महिलालाई राहत

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
juwa.jpeg

म्याग्दी । धवलागिरि गाउँपालिका-१ गुर्जामा जुवातास बन्द गरिएपछि महिलालाई राहत मिलेको छ । जुवातास खेलेर समय बिताउने युवा र प्रौढ पुरुष घरायसी, आयआर्जन र विकास आयोजनामा संलग्न हुन थालेका छन् । 

स्थानीय सीता छन्त्याल जुवातास बन्द भएपछि महिलालाई राहत मिलेको बताउछन् । “जुवातास र मदिरामा भुल्ने पुरुष घरायसी र आम्दानी हुने काममा संलग्न हुन थालेपछि घरमा झगडा हुने क्रम घटेको छ”, उनले भने, “श्रीमान् श्रीमतीसँगसँगै काम गरेर आम्दानी गर्न थालेका छन् । सामाजिक सद्भाव र शान्ति कायममा मद्दत पुगेको छ ।”

समाज सुधार र परिवर्तनका लागि वडा कार्यालय, आमा समूह र युवा क्लबको पहलमा गुर्जामा जुवातास बन्द र मदिरा सेवनका लागि समय तोकिएको थियो । दुई सय ६५ परिवार बस्दै आएको गुर्जामा बिहान ५ देखि साँझ ६ बजेसम्म मदिरा सेवन गर्न रोक लगाइएको छ । 

विसं २०७४ देखि जुवातास बन्द गरिएको थियो । गाउँमा दैनिक आठ/दशवटा खाल बनाएर पुरुष तास खेलेर समय बिताउँदा सामाजिक समस्या देखिएपछि जुवातास बन्द गर्ने निर्णय लिइएको वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।

“जुवातास बन्द गराउँदा केही व्यक्ति आक्रमण गर्न आए”, उनले भने, “अहिले धेरैले बुझेका छन् । समाजिक सुधारमा सहयोग पुगेको छ । घरायसी झगडा र विवाद घटेको छ ।” जुवातासमा भुल्नेहरू अहिले विकास आयोजनामा मजदुरी, खेती किसानी, जडीबुटी सङ्कलन र घरायसी काममा महिलालाई सघाउन थालेका छन् । 

महिलालाई घरायसी कामको बोझ घटेको पुर्माकुमारी विकले बताए । आम्दानी हुन थालेपछि घरव्यवहार चलाउन सहज भएको उहाँको भनाइ छ । यसअघि विकास आयोजनामा श्रमदान र ज्यालामा काम गर्ने महिलाको संख्या अत्यधिक थियो । हाल फुर्सद भएका सबैले काम गर्छन् । खेतबारी र घरायसी काममा श्रीमान् श्रीमतीसँगसँगै हुन्छन् । 

विकाससँगै रोजगारी र आम्दानीको अवसर मिलेको इन्द्रबहादुर छन्त्यालले बताए । “ज्येष्ठ नागरिक र विद्यालय जाने बालबालिकाबाहेक सबै काममा हिँड्छौँ”, उनले भने, “दुई वर्ष पहिला रु दुई करोडभन्दा बढीको बजेटका योजना आउँदा हरेक घरमा रु एक लाखभन्दा बढी भित्रिएको थियो । स्थानीय सरकार आएपछि गाउँमा रोजगारी र आम्दानीको अवसर मिलेको छ ।”

गोलिकरूपमा विकट गुर्जाका बासिन्दाले यसअघिको दुई आर्थिक वर्षमा गल, घन, कुटो, कोदालो, बाउसो, बेल्चालगायत उपकरण प्रयोग गरी दुई किलोमिटर सडक खनेका थिए । 

गुर्जामा यस वर्ष स्वास्थ्य चौकी भवन, दुई झोलुङ्गे पुलसहित ११ योजना सम्पन्न हुँदै छन् । ओमथान र दुलढुनाको स्टिल ट्रस पुल र रु ६ लाखको मलामी आश्रयस्थलको काम सकिएको छ । अन्य योजना कार्यान्वयनका क्रममा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ