arrow

एफएनसीसीआई र लगानी बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १३ आइतबार
fncci-investment-board-mou-2078-12-13.jpg

काठमाडौं । आपसी सहकार्यका माध्यमबाट मुलुकभित्र आन्तरिक र वाह्य लगानी प्रवद्र्धनमा सहकार्य गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र लगानी बोर्ड नेपाल बीच आइतबार काठमाडौंमा एक समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माको समुपस्थितिमा भएको उक्त समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र बोर्डका प्रमुख कार्यकारि अधिकृत सुशिल भट्टले हस्ताक्षर गरे । सहमति अनुसार अब महासंघको सचिवालयमा प्रत्यक्ष वैदेशिक लगानी सम्बन्धी सहायता कक्षसमेत स्थापना गरिने छ । सहायता कक्षको संचालनमा बोर्डका तर्फबाट प्राविधिक सहयोगका साथै सहायता कक्षको क्षमता अभिवृद्धि, सीप विकास र ज्ञानको आदानप्रदानमा सहयोग गरिनेछ ।

समझदारी अनुसार महासंघले राष्ट्रको आवश्यकता अनुसारका लगानी परियोजनाको पहिचान, अन्तर्राष्ट्रिय रुपमा आफ्नो माध्यममार्फत लगानीकर्ताको खोजी गर्ने कार्यमा बोर्डलाई सक्रियतापूर्वक सहयोग गर्ने एफएनसीसीआईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । त्यसैगरी महासंघले स्वदेश तथा विदेशमा लगानी सम्बन्धी रोड शोका अतिरिक्त महत्वपूर्ण गतिविधिको आयोजनामा सहयोग गर्ने छ ।

त्यसैगरी लगानी प्रवद्र्धनका दिशामा सार्वजनिक निजी साझेदारीको अवधारणाभित्र रही दुवै संस्था निरन्तर सहकार्य, लगानी सम्बन्धी ज्ञान, अनुुभव एवं सूचनाको आदानप्रदान, नीतिगत सुधारमा सहकार्य गर्ने छन् भने एफडीआई तथा लगानी प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आयोजना हुने सभा, सम्मेलन, प्रदर्शनी, गोष्ठी, कार्यशाला, तालीम र यस्तै प्रकारका अन्य गतिविधिहरुको आयोजनामा महासंघले बोर्डलाई प्रत्यक्ष सहयोग पुर्याउने छ । 

महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिले लगानी प्रवद्र्धनका लागी तयार गर्ने सबै दस्तावेजहरुमा बोर्डले पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले लगानी सम्बन्धी तथ्याक, प्रतिवेदन,संयुक्त रुपमा तयार पारिएका प्रतिवेदनहरु, वाह्य लगानी आकर्षणमा देखा परेका चुनौती तथा अवसरहरु र सार्वजनिक निजी साझेदारीमा लगानी सम्बन्धी नीति पैरवी लगायतमा सहयोग, सहकार्य, आदान प्रदान गर्नेछन् ।  

महासंघले लगानीका अवसर सम्बन्धी डाइरेक्टरीको तयारीमा पनि सहयोग गर्नेछ । त्यसैगरी दुवै संस्थाले सवै प्रकारका लगानी, परियोजना विकास लगायतमा संयुक्त रुपमा अध्ययन अनुसन्धानमासमेत सहकार्य गर्नेछन् । 
 
समझदारीपत्र हस्ताक्षर कार्यक्रममा प्रमुख अतिथि एवं बोर्डका उपाध्यक्ष अर्थमन्त्री जनार्दन शर्माले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका लागि बोर्ड र महासंघ बीचको समझदारी एउटा अनुपम उदाहरण भएको र समझदारीमा उल्लेख गरिएका सहमतीका दफाहरुलाई दुवै संस्थाले अधिकतम सफल पार्नेमा आफू पूर्ण विश्वस्त रहेको बताए ।

उनले यो सहमतिबाट सिंगो राष्ट्र नै लाभान्वित हुने पनि बताए । सरकारले आन्तरिक एवं वाह्य सवै प्रकारको लगानी आकर्षणमा विशेष जोड दिएको बताउँंदै लगानी गर्न आउनेलाई हामीले प्रतिफलको पनि स्पष्ट खाका दिनुसक्नु पर्ने सुझाव दिए । लगानीका लागि गरिएको प्रतिवद्धता अनुरुप लगानी आउन नसक्नुका पछाडि मिहिन ढंगले अध्ययन गरी प्रतिवद्धता अनुरुपको अधिकतम लगानी भित्रयाउन सरकार लागिरहेको पनि उनले बताए । 

लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत भट्टले बोर्ड र महासंघ बीचको समझदारी ऐतिहासिक भएको बताए । लामो गृहकार्य पश्चात सम्पन्न समझदारीपत्र हस्ताक्षर कार्यक्रम एउटा ऐतिहासिक शुरुवात भएको भन्दै सहमतिलाई सफल पार्न बोर्डले कुनै कसर बाँकी नराख्ने भन्दै महासंघबाट पनि आफूले पूर्ण सहयोग पाउने विश्वास प्रकट गरे । 

दुवै संस्थाको एउटै उद्देश्य मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनका माध्यमबाट आम नेपालीहरुको मुहार खुशी बनाउनुु नै रहेकाले यसलाई अधिकतम रुपमा सफल पार्नेमा विश्वास दिलाए । 

महासंघका अध्यक्ष शेखर गोल्छाले मुलुकभित्र आन्तरिक एवं वाह्य लगानी प्रवद्र्धनमा समझदारी कोशेढुंगा हुने विश्वास व्यक्त गरे । अध्यक्ष गोल्छाले समझदारीले लगानी वोर्डसंग लगानी प्रवद्र्धनमा सहकार्य गर्ने ढोका खुलेको बताए । 

महासंघको सचिवालयमा बोर्डको समेत संलग्नता र सहयोगमा खुल्ने सहायता कक्षले ठोस परिणाम दिने पनि उनले विश्वास प्रकट गरे । ‘महासंघले अगाडि सारेको राष्ट्रिय आर्थिक रुपान्तरण मार्गचित्र (एनईटी २०३०) लाई सफल पार्न पनि आजको प्रतिवद्धताले सहयोग पुर्याउने छ’, उनले भने । अध्यक्ष गोल्छाले यो सहकार्यका लागि नेपाल सरकार, लगानी वोर्डलाई धन्यवादसमेत दिए । 

हस्ताक्षर कार्यक्रममा लगानी बोर्डकी सदस्य एवं महासंघकी निवर्तमान अध्यक्ष भवानी राणा र बोर्डका सहसचिव भगवान अर्यालले वोर्ड र महासंघ बीचको समझदारीबाट मुुलुकभित्र लगानी प्रवद्र्धनका लागि एउटा नयां अध्यायको शुरुआत भएको भन्दै सफलताको शुुभकामना व्यक्त गरे । 

कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र संघाई, महासंघको अन्तर्राष्ट्रिय लगानी प्रवद्र्धन समितिका सभापति आनन्द वगाडिया, कार्यकारिणी समितिका सदस्यहरु, महासंघ र लगानी बोर्डका वरिष्ठ अधिकारीहरुको उपस्थिति 
थियो ।   



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ