arrow

प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैमा सुखद् सङ्केत : पराष्ट्रविद् डा. बराल

‘भारतले ईपीजीको प्रतिवेदन नबुझ्नु भनेको यो स्वतः खारेज भएको बुझ्न सकिन्छ’ 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत १५ मंगलबार
deuba-modi.PNG

काठमाडौं। पराष्ट्रविद् एवम् पूर्व राजदूत प्रा.डा. लोकराज बरालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण सफल हुने विश्वास दिलाएका छन् । उनले अहिलेको परिवेशमा प्रधानमन्त्री देउवाको भारत भ्रमण हुन लाग्नु आफैमा सुखद् सङ्केत भएको र अडिएर रहेको दुई देशबीचको सम्बन्धमा गतिशीलता देखिने विश्वास दिलाए । 

प्रधानमन्त्री देउवाको भारत भ्रमणको पूर्व सन्ध्यामा आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै बरालले भारतसँगको नेपालको सम्बन्धमा गतिशीलता थपिने विश्वास दिलाए । उनले भने,‘अब दुई देशका प्रधानमन्त्रीबीच के के कुराकानी हुने भन्ने कुरा त बाहिर नै आइसकेको छ, पूर्वाधार निर्माणको कुरा, विकास परियोजना, कृषि, व्यापारको कुरा छ, जलस्रोतको प्रयोगबारे आदि छलफल हुन्छ। । नेपाल र भारतबीचको सम्बन्ध त ईनफर्मल छ। त्यही भएर दुई प्रधानमन्त्रीबीच अनौपचारिक कुराकानी पनि हुनसक्छ। उहाँको भारत भ्रमण सफल होस भन्ने कामना छ। दुई देशबीच सहयोगात्मक सम्बन्ध हुनुपर्छ ।’

उनले राष्ट्रवादको कुरा उठाएर सम्बन्ध बिगार्ने काम गर्न नहुने धारणा राखेका छन् । उनले भने,‘प्रधानमन्त्री देउवाले अठोटका साथ एमसीसी पास गर्नुभयो । यो राम्रो काम गर्नुभयो । चिनियाँ विदेश मन्त्री भर्खरै नेपाल आउनुभयो, यो पनि राम्रो काम हो । उहाँ आफै भारतीय प्रधानमन्त्रीको निम्तोमा भारत जाँदै हुनुहुन्छ । यो सरकारको विदेश सम्बन्ध राम्रो छ। अझै काम हेर्न बाँकी छ ।’

डा. बरालले नेपाल-भारत सम्बन्ध भन्ने बित्तिकै यसका बहु आयामिक सम्बन्ध रहेको उल्लेख गरे । उनले भने,‘यसका संरचनागत सम्बन्ध कस्तो छ ? गतिशील सम्बन्ध कस्तो छ ? सम्भावनाहरू के हुन सक्छन् ? अनि घट्नाहरुले कसरी प्रभावित पार्न सक्छन् भनेर चाहिँ विभिन्न कोणबाट हेर्नुपर्ने हुन्छ । जहाँसम्म प्रधानमन्त्रीको भारत भ्रमणको कुरा छ, यसले कुनै संरचनागत सम्बन्धलाई असर गर्दैन, सम्बन्धमा हामीले जुन मान्यता तय गरेका छौं, १९५० को सन्धि पनि छ, यो पनि एउटा सम्बन्धको संरचना हो, त्यसमा परिवर्तन हुने त्यस्तो केही पनि छैन, नेपाल-भारत सम्बन्ध सन्धि नै नभए पनि उस्तै रहन्छ, खाली भारतले हामीले पाउँदै आएको सुविधा सन्धिबिना दियो भने मात्रै है ।’

भूगोलले पनि नेपालको परराष्ट्र नीतिलाई निर्धारण गरेको उनको भनाई छ । उनले भने,‘भूगोल भनेको बोल्दैन । तर भूगोल चाहिँ के हो भने त्यो छ त्यहाँ, ठुलो ठुलो घटनाक्रम भइरहन्छन्, तर भूगोल त जहाँको त्यहीँ छ नि । त्यसलाई परिवर्तन गर्न सकिँदैन् । मान्छेले भू-राजनीति, भू-राजनीति भन्छन्, सबै मुलुकको आफ्नो भू-राजनीति हुन्छ । हाम्रो परिवेशमा भू-राजनीति भनेको दुई वटा मुलुकको बीचमा बसेको मुलुक हो नेपाल, भूगोलले नै हाम्रा धेरै कुरा निर्धारण गर्दछ ।’

उनले भारतसँगको सन्धि नै असमान छ र यसलाई परिवर्तन गर्नुपर्छ भन्नेहरू पनि प्रधानमन्त्री भएर आएको तर उनीहरूले परिवर्तन गर्न नसकेको सुनाए । उनले भने,‘नेपाल र भारतबीच जुन सम्बन्ध छ, यो अचम्मै खालको छ । संसारमा अरू मुलुकबिच यस्तो सम्बन्ध बहुत कम होला । हामीले जतिसुकै नाका उत्तरतिर खोले पनि, भारतसँगको सम्बन्ध आफ्नै खालको हुन्छ । चीनसँगको सम्बन्ध पनि हाम्रो आफ्नै खालको हुन्छ । हरेक सम्बन्धलाई तुलना गर्न मिल्दैन ।’ 

उनले पछिल्लो समय भारतसँगको नेपालको सम्बन्ध अलिकति चिसिएको जस्तो देखिएको सुनाए । उनले भने,‘अब त्यसलाई गतिशील बनाउने मात्रै कुरा हो । अहिले प्रधानमन्त्री देउवाको भारत भ्रमण, यो सद्भावना यात्राजस्तै हो । भएका परियोजनाहरू जुन छन्, अगाडि नै सुरु गरेका कतिपय काम छन्, यसलाई कसरी समयमै बनाउने कुरा हो । अरू तात्त्विक नयाँ कुरा आउँछन् जस्तो लाग्दैन । मान्छेले लिम्पियाधुरा, लिपुलेक, कालापानीको कुरा उठाउँछन्, यो सबै हुन्छन् भन्ने होइन । यो धेरै लामो प्रक्रियाको हो । भारतका पनि आफ्नै बाध्यताहरू होलान् । सीमा विवादको कुरा, वार्ता सुरु गर्नु राम्रो हो । अहिलेसम्म एउटा पनि मिटिङ भएको छैन । वार्ता सुरु हुनसक्छ । तर, त्यसले तात्त्विक परिवर्तन गर्छ जस्तो लाग्दैन । देउवाजीको भ्रमणले मूलभूत परिवर्तन होइन, यो एउटा सद्भावना यात्रा हो । अडिएको सम्बन्धलाई गति दिन सक्छ जस्तो लाग्छ ।’ 

उनले तत्काल भारतसँगको सीमा विवाद समाधान नहुने बताए । उनले भने,‘तत्काल भारतसँगको सीमा विवाद समाधान हुँदैन । त्योबारेमा वार्ता नै सुरु भएको छैन । नक्साको कुरामा उसको आफ्नै धारणा छ, हाम्रो धारणासँग कुरा मिल्दैन । सेक्युरिटीसँग रिलेटेड कुरा छ । बाटो नै बनाइसकेको छ । भारतसँगको हाम्रो ९७ प्रतिशत सिमानाको कुरा टुङ्गो लागेको छ । सिमानाको कुरा चाहिँ सजिलै हल हुन्छ भन्न सकिँदैन् । जटिलता अहिले बढ्दै छ । हामीले आफ्नो रणनीति राम्रो बनाउनुपर्छ ।’ 

बरालले नेपालमा पहिले राजनीतिकरण गर्ने अनि पछि नेगोसिएशन गर्ने बानी रहेको र त्यो उल्टो बानी रहेको बताए । उनले भने,‘पहिले नेगोसिएशन गर्नुपर्छ। वार्ताको टेबुलमा पुर्‍याउने वातावरण बनाउनुपर्छ ।’ उनले प्रधानमन्त्रीको भारत भ्रमणको सिलसिलामा व्यापार घाटा कसरी कम गर्ने? जलस्रोतको कुरा कसरी गर्नेलगायत अन्य विषयमा पनि कुरा हुनसक्ने सुनाए । 

बरालले अब नेपाल-भारत प्रबुद्ध व्यक्ति समूहले तयार पारेको प्रतिवेदन स्वतः खारेज भएकोसरह रहेको टिप्पणी गरे । उनले भने,‘पहिले सार्कको समयमा पनि ईपीजी बनेको थियो । नेपाल-भारत सम्बन्धमा पनि ईपीजी बनेको हो । भारतले ईपीजीको प्रतिवेदन नबुझ्नु थियो भने यो समूह नै बनाउनुहुँदैन थियो भन्ने लाग्छ, अथवा प्रतिवेदन बुझेर राखेको भए पनि हुन्थ्यो । अब भारतले प्रतिवेदन नबुझेपछि कूटनीतिक भाषामा भन्ने हो भने यो ईपीजीको प्रतिवेदन स्वतः खारेज भएको बुझिन्छ। ईपीजीको प्रतिवेदनको कन्टेन्ट उसलाई चित्त बुझेन होला । यो त अनुमानको कुरा नै हो ।’

अहिलेको परिवेशमा अरू मुलुकको पनि सक्रियता बढेकोले नेपालले पनि आफ्नो रणनीति बनाउनुपर्नेमा उनको जोड थियो । उनले नेपाल-भारत सम्बन्धको कुरा गर्दा भारतले नेपाललाई दिने सहयोग बढाउनेजस्तो लागेको अनुमान सुनाए । तर, पैसा मात्रै बढाएर नहुने भन्दै अहिले भएका परियोजना समयमै सम्पन्न हुनुपर्नेमा उनले जोड दिए । 

जयनगर-जनकपुर रेल दुई तीन वर्ष पहिलेदेखि नै चलिसक्नुपर्दथ्यो भन्ने उनको भनाई छ । उनले भने,‘३५ किलोमिटरको रेल चलाउनको लागि यस्तो समस्या छ, कानुनमा बाधा छ भने त्यो हटाउनुपर्छ । हाम्रो सक्रियता हुनुपर्छ । २० प्रतिशत पनि सरकारले अहिलेको क्यापिटल खर्च गर्न सकेको छैन । सारा पैसा जाम भएर बसेको छ। बाटा, घाटा सबै ध्वस्त छन् । रेल ल्याएको त ठिक हो, कति चलाउन सक्छ ? अझै थप्ने कुरा, त्यो पनि हेर्नुपर्छ ।’

फरक प्रसङ्गमा बरालले चुनावमा अहिलेको गठबन्धन कायम राख्ने वा नराख्ने भन्ने कुरा कांग्रेसले आफ्नो अवस्था हेर्नुपर्ने र निर्णय लिनुपर्ने टिप्पणी गरे । उनले भने,‘नेपाली कांग्रेसको अवस्था हेर्नुपर्छ । भोलि उनीहरू फेरि गठबन्धन गरेर जान्छन् । त्यसपछि कांग्रेसको के हालत हुन्छ ? भोलि गएर उनीहरू मिल्न पनि सक्छन् ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ