arrow

धनुषामा ३२ दल दर्ता, यी हुन् निर्वाचन अधिकृत

logo
निरञ्जनकुमार साह,
प्रकाशित २०७८ चैत १५ मंगलबार
local-level-election-everytime.jpg

जनकपुरधाम । आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि धनुषामा राष्ट्रिय मान्यता प्राप्त दलसहित ३२ वटा दलहरू दर्ता भएको छ। निर्वाचन कार्यालय धनुषाका प्रमुख श्रीधर पन्थीले राष्ट्रिय मान्यताप्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीसहितका ३२ दलहरू दर्ता भएको जानकारी दिए।

यस पटक धनुषामा मतदानस्थल घटेको छ भने मतदान केन्द्र बढेका हुन् । यसअघि २०७४ सालमा भएको स्थानीय निर्वाचनमा धनुषामा ३ सय २७ मतदान स्थल र ५ सय ४८ मतदान केन्द्र थिए । यस पटक मतदान स्थल घटेर ३ सय २३ पुगेको छ भने मतदान केन्द्र बढेर ५ सय ९६ पुगेको हो ।

 जिल्लामा प्रमुख निर्वाचन अधिकृतको कार्यालयसँगै पालिकाहरूमा निर्वाचन अधिकृतको कार्यालयसमेत स्थापना भइसकेको छ । निर्वाचनका लागि स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ७ बमोजिम धनुषा जिल्लाका लागि जिल्ला अदालत धनुषाका जिल्ला न्यायाधीश व्रजेश प्याकुरेललाई २०७८ चैत २९ गतेदेखि लागू हुने गरी मुख्य निर्वाचन अधिकृत तोकिएका छन् ।

त्यस्तै, निर्वाचन आयोगले औरही गाउँपालिकामा भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राजेश शशि, कमला नगरपालिकामा जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्यायाधिवक्ता धर्म अवतार कोइराला, क्षीरेश्वरनाथ नगरपालिकामा धनुषा जिल्ला अदालतका स्रेस्तादार विकास बस्नेत, गणेशमान चारनाथ नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत रुपेश कुमार साह, जनकनन्दनी गाउँपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव ठूलोबाबु दाहाललाई निर्वाचन अधिकृत तोकिएका छन् ।

धनुषाधाम नगरपालिकामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अधिकृत चिरञ्जीवी गौतम, धनौजी गाउँपालिकामा उच्च सरकारी वकिल कार्यालय जनकपुरका उपन्यायाधिवक्ता पोषराज खनाल, नगराइन नगरपालिकामा मुख्य न्यायाधिवक्ताको कार्यालयका उपन्यायाधिवक्ता सुदीप कुमार दंगाल, बटेश्वर गाउँपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार उद्धव ढोडारी, मिथिला नगरपालिकामा न्याय परिषद्का उपसचिव दीपक धिताल, मुखियापट्टी मुसहरनिया गाउँपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत शिवहरी पौड्याललाई निर्वाचन अधिकृत बनाइएको छ ।

लक्ष्मीनिया गाउँपालिकामा शिक्षा विकास निर्देशनालयका उपसचिव चूडामणि फुयाँल, मिथिला विहारी नगरपालिकामा उच्च अदालत जनकपुरका उपरजिष्ट्रार राजु पराजुली, विदेह नगरपालिकामा गृह मन्त्रालयका उपसचिव अनुज भण्डारी, शहीद नगर नगरपालिकामा परराष्ट्र मन्त्रालयका विशाल भट्टराई, सबैला नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत वासुदेव पाण्डे र हंसपुर नगरपालिकामा सर्वोच्च अदालतका इजलास अधिकृत कर्णबहादुर राईलाई निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन अभिमुखीकरण कार्यक्रम १ गते वैशाखमा सप्तरी, सिराहा, महोत्तरी, सर्लाही, धनुषा र रौतहटका लागि जनकपुरधाममा र बारा र पर्साका लागि २ वैशाखमा हेटौँडामा गर्ने जानकारी दिए।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा धनुषामा मात्रै ४ लाख ६७ हजार ३ सय २८ जना मतदाता रहेको र जसमध्ये महिला २१ लाख ८ हजार ५ सय ४२, पुरुष २४ लाख ८ हजार ८ सय ४० र अन्य समूहका ६ जना रहेका हुन् ।



नयाँ